आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ « Khabarhub

जेन-जी आन्दोलनका सहिद :

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला ? जेन-जी आन्दोलनका सहिद शुभराम बलामीले आमा भगवती बलामीलाई आन्दोलनमा जानेबारे केही भनेनन् । घुँडाको बिरामी आमा भगवती अहिले पनि एक्लो छोरा शुभरामलाई सम्झिएर पीर गर्छिन् ।  

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्थे। केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा थिए । त्यसका लागि ‘मेनपावर’ कम्पनीलाई राहदानीसमेत बुझाइसकेका थिए  । त्यसको प्रक्रियाका लागि गाउँबाटै काठमाडौँ आवतजावत गर्थे । 

‘मेडिकल’ गर्ने, कागजपत्र मिलाउनेलगायत काममा लागि लागिरहेका एक युवा शुभरामको भौतिक चोला गत भदौ २३ गतेको जेन-जी आन्दोलनमा क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर दुःखद अन्त्य भएको थियो । निधनको खबर ‘टिकटक’ मा देखेपछि साथीभाइ र छिमेकीले आमा भगवतीलाई देखाए ।

आमा भगवती बलामी ‘मेरै छोरो हो’ भन्दै रुन थालिन् । सहिद शुभरामकी बहिनी सुनिता बलामीलाई पनि तुरुन्तै माइतीघर बोलाइयो । शुभरामको खप्परमा गोली लागेर वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सोही दिन राति पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको थियो । 

बिहान आफैँले खाना पकाएर खुवाएको छोरा शुभराम बेलुका फर्कनेमा आमा भगवती बलामी ढुक्क नहुने कुरै भएन । बेलुका पनि खाना पकाएर कुरेर बसेको तर त्यहीबेला मृत्युको भिडियो हेर्नुपरेको आमा भगवतीले बताइन् । 

छोराका सम्झना गराउँदा झन् पीडा हुने त हुन्छ नै तर पनि ४५ वर्षीय आमा भगवती बलामीले गर्दै भनिन्, ‘साथीहरुसँग लागेर आन्दोलनमा गएको रहेछ । मलाई केही भनेको थिएन । ‘म्यानपावर’ जान्छु भनेको थियो । अरु साथीहरु लुकेर बाँचेछन् । ऊ कता कसरी गोली खान पुग्यो थाहै भएन ।’

उनले आफूलाई छोरा शुभरामको बेस्सरी सम्झना आइरहने बताउँदै भनिन्, ‘सम्झना त कति आउँछ । आउँछ । बेलुकाबेलुका भएपछि छोरा घर आउँला कि जस्तो लाग्छ…। बुबाले लगाएको ऋण जसरी पनि तिर्न विदेश गएर कमाउने उसको धोको थियो । त्यो अधुरै रह्यो ।’ 

विदेश गएर केही कमाएर फर्किएपछि छोराको विवाह गरेर बुहारी भित्र्याउने आमाको चाहनामा पनि गहिरो चोट पर्न गएको छ । नेपाल सरकारले जेनजी आन्दोलनका सहिदलाई दिने निर्णय गरेको क्षतिपूर्तिबापत रु १० लाख अन्य खर्च रु पाँच लाख गरी रु १५ लाख शुभरामको परिवारले पनि पाएको छ । त्यो राहतले ऋण तिर्न र घर खर्च चलाउन मद्दत नै भएको शुभरामको परिवारको भनाइ छ ।

शुभरामका पिता रामकृष्ण बलामी वित्तीय संस्थामा धरौटी राखिएको घर जग्गाको ऋण तिर्न नसकेर पारिवारिक बेमेलका कारण विदेशमा गएर बसेको पनि ११ वर्ष भइसकेको थियो । पिता रामकृष्णले घरपरिवारसँग नियमित सम्पर्क नगर्दा उनीहरुको परिवारलाई एक प्रकारको समस्या भइरहेको थियो । अविवाहित शुभराम ऋण तिर्ने र राम्रो आम्दानी गर्ने सोचका लागि मलेसिया जाने तयारीमा थिए । शुभरामका पिताका तीन भाइको गाउँमा सगोलमा नौ/दश रोपनी जग्गा छ । त्यहीमध्येको केही जमिनमा भगवतीले खेती गर्ने गर्थिन्। मल हाल्न र पानी लगाउन सके धान, गहुँको उत्पादन ठिकै हुन्छ । 

कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएकी भगवती बलामी अहिले कान्छी छोरीलाई साथमा लिएर घरखेत गरेर बसेकी छन् । श्रीमान् रामकृष्ण बलामी ‘विनासकारी भूकम्पपछि ऋण लगाएर कहाँ जाने, के गर्ने केही सल्लाह नगरी फुत्त घरबाट निस्किएको र छोरा बित्नुअघिसम्म सम्पर्कमा नआएको’ भगवती बलामीको गुनासो रहेको छ । 

छिमेकी जिल्ला काठमाडौँको धारापानी माइत भएकी भगवतीको १६/१७ वर्षकै उमेरमा रामकृष्ण बलामीसँग विवाह भएको थियो । शुभरामकी बहिनी सुनिता बलामी दुःख मान्दै भन्छिन्, ‘मेरो एउटा मात्र दाइ हुनुहुन्थ्यो । बेलाबेलामा फोन गरिरहनुहुन्थ्यो । मलाई माया गर्नुहुन्थ्यो । त्यही पनि यस्तो दुःखद घटनामा परेर बित्नुभयो… ।’

शुभरामको निधनपछि घरमा आमा भगवती र एक बहिनी मात्रै भएकाले अब खेतीपाती गर्न पनि कठिन भएको र बेला बेलामा हेरचाहका लागि आफू माइती जाने गरेको शुभरामकी बहिनी सुनिता बलामीले बताइन् । 

बहिनी सुनितासँग अन्तिम पटक दाई शुभरामको घटना हुनुभन्दा तीन दिनअघि भेट भएको थियो । विदेश जाने तयारीका कुराकानी भएका थिए । अब केबल सम्झनामा मात्रै दाई शुभराम रहेको सुनिताको भनाइ छ । शुभरामको मृत्युपछि भने पिता रामकृष्ण अहिले परिवारको सम्पर्कमा आएका छैनन् । कक्षा ९ सम्म पढेका शुभराम लामो समय ज्याला मजदुरीमा रहेका थिए । त्यसले मात्रै आफ्नो र परिवारका लागि खर्च धान्न धौधौ हुन्थ्यो । भएको खेतीपातीमा सामान्य उत्पादन भए पनि त्यसबाट खासै आर्थिक उपार्जन हुँदैनथ्यो । 

नातामा शुभरामका मामा राजेश बलामी शुभरामलाई राजनीतिमा खासै चासो नहुने र कुनै दलमा पनि सक्रियतापूर्वक आबद्ध नभएको व्यक्ति कसरी आन्दोलनमा पुगे भन्ने आफूहरूलाई पनि थाहा हुन नसकेको बताउछन् । 

‘ऊ त्यस्तो राजनीतिमा चासो राख्ने मान्छे होइन । साधारण मजदुरी गरेर खाने मान्छे हो’, कागती गाउँका स्थानीय राजनीतिक कार्यकर्ता राजेश बलामीले भने, ‘छोरो काम गर्नसक्ने भएपछि आफूलाई सुःख हुन्छ भन्ने दिदी भगवतीको चाहनामा गम्भीर ठेस लागेको छ । साह्रै दुःखद घटना भयो ।’ परिवारका अरु सदस्यका लागि राज्यका तर्फबाट कुनै रोजगारी वा अरु सहयोग भए आफूहरूलाई सहज हुने भनाइ पनि राजेश बलामीको रहेको छ । 

विगतमा बालविवाहको गाउँका रुपमा चिनिने कागती गाउँमा अहिले पनि बालविवाहका क्रममा सुधार आएको छ । साविकको ओखरपौवा गाविसमा पर्ने कागती गाउँ राजधानी काठमाडौँबाट १५ किलोमिटर पश्चिममा पर्छ । यहाँ बलामी जातिको मुख्य बसोबास रहेको छ । यहाँका बलामी समुदायमा वर्षमा एक दिन मात्र श्रीपञ्चमीका दिन बालविवाह गर्ने पुरानो परम्पराका कारण बालविवाहले यो गाउँ चर्चित भए पनि हाल त्यो प्रथा हटिसकेको छ । 

काठमाडौँको फोहर विसर्जन स्थल ओखरपौवा डम्पिङसाइटको बाटो निर्माणपश्चात् कागती गाउँको मुहार पनि फेरिएको छ । अहिले सडक वरपर घर बनाउने, व्यापार गर्ने मानिसको सङ्ख्या बढ्दो छ, जसका कारण स्थानीयवासीको जीवनस्तरमा क्रमशः परिवर्तन आएको छ । यसले भविष्यमा गाउँको बसाइँ सहर जस्तै सुविधा सम्पन्न हुने स्थिति हुँदै थियो, शुभराम बलामीहरू कामकै लागि विदेश जानुपर्ने अवस्था हुँदैनथ्यो । 

तर जेन-जी आन्दोलनमा शुभराम सहिद हुन पुगेपछि स्थानीहरू गाउँ, सहर वा विदेश कहाँ के गर्दा राम्रो भन्नेबारेमा ढुक्कले भन्न सक्ने अवस्थामा छैनन् । आन्दोलन र घटनाबाट पाठ सिकेर मुलुक हाँक्ने नेतृत्व र सरोकार भएका पक्षले जनताको जीवनस्तर सुधार र मुलुकका सुशासन तथा शान्ति कायमका लागि मिलेर काम गरिदिएमा सायद सहिदको सपना पनि पूरा हुने स्थानीयवासीको बुझाइ रहेको छ । रासस
 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ४ : २४ बजे

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