काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा नजाने बताएकी छन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा तीन दिनदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबीच संस्थापन पक्षले मंगलबार दिउँसो १ बजे बस्ने गरि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।
यस्तोमा विशेष महाधिवेशन पक्षधरहरूले सानेपामा बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठकमा नजाने निर्णय गरेको केन्द्रीय सदस्यसमेत रहेकी गौतमले बताएकी छन् ।
‘आज वार्ता सफल भए उहाँहरू (संस्थापन पक्ष) महाधिवेशनको बन्दसत्रमा आउनु हुन्छ’, उनले भनिन्, ‘कुरा मिलेमा हामी पनि केन्द्रीय कार्यसमिति बैठकमा जान्छौं ।’
उनले यदि कुरा नमिलेमा विशेष महाधिवेशनले नयाँ नेतृत्वको प्रक्रिया अघि बढाउने बताइन् । ‘यदि कुरा नमिलेमा प्रक्रियामा अघि बढ्छ’, उनले भनिन्, ‘प्रक्रिया पूरा गरेर निर्वाचन आयोग जाने तयारी गरेका छौँ।’
यसअघि नै गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनले बोलाएको बैठक बहिष्कार गर्ने निर्णय गरिसकेका छन् ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन सूचना जारी गरेका छन्।
आकस्मिक रुपमा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा विधान महाधिवेशन पक्षधर सहभागी नहुने भएसँगै दुवै पक्षबीच वार्ता हुँदैछ । शेरबहादुर देउवा, शेखर कोइराला र गगन-विश्व पक्षले वार्ता समिति बनाए पनि अझै संवाद भइसकेको छैन ।













प्रतिक्रिया