कुलमानलाई प्रश्न गर्दा माइक खोसिएका इन्जिनियर भन्छन् : ‘देवत्वकरण’ गरिएकाहरू आलोचना सुन्नै नसक्दा रहेछन् « Khabarhub

कुलमानलाई प्रश्न गर्दा माइक खोसिएका इन्जिनियर भन्छन् : ‘देवत्वकरण’ गरिएकाहरू आलोचना सुन्नै नसक्दा रहेछन्


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित थिए ऊर्जामन्त्री कुलमान घिसिङ । उक्त कार्यक्रममा अधिकांश इन्जिनियर र इन्जिनियरिङ पढिरहेका विद्यार्थीहरू सहगभाी थिए ।

उक्त कार्यक्रम भएको हलको पछाडितर्फ सहभागीका रुपमा उपस्थित थिए एकजना सिभिल इन्जिनियर अन्तिम प्रसिद्ध धिताल । इन्जिनियरहरूसहित समाजका विभिन्न वर्गका सदस्यहरू सहभागी भएको उक्त कार्यक्रमका लागि एउटा अनौठो नियम बनाएका थिए आयोजकले- प्रमुख अतिथिलाई राजनीतिक प्रश्न गर्न नपाइने ।

तर, कार्यक्रममा उपस्थित भएका उनै इन्जिनियर धितालले सुरूमा उज्यालो नेपाल पार्टी खोलेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पदमा पुगेका कुलमानलाई कार्यक्रमको अन्तिमतिर प्रश्न गर्ने मौका पाए ।

‘तपाईं नागरिक जगमा बनेको सरकारको मन्त्री हो वा रास्वपाको मन्त्री हो ? प्रश्न एक यो छ’, तर उनी बोल्दा बोल्दै उद्घोषकले हस्तक्षेप गर्दै भन्छन्, ‘यहाँ राजनीतिक प्रश्न गर्न नपाउने नियम छ, त्यस्तो प्रश्न नसोध्नु होला ।’

उद्घोषकले हस्तक्षेप गरे पनि धिताल रोकिँदैनन् । त्यससँगै उनी सोध्छन्, ‘तपाईं यदि नागरिक जगमा बनेको सरकारको मन्त्री हो भने रास्वपाको नेता कसरी ? रास्वपाको नेता हो भने नागरिक जगमा बनेको सरकारको मन्त्री कसरी ?’ त्यसपछि उद्घोषक केही रिसाएका सुनिन्छन् । हस्तक्षेप गर्दै भन्छन्, ‘भयो, भयो, भयो राजनीतिक प्रश्न नराख्नु होला है साथीहरू….’ उनले त्यसो भन्दै गर्दा एकजना युवक पुगेर धितालको हातबाट माइक पनि खोसिदिन्छन् ।

प्रश्न गरिनसक्दै माइक खोसिएपछि ती युवक धिताल असमञ्जसमा परेको भिडियोमा देख्न सकिन्छ । उनको उक्त प्रश्नको जवाफ दिने औपचारिकता पनि कुलमानले पूरा गर्छन् । ‘म आजका दिनसम्म कुनै पनि पार्टीको सदस्य छैन, त्यति मात्रै भन्छु’, उनले जवाफको औपचारिकता पूरा गर्दै भने ।

प्रश्न गर्दा आयोजकले बोल्नै नदिने गरेको कोसिसप्रति धिताले चित्त दुखाएका छन् । उनले उक्त प्रश्न आफूले कसैप्रति लक्षित गरेर नगरेको पनि बताएका छन् ।

‘म एक सिभिल इन्जिनियरको नाताले त्यहाँ सहभागी भएको थिएँ । अलिक ढिलो पुगेकाले सम्भवतः अन्तिमतिर मात्रै आफ्नो प्रश्न राख्ने अवसर पाएँ’, उनले भने, ‘मेरो प्रश्न कुनै व्यक्तिप्रति लक्षित थिएन । देश नै समस्याग्रस्त भएको अवस्थामा इन्जिनियरिङ पेशा कसरी अछुतो रहन सक्छ ?’

उनले देशमा प्रश्न उठाएर, नैतिकताको पाठ पढाएर मन्त्री बन्नेहरू नै अहिले नैतिकवान हुन छाडेको टिप्पणी पनि गरेका छन् । ‘देशमा प्रश्न उठाएर राजनीति गर्नेहरू, नैतिकताको पाठ पढाएर मन्त्री बन्नेहरू, आन्दोलनको जगमा बनेको सरकारका प्रतिनिधिहरू स्वयम् नैतिक हुन नपर्ने ?’, उनको प्रश्न छ, ‘कुनै न कुनै पार्टीको झण्डामुनि उभिएर ‘नैतिकता’ देखाउने यो कस्तो प्रदर्शन हो ?’

