केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनको प्रस्ताव सदर गर्दा विद्यादेवी भण्डारी एमालेका लागि रक्षाकवच बनेकी थिइन्। यही कारण भण्डारीलाई मन्त्री हुँदा नलागेको दाग राष्ट्रपति हुँदा लाग्यो भन्नेहरु धेरै छन्। संवैधानिक भूमिकाभन्दा पार्टीगत झुकाव हाबी भएको आरोप लाग्यो। तर पनि त्यो बेला केपी ओली पक्षका नेता कार्यकर्ताका लागि उनी ‘संकटमोचक’ थिइन्। जय जयकार भयो, बचाउ गरियो।
आज परिस्थिति फेरिएको छ। एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा विद्या भण्डारी सम्भावित शक्ति केन्द्रका रूपमा देखिन थालिन्। यही क्षणदेखि हिजो जयजयकार गर्नेहरू नै गालीमा उत्रिए। सञ्चार माध्यम र सामाजिक सञ्जालमा तेजोवधको संगठित प्रयास भयो। यसको उत्तर स्पष्ट छ, विचारको होइन, स्वार्थको राजनीति। यो घटनाले पार्टीको आन्तरिक जीवनमा एउटा नाङ्गो सत्य देखाएको छ। यहाँ विचार बहस हुँदैन, शक्ति बहस हुन्छ। कार्यकर्ताको ठूलो हिस्साले पार्टीको दीर्घकालीन लाइन होइन, लोकतान्त्रिक अभ्यास होइन, संस्थागत मर्यादा होइन, अहिले कसको हात बलियो छ ? त्यही अनुसार बोली, लेखाइ र गाली तय गर्छ। यसले कार्यकर्तालाई विचारको वाहक होइन, शक्ति केन्द्रको जयजयकार गर्ने ताली बजाउने समूहमा सीमित बनाइदिएको छ। विद्या भण्डारीको हकमा देखिएको व्यवहार नेपाली राजनीतिमा नयाँ होइन। यहाँ आवश्यकता पर्दा व्यक्ति ‘ढाल’ बनाइन्छ, खतरा टरेपछि त्यही व्यक्ति ‘भार’ ठहरिन्छ ।
विद्या भण्डारीको हकमा देखिएको व्यवहार नेपाली राजनीतिमा नयाँ होइन। यहाँ आवश्यकता पर्दा व्यक्ति ‘ढाल’ बनाइन्छ, खतरा टरेपछि त्यही व्यक्ति ‘भार’ ठहरिन्छ ।
यो प्रवृत्तिले देखाउँछ कि पार्टीहरू व्यक्तिलाई संस्थाका रूपमा होइन, उपकरणका रूपमा हेर्छन्। जब उपकरण काम लाग्दैन, तब त्यसलाई तोडेर फालिन्छ ।
यस्तो प्रवृत्तिले पार्टीभित्र स्वतन्त्र सोच मर्छ, नेतृत्त्व निर्माण सत्ताको कृपामा निर्भर हुन्छ, र लोकतन्त्र आन्तरिक निरंकुशताको शिकार बन्छ। आज विद्या भण्डारीमाथि भइरहेको आक्रमण भोलि अरू कसैमाथि पनि हुन सक्छ। किनकी समस्या व्यक्ति होइन, प्रणाली र मानसिकता हो।
चाणक्य नीतिमा उल्लेख गरिएको एक श्लोक छ। जसमा भनिएको छ।
‘तुष्यन्ति भोजने विप्रा, मयूरा घनगर्जिते। साधवः परसम्पत्तौ, खलाः परविपत्तिषु ।’
श्लोकले समाजका विभिन्न चरित्रलाई उनीहरू कुन अवस्थामा खुसी हुन्छन् भन्ने आधारमा तीक्ष्ण ढङ्गले वर्गीकरण गर्छ। यो श्लोक आजको नेपालको वर्तमान राजनीतिक अवस्थासँग जोडेर हेर्दा झनै अर्थ पूर्ण देखिन्छ ।
‘तुष्यन्ति भोजने विप्रा’ सुविधा पाएर सन्तुष्ट हुने वर्ग भन्ने सन्देश दिन्छ। चाणक्यले विप्र भोजनले तृप्त हुन्छन् भनेका छन्। आजको राजनीतिमा यो वर्ग पद, सुविधा, कोटा, लाभ र पहुँचबाट सन्तुष्ट हुने राजनीतिक पात्रसँग मेल खान्छ। नीति, सिद्धान्त वा जनउत्तरदायित्वभन्दा बढी उनीहरूका लागि सत्ता नजिकको सुविधा नै खुशीको मापदण्ड बनेको छ। नेतृत्वमा पुग्नेको चाकडीमा रमाएर भाग लिनेको प्रतिनिधित्व यो अंशले गर्छ ।
‘मयूरा घनगर्जिते’ यो अंशले संकेतमै नाच्ने अवसरवादी भन्ने जनाउँछ। मयूर वर्षाको गर्जन सुन्नासाथ नाच्छ। वर्तमान राजनीतिमा यस्ता पात्र सत्ताको संकेत मात्र देख्नासाथ पक्ष बदल्ने प्रवृत्तिका हुन्। मन्त्री बन्ने चर्चा, सत्ता समीकरणको हल्ला वा शक्ति सन्तुलनको गर्जनले उनीहरूलाई सक्रिय बनाउँछ। सिद्धान्त होइन, मौकाको आह्वान नै उनीहरूको प्रेरणा हो।
‘साधवः परसम्पत्तौ’ अंशले अरूको उन्नतिमा खुशी हुने दुर्लभ चरित्र दर्शाउँछ।
साधु अरूको समृद्धिमा खुशी हुन्छन्। राजनीतिमा यस्ता व्यक्तिहरू आज अल्पसंख्यक छन्। जो प्रतिपक्षको राम्रो कामको पनि प्रशंसा गर्न सक्छन्, जसका लागि राष्ट्रको हित पार्टीभन्दा ठूलो हुन्छ। अथवा गुटभन्दा पार्टी महत्वपूर्ण हुन्छ। तर दुर्भाग्यवश, यिनै पात्रहरू प्रायः हाँसोको विषय बनाइन्छन्, कमजोर ठहरिन्छन्।
‘खलाः परविपत्तिषु’ यो अंशले अरूको संकटमा रमाउने बुझाउँछ। श्लोकको सबैभन्दा कठोर सत्य यहीँ छ। आजको राजनीतिक यथार्थमा विपक्षको असफलता, विपत्ति, आर्थिक संकट वा संस्थागत विघटन पनि कतिपयका लागि खुशीको विषय बनेको छ। ‘पार्टी बिग्रियो’ भन्दा पनि उसको पराजय भयो भन्ने सोच हावी छ। यही मानसिकताले राजनीति रचनात्मक प्रतिस्पर्धा होइन, विध्वंसात्मक खेल बनेको छ। पाटी स्वार्थको रोटी सेक्ने अस्त्र बनेको छ।
अहिलेको राजनीति विचार, नीति र जनसेवाको प्रतिस्पर्धा होइन, कसको फेरो समातेर कसलाई गाली गर्ने भन्ने खेलमा सीमित हुँदै गएको छ।
चाणक्यको यो श्लोक केवल नैतिक उपदेश होइन, आजको राजनीतिक चरित्रको ऐना हो। वर्तमान राजनीति हेर्दा साधवः कम छन्। खलाः पात्र धेरै छन्। मयूरहरू सधैं नाच्न तयार छन्। र विप्रहरू भोजन खोज्दै शक्ति वरिपरि घुमिरहेका छन्।
जब राजनीति अथवा पार्टीका मान्छे परसम्पत्तिमा खुशी हुने साधु–स्वभावतर्फ फर्किँदैनन्, तबसम्म न लोकतन्त्र बलियो हुन्छ, न राज्यन त पार्टी नै। चाणक्यको श्लोकले आज पनि राजनीति चरित्रको परीक्षा हो, पदको होइन भन्ने सन्देश दिन्छ।
अहिले राजनीतिभित्र एउटाको फेरो समाउँदै अर्कोलाई सत्तोसराप गर्नेको बाहुल्य देखिन्छ। पार्टीबीच होस् या पार्टी भित्रको अवस्था होस् हरेक ठाउँमा यही दृश्य छ।
अहिलेको राजनीति विचार, नीति र जनसेवाको प्रतिस्पर्धा होइन, कसको फेरो समातेर कसलाई गाली गर्ने भन्ने खेलमा सीमित हुँदै गएको छ।
दल र नेताको प्राथमिकता अब विचार होइन, नेताको फेरो हो। जो सत्तामा छ, उसैको जयजयकार हुन्छ। जो बाहिर छ, उसैको चरित्रहत्या। हिजो असफल भनिएकाहरू आज राजनीतिक परिपक्व कहलिन्छन्, र हिजोका आदर्श नेता आज गालीका पात्र बन्छन्। पछिल्लो समय एमालेमा विद्या भण्डारी प्रति भएको प्रहारले पनि यही कुराको पुष्टि हुन्छ। किनकी हिजो भण्डारी एमालेका अहिले गाली गर्ने पक्षका आदर्श पात्र मानिएको दृश्य थियो। यो एमाले भित्रको मात्र होइन, काँग्रेस वा अन्य दलको पनि चरित्र हो।
लोकतन्त्रमा आलोचना स्वस्थ हुनुपर्छ, तर अहिलेको आलोचना नीतिगत होइन, व्यक्तिगत र प्रतिशोधात्मक छ। मुद्दा उठाउनुको सट्टा धारे हात लाउने, तथ्य प्रस्तुत गर्नुको सट्टा आरोप थोपर्ने प्रवृत्तिले राजनीतिक संवादलाई अश्लील बनाएको छ। संसद् बहसभन्दा बढी सोसल मिडियाको गाली गलौज प्रभावशाली बन्नुको कारण पनि यही हो।
सत्ता समीकरण फेरिन्छ, तर शैली उही रहन्छ। आफूसँग हुँदा महान अनि थोरै असहमत हुँदा पाँडे गाली अहिलेको राजनीतिमा बढेको प्रवृत्ति हो। विपक्षमा हुँदा जनताको पक्षमा भाषण, सत्तामा पुग्दा फरक अभ्यासको निरन्तरता। यसले समस्या व्यक्ति मात्र होइन, राजनीतिक संस्कार नै विकृत भएको छ ।
एउटाको फेरो समात्ने र अर्कोलाई सराप्ने यो राजनीतिमा जनता निर्णायक होइन, दर्शक बनेका छन्। अझ असली कार्यकर्तालाई ग्लानी महसुस गराएको छ।
एउटाको फेरो समात्ने र अर्कोलाई सराप्ने यो राजनीतिमा जनता निर्णायक होइन, दर्शक बनेका छन्। अझ असली कार्यकर्तालाई ग्लानी महसुस गराएको छ। दलका आन्तरिक नेताबिच पनि यही अवस्था छ भने दलबिच पनि यस्तै अवस्था छ। महँगी, बेरोजगारी, सेवा प्रवाहको विफलता जस्ता विषय छायामा पर्छन्, तर सत्ता समीकरण र आरोप प्रत्यारोप मुख्य एजेन्डा बन्छ।
जब राजनीति बदला र गालीमा केन्द्रित हुन्छ, तब संस्थागत विश्वास कमजोर हुन्छ। अदालत, प्रशासन, संवैधानिक निकाय सबैमाथि राजनीतिक आरोप लाग्छन्, जसको मूल्य अन्ततः राज्यले तिर्छ।
आजको राजनीति फेरो समात्ने कलामा त तेज छ, तर राज्य बनाउने जिम्मेवारीमा कमजोर। जबसम्म राजनीति नीतिमा आधारित आलोचना, सत्ता र प्रतिपक्ष दुवैमा जिम्मेवारी र जनहित केन्द्रित प्रतिस्पर्धातर्फ फर्किँदैन, तबसम्म एउटाको फेरो समाउँदै अर्को लाई सत्तो सराप गर्ने प्रकृया कम हुँदैन।
यो प्रवृत्ति बढ्दै जाँदा देश र जनताका समस्या उस्तै हुन्छ। केवल स्वार्थका पुजारीहरुले राज गरिरहेका हुन्छन्। समाज र देश परिवर्तनका लागि फेरो समाउने प्रकृयालाई निस्तेज पार्नु पर्दछ।













प्रतिक्रिया