काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण जाँचको रिपोर्ट आउन ढिलाइ हुँदा बिरामीहरू उपचारबाट वञ्चित हुनुपरेको गुनासो बढ्दै गएको छ । भोजपुरबाट नसा तथा नाक–कान–घाँटीसम्बन्धी समस्या लिएर वीर अस्पताल आएका ७० वर्षीय एक जना बिरामीको जाँच रिपोर्ट नआउँदा उपचार नै रोकिएको छ ।
उनका आफन्तका अनुसार बिरामीको बोली लर्बरिएको छ भने घाँटीमा समस्या देखिएर मुखबाट र्याल चुहिने अवस्था छ । वीर अस्पतालमा उपचारका क्रममा नाक–कान–घाँटी रोग विशेषज्ञले सिटी स्क्यान गर्न सुझाव दिएका थिए । नसा रोग विशेषज्ञले एमआरआई गर्न भनेका थिए । तर, एमआरआईको रिपोर्ट आउन चार दिन लागेको र सिटी स्क्यानको रिपोर्ट पाँच दिनपछि मात्रै प्राप्त भएको आफन्तको भनाइ छ ।
रिपोर्ट ढिलो आएकै कारण चिकित्सकले उपचार सुरु गर्न नसकेको उनीहरूको गुनासो छ । “जाँच त गरियो तर रिपोर्ट नआएसम्म डाक्टरले उपचार अगाडि बढाउन मिल्दैन भन्नुभयो,” बिरामीका एक आफन्तले भने, “दिनदिनै अवस्था बिग्रँदै जाँदा पनि रिपोर्टकै पर्खाइमा बस्नुपरेको छ ।”
आफन्तले एमआरआई र सिटी स्क्यान जस्ता जाँचमा सिकारु चिकित्सक तथा प्राविधिक खटाइएकाले रिपोर्ट समेत भरपर्दो नआएको आरोप लगाएका छन् । “संवेदनशील जाँचमा अनुभवी जनशक्ति नखटाउँदा बिरामीको ज्यानै जोखिममा पर्न सक्छ,” उनीहरूको भनाइ छ ।
केन्द्रीय अस्पतालमै यस्तो ढिलाइ र व्यवस्थापन कमजोरी देखिनु गम्भीर विषय भएको भन्दै सेवाग्राहीले छिटो र गुणस्तरीय जाँच सेवा सुनिश्चित गर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् ।













प्रतिक्रिया