दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन « Khabarhub

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन



काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन् । सन्तानको हेरचाह, परिवारिक जिम्मेवारी र पढाइबीच सन्तुलन मिलाउन अध्ययनशील महिलालाई परिवार भित्र र बाहिर निरन्तर संघर्ष गर्नु नै पर्छ ।

जसकारण कति आमाले यो यात्रालाई बीचमै पूर्णबिराम दिने गरेका छन् । तर कति भने परिवारलाई सहमतिमा ल्याउँदै त्यही चुनौतीलाई अवसरमा बदल्न संघर्षरत देखिन्छन् ।

तिनै आमामध्ये एक हुन्, त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा भेटिएकी चन्द्रकला राई । राई खोटाङबाट ३ वर्षे छोरी च्यापेर समारोहमा आएकी थिइन् ।

सरकारी विद्यालयबाटै स्नातकोत्तरसम्म अध्ययन सकेकी उनले परिवार र श्रीमानको अर्थपूर्ण साथ पाएकै कारण अध्ययनलाई निरन्तरता दिन सकेको बताइन् ।

‘नानी गर्भमा आए पनि पढ्ने दृढ इच्छाशक्ति कम भएन । छोरी हुर्काउँदै श्रीमान श्रीमती एकअर्काको सारथि बनेर स्नातकोत्तर पास गर्यौं‍’, उनले गर्वका साथ भनिन् ।

आर्थिक सशक्तिकरणसँगै आत्मसम्मानका लागि हरेक महिलाले पढाईलाई निरन्तरता दिनुपर्ने उनले सुझाइन् ।

‘कोही महिला घरभित्रै सीमित नहुनुस् । शैक्षिक, अर्थिक, सामाजिक सबै क्षेत्रमा आफ्नो क्षमता बढाउनेमा लाग्नुपर्छ । बच्चा जन्माइसकेपछि अनेक जिम्मेवारी हुन्छ’, उनले थपिन्, ‘यो अवस्थामा परिवारको साथ सहयोग भए सफलता हात पर्छ । त्यसैले मेरो परिवारले जस्तै बुहारीलाई पनि छोरीको दर्जामा राखेर सक्षम बनाउन प्रेरित गर्न सबैलाई अनुरोध गर्छु ।’

यस्तै उनले शिक्षा नीति व्यावहारिक नभएकै कारण युवा विदेश पलायन हुनुपरेको गुनासो पोखिन् । ‘हाम्रो शिक्षा नीति सैद्धान्तिक छ, व्यवहारिक हुन सकेको छैन । सरकारले यसो गर्न सके विदेश पलायन भएका युवाको पसिनाले आफ्नै देशको रङ्ग बदल्ने थियो ।’

रोजगारी र स्नातक तहसम्मको अध्ययन सकिसकेपछि मात्रै विवाह रोजेकी राई एक दशकदेखि सरकारी सेवामा कार्यरत छिन् ।

उता दाङको तुलसीपुर महानगरपालिकाकी मायाधनी चौधरीको कथा पनि राईसँग मिल्दोजुल्दो छ ।

एक दशकदेखि नेपाल प्रहरीका रुपमा देश र जनताको सेवा गरिरहेकी उनलाई पनि पारिवारिक पृष्ठभूमिले पढाइबाट टाढा हुन दिएन ।

स्नात्तकोत्तर सकेर दीक्षान्त हुन आएकी उनको साथमा साढे २ वर्षको छोरा र श्रीमान पनि आएका छन् ।

‘बच्चा हुर्काउँदै गर्दा अफ्ठ्यारो त छ नि । हामी श्रीमान श्रीमाती दुवै प्रहरी सेवामा छौं । मेरो दाजु पनि पढ्दै हुनुहुन्छ । त्यसैले मलाई प्रेरणा मिलेको हो, ’ हर्षका साथ उनले सुनाइन् ।

बच्चा गर्भमै हुँदा परीक्षा दिए पनि श्रीमती सफल भएको देखेर निकै खुसी लागेको मायाधनीको श्रीमान सन्त चौधरी सुनाउँछन् ।

‘कार्यक्रममा महिलाको संख्या बढी देखिएको छ । पहिलेको तुलनामा महिला अगाडि आएका छन् । बच्चा पेटमै हुँदा परीक्षा दिएको थिएँ, सफल भएको छ, खुसी छु । महिलालाई हाम्रो सकारात्मक साथको निकै आवश्यकता हुँदो रहेछ’, उनी सुझाउँछन् ।

सुमन चौधरी सप्तरीमै बसेर समाजशास्त्रमा स्नातकोत्तर सकिन् ।अढाइ वर्षको उनको बच्चा सासु ससुराले सम्हालिदिँदा सहज भएको उनले सुनाइन् ।

‘हामीले सोचेको जस्तो सहज कुनै काममा हुँदैन । हामी आफैले वातावरण बनाउनुपर्छ त्यसमा परिवारको साथ त अपरिहार्य नै छ’, उनले भनिन् ।


नेपाल सरकारले एक गाउँ एक प्राविधिक कार्यक्रम ल्याएपछि त्यसमा काम गर्दै आएको उनले सुनाइन् ।

‘म कार्यालय जान्छु, सासुससुराले बच्चा हेरिदिनुभएको छ । मधेशमा महिलालाई घरभित्रै राखिन्छ भनिए पनि हामीले त्यो भोग्नु परेन । महिला भए पनि जाँगरसँग निरन्तरता दिन हिम्मत राख्नुपर्छ’, उनले सुनाइन् ।

आफ्नो समुदायका महिलाका लागि आफू उदाहरण बन्न खोजेको उनले बताइन् । यी दुई दीक्षित आमाको सफलताले बच्चा हुर्काइरहेका अन्यलाई पनि अध्ययन र आत्मविकासतर्फ अघि बढ्न प्रेरणा दिएको छ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ६ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै