काठमाडौं- दोस्रो विशेष महाधिवेशनका कारण तीव्र दबाबमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तत: महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार भएका छन् ।
सोमबार दिनभर आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्य तथा कानुनविद्हरूसँगको परामर्श र छलफलपछि देउवाले महामन्त्रीद्वयसँग वार्ता गर्ने बताएका हुन् ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति देउवाले महामन्त्रीद्वयसँग वार्ता गर्ने जानकारी दिएका हुन् ।
उनले महामन्त्रीद्वय शर्मा र थापासँग वार्ता गर्ने गरी संस्थापन पक्षमा छलफल गरेका हुन् ।
देउवा निवासमा भएको लामो छलफलपछि बाहिरिँदै विश्वकर्माले सभापतिले महामन्त्रीहरूसँग छलफल गरेर अहिलेको समस्यालाई निष्कर्षमा पुर्याउने उल्लेख गरेका छन् ।
विश्वकर्माले महामन्त्रीलाई भेट्न देउवा विशेष महाधिवेशनस्थलमा उपस्थित हुने या महामन्त्रीहरू महाराजगञ्ज जाने कुरा भने खुलाएका छैनन् ।
कांग्रेस कार्यसम्पादन समितिका एकजना सदस्यका अनुसार सोमबार दिनभर भएको छलफलबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई समेत महामन्त्रीद्वयसँगको वार्तामा उपस्थित गराउने तयारी देउवाले गरेका छन्।
महामन्त्रीद्वयसँग देउवा र खड्काले छलफल गरेर सहमतिको बाटो खोज्ने निष्कर्ष महाराजगञ्जको छलफलले निकालेको हो । यता नेता डा. शेखर कोइरालाले पनि सोमबार दिउँसो सभापति देउवा र महामन्त्रीद्वयसँग संवाद गरेका छन् ।
उनले कांग्रेसको संकट टार्न मध्यमार्गी भूमिका खेल्दै पार्टीलाई जोगाउन विष पिउन पनि तयार रहेको बताएका छन् । सुरूमा देउवासँग संवाद गरेका उनले अहिले महामन्त्रीद्वयसँग सम्भावित समाधानको विकल्पबारे छलफल गरिरहेका छन्।













प्रतिक्रिया