उनले नागरिक जगमा बनेको सरकारका मन्त्रीलाई प्रश्न गर्नै नपाइने अवस्था सिर्जना गरिएकोमा चित्त दुखएका छन् ।

‘यति मात्रै भन्न खोजेको थिएँ । तर दुर्भाग्यवश त्यहाँ प्रश्न गर्न रोक लगाइयो । माइक खोसियो, थर्काइयो’, उनले पीडा पोख्दै भनेका छन्, ‘प्रश्न सुन्नै नचाहने, जवाफ दिनु नपर्ने मानसिकता देखियो । अझ दुःख लाग्दो कुरा जनताले आशा गरेर ‘देवत्वकरण’ गरिएका पात्रहरू नै अलिक बढी मात्तिएका, अलिक बढी अहंकारी र आलोचना सहन नसक्ने देखिए ।’

उनले प्रश्न गर्न नपाइने अवस्थाबाट गुज्रिएर देश नबन्ने पनि टिप्पणी गरेका छन् । ‘प्रश्न गर्न नपाइने, असहज सत्य सुन्न नचाहने, जवाफदेही हुनु नपर्ने संस्कारबाट देश कसरी बन्छ ? मेरो चिन्ता यति मात्रै हो’, उनले भनेका छन् ।

कुलमानको अटेरी

यी इन्जिनियर युवाको प्रश्नले बिचलित देखिएका ऊर्जमन्त्री घिसिङले त्यही कार्यक्रममा अन्तरिम सरकारबाट राजीनामा नदिने अडान राखे ।

कुनै पार्टीको सदस्य नभएको झूटो स्पष्टीकरण दिँदै उनले सरकारबाट नबाहिरिने बताए । यसरी झूटो जवाफ दिएका कुलमानले आफ्नै पहलमा उज्यालो नेपाल पार्टी दर्ता गरेका थिए । उनले उक्त पार्टीको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई बनाएका थिए ।

उनी उज्यालो नेपालको संगठन विस्तारका लागि देशका विभिन्न भागमा पुगे । तर अचानक उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा उज्यालो नेपाललाई विलय गराए । रविको पार्टीबाट बिलय हुँदा गरिएको सहमतिपत्रमै कुलमान उपसभापति हुने उल्लेख छ ।

उनी रास्वपामा सभापति लामिछानेपछिको दोस्रो वरीयता लिएर उपसभापतिको हैसियतमा छन् । उनले आफ्नोतर्फबाट १८ जनालाई समानुपातिक सूचीमा पनि राखेका छन् ।

गत पुस १० मा काठमाडौंको त्रिपुरेश्वरमा उज्यालो नेपालको कार्यालय उद्घाटन हुँदा आफैं पुगेका थिए । यस्तै कुलमानले केन्द्रदेखि प्रदेशसम्म उज्यालो नेपालको कार्यक्रममा भाग लिए ।

कुलमानको यस्तो किसिमको सक्रियताबीच सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा लागेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइन् ।

प्रधानमन्त्रीको उक्त निर्देशनलाई बेवास्ता गर्दै कुलमानले आफू कुनै दलको सदस्य नभएको भनेर राजीनामा दिन मानेनन् । उता युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि रास्वपामा सक्रिय छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि ललितपुरबाट रास्वपाको टिकट लिएर उठ्ने तयारीमा छन् ।

कुलमान रास्वपाको उपसभापति बन्ने लिखित समझदारी भएको अवस्थामा रास्वपामा प्रवेश गरेको कुरा अस्वीकार गरेका हुन् ।

मन्त्रीहरू दलीय राजनीतिमा होमिन थालेपछि नागरिक सरकारकी प्रधानमन्त्री कार्कीमाथि हटाउनुपर्ने दबाब बढेको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ५४ बजे

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

काठमाडौं– गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा

रूपान्तरणको आवाजलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ : उदयशमशेर

काठमाडौं– नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले पार्टीमा उठेको रूपान्तरण र

नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखेका सातवटा क्यामरामा क्षति

चितवन–  चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका सात वटा क्यामेरामा

आगामी निर्वाचनपछि धेरै युवाहरू नीति निर्माण गर्ने तहमा पुग्छन् : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि धेरै