ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण « Khabarhub

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन संरक्षण र पर्यटन प्रवर्द्धनको सङ्गमस्थलका रूपमा विकास हुँदै गएको छ ।

वन संरक्षणलाई प्राथमिकतामा राख्दै यहाँ आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न पूर्वाधार निर्माण र सौन्दर्यकरणका काम सञ्चालन भइरहेका छन् ।

सामुदायिक वनको कार्यालय परिसर तथा वनभित्र रहेका प्राकृतिक तालहरूलाई रङ्गीबिरङ्गी झन्डाले सजाइएको छ । यसले हरियाली वनसँगै तालहरूको प्राकृतिक सौन्दर्य अझै आकर्षक बनेको छ ।

सामुदायिक वनका अध्यक्ष गोपाल भारतीका अनुसार करिब तीन हजार छ सय मिटर क्षेत्र झन्डाले सजाइएको छ । ‘वन र ताल अवलोकन गर्न आउने पर्यटकको सहजताका लागि बस्न मिल्ने बेन्च तथा खरले छाएका ससना आश्रयस्थल निर्माण गरेका छौँ,’ अध्यक्ष भारतीले भने, ‘त्रिकेश्वर महादेव तालको वरिपरि २० र झरना तालको वरिपरि १० आश्रयस्थल निर्माण गर्ने योजना छ ।’

उनका अनुसार हालसम्म ११ आश्रयस्थल निर्माण सम्पन्न भइसकेका छन् भने २० बेन्च राखिएका छन् । थप ३० बेन्च निर्माण भइरहेको छ । सामुदायिक वनभित्र रहेका दुवै तालमा डुङ्गा सञ्चालनको तयारी गरिएको छ ।

त्यसैगरी, बालबालिका, युवापुस्ता र वयस्कलाई लक्षित गर्दै सामुदायिक वनभित्र झुला राख्ने तयारी पनि भइरहेको छ । झुला खरिदका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य भइरहेको अध्यक्ष भारतीले जानकारी दिए ।

सामुदायिक वनको कार्यालय परिसरमा गोलघर निर्माण भइसकेको छ भने प्रवेशद्वार (गेट) निर्माणको कार्य अगाडि बढाइएको छ । पिकनिक स्पट निर्माणको कामसमेत सुरु भइसकेको र माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष भारतीले बताए ।

पर्यटन प्रवर्द्धनसँगै वन संरक्षणका गतिविधि पनि निरन्तर रूपमा सञ्चालन भइरहेको सामुदायिक वनका उपाध्यक्ष प्रकाशनाथ योगीले बताए । उनका अनुसार वनभित्र विभिन्न प्रजातिका बिरुवाको नर्सरी निर्माण गरिएको छ ।

सामुदायिक वनले उपभोक्तालाई आयआर्जनसँग जोड्ने उद्देश्यले विभिन्न कार्यक्रम पनि अघि सारेको छ । त्यसका लागि सालको टपरी तथा विजयसालका भाँडा बनाउने उपकरण समेत खरिद गरिएको छ । यसबाट स्थानीय उपभोक्ताको आम्दानी वृद्धि हुनाका साथै वन संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

वन संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउँदै ग्वलाबारी सामुदायिक वनलाई आन्तरिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको सामुदायिक वन समितिले जनाएको छ । (रासस)

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : ३६ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट