एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९ पछिको सबैभन्दा ठूलो वृद्धि भएको वर्ष बनेको छ । यो वर्ष सुनको मूल्यमा ६० प्रतिशत भन्दा बढीले वृद्धि भई प्रति औंस ४ हजार ५४९ डलर भन्दा माथिको ऐतिहासिक रेकर्ड कायम भएको भयो ।
यद्यपि अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा यो घटेर करिब ४ हजार ३१० डलरमा कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि गत सोमबार प्रति औंस ८३.६२ डलरको कीर्तिमानी उचाइमा पुगेकोमा आज यतिबेलासम्म ७१ डलरको आसपासमा कारोबार भइरहेको छ ।
किन बढ्यो मूल्यवृद्धि
अमेरिकी फेडरल रिजर्भ बैंकले सन् २०२६ मा पुनः ब्याजदर घटाउन सक्ने अनुमानले पनि सुन र चाँदीको मूल्यमा वृद्धि भएको केहीले अनुमान गरेका छन् । विश्वव्यापी तनाव र आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरूले ‘सुरक्षित सम्पत्ति’ का रूपमा सुन र चाँदीलाई रोजेका छन् ।
मुद्रास्फीति सम्बन्धी चिन्ता, सेयर बजारको अस्थिरता र अमेरिका तथा बेलायतको उच्च सरकारी ऋणले पनि सुनको माग बढाएको केही बजारशास्त्रीहरूले विश्लेषण गरेका छन् ।
साथै, पछिल्लो समयमा विश्वभरका केन्द्रीय बैंकहरूले आफ्नो सञ्चितिमा सयौँ टन सुन थपेका छन् । जसको कारणले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको अनुमान गरिएको छ ।
विश्व बजारमा चाँदीको मूल्य बढ्नुमा यसको औद्योगिक माग र आपूर्तिमा आएको कमी मुख्य कारण हो । विश्वको दोस्रो ठूलो चाँदी उत्पादक देश चीनले स्रोत र वातावरण संरक्षणको नाममा चाँदी, टंगस्टेन र एन्टिमोनीको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
बजार विश्लेषकहरूले सुन र चाँदीको मूल्यमा सन् २०२५ मा भएको उच्च वृद्धिका कारण सन् २०२६ मा मूल्यमा केही गिरावट आउन सक्ने जोखिम रहेको औँल्याएका छन् ।
डोनाल्ड ट्रम्पको ट्यारिफ र आर्टिफिसिएल इन्टेलिजेन्सको क्षेत्रमा आउन सक्ने उतारचढावले लगानीकर्ताहरूलाई अझै पनि सुन र चाँदीतर्फ आकर्षित गरिरहन सक्ने पनि अनुमान गरिएको छ ।













प्रतिक्रिया