संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित « Khabarhub

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी बढ्दै जाँदा पाइने साथले जस्तासुकै अफ्ठ्याराहरू छिचोल्दै सफलतासम्म डोहोर्‍याउँछ ।

यसैगरी एकअर्काको भर बनेका छन्, खोटाङका अनिल सुब्बा र चन्द्रकला राई । जीवनका अनेक आरोह अवरोहमा आएका चुनौतीमा उनीहरूले प्रतिस्पर्धा होइन, सहकार्य रोजे । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहसम्म आइपुग्दा उनीहरूको दाम्पत्य जीवन निकै लोभलाग्दै छ । यस समारोहमा दुवैजना एकसाथ दीक्षित भएका छन् ।

श्रीमान्–श्रीमतीलाई एक रथको दुई पाङ्ग्रा भनिने कथनलाई व्यवहारिक बनाउन दुवैले उत्तिकै भूमिका खेले । एकअर्कालाई बुझेर दिएको साथले नै यो सफलता मिलेको हो । बिहीबार दशरथ रंगशालाको एकै मञ्चमा दुवै खुशी साट्न पाए।

सन् २००८ मा नै स्नातक तहसम्मको अध्ययन सकिसकेका उनलाई विवाहपछि श्रीमतीकै प्रेरणाले स्नातकोत्तरसम्म पढ्न हौसला दियो । ‘२००८ मा स्नातक सकेपछि जागिरमै ध्यान गयो । पढाइलाई निरन्तरता दिएको थिइनँ । विवाहपछि उनले सँगै पढौँ भनिन्, दुवैजना पढेर सफलता पायौँ’, उनले सुनाए।

विवाह भएको एक वर्षमै दुईबाट तीन भएका उनीहरूलाई घरपरिवारको पनि उत्तिकै साथ छ । स्नातकोत्तर पढाई थाल्दा गर्भमा आएकी छोरी यतिबेला तीन वर्षकी भइन् । छोरी च्यापेर समारोहमा उभिएकी श्रीमती चन्द्रकला भन्छिन्, ‘नानी गर्भमा आए पनि पढ्ने इच्छाशक्ति कम भएन । छोरी हुर्काउँदै हामी दुवै श्रीमान्-श्रीमती एकअर्काको सारथी बनेर स्नातकोत्तर पास गर्‍यौँ’।

सन्तान जन्माइसकेपछि महिलाको जिम्मेवारी बढ्छ । यो अवस्थामा पनि परिवारको साथ सहयोग भए मात्रै सफलता हात पर्ने उनको अनुभव छ ।

‘मेरो परिवारजस्तै अरुले पनि बुहारीलाई छोरीको दर्जामा राखेर सक्षम बनाउन सहयोग गर्नुपर्छ भन्ने लाग्छ,’ उनले सुझाइन् ।

चन्द्रकला र अनिलका अनुसार श्रीमान्-श्रीमती दुवैले बराबरी भूमिका निर्वाह गरेमा परिवारसँगै समाज नै सशक्त बन्छ । शिक्षा, रोजगारी र सामाजिक सक्रियतामा एकअर्काको साथ अनिवार्य रहेको उनीहरूको भनाइ छ ।

उनीहरु दुवैले सरकारी विद्यालयबाटै स्नातक तहसम्मको अध्ययन सकेका हुन् । ‘दुवैले खोटाङकै सरकारी विद्यालयमा पढेका हौँ । अहिले निजी विद्यालयमा पढे बढी जानिन्छ भन्ने भाष्य छ, तर त्यो सत्य होइन । निरन्तर मिहिनेत र लगाव भए जहाँ पढे पनि सफलता पाइँदो रहेछ’, अनिलले भने ।

रोजगारी र स्नातकतह सकेपछि मात्रै विवाह रोजेका उनीहरू एक दशकदेखि सरकारी सेवामा कार्यरत छन् । सरकारी सेवामा प्रवेश गरिसकेकाले देशमै मिहिनेत गरेर पसिना बगाउने श्रीमती चन्द्रकला बताउँछिन् ।

‘हामी दुवैले आफूलाई सार्वजनिक सेवामा समर्पित गरिरसकेका छौँ । विदेश जाने योजना छैन’, उनले थपिन्, ‘हाम्रो शिक्षा नीति सैद्धान्तिक छ, व्यहारिक हुन सकेको छैन । सरकारले यसमा सुधार गर्न सके विदेश पलायन युवाको पसिनाले देशको रङ्ग बदल्ने थियो । यसतर्फ सरकारको ध्यान अझै पुगेको छैन ।’

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : २७ बजे

गगन थापा हराएको सूचना !

स्वर्गको गेटमा ठूलो भीड थियो । धर्मराज हातमा रजिस्टर लिएर

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री

स्व. सुरेश मानन्धरलाई राष्ट्रिय झण्डासहित श्रद्धाञ्जली अर्पण गरियो

काठमाडौं– हृदयघातका कारण निधन भएका भाषा आयोगका सदस्य, साहित्यकार एवं

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर– यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्