काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको स्वार्थ देखाएर गरिने एकताको कुनै महत्व नहुने बताएका छन्।
बुधबार काठमाडौंमा सुमन सायमीको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको एकता पक्षधर समूहसँग भएको पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले विचार नमिल्ने शक्तिसँग केवल चुनाव जित्नकै लागि गरिने एकताले दीर्घकालीन अर्थ नदिने उल्लेख गरे। नेपालमा यस्ता एकता पटक पटक दोहोरिएको भन्दै उनले अब त्यस प्रकारको राजनीतिबाट माथि उठ्नुपर्ने धारणा राखे।
सायमी नेतृत्वको समूहसँग समायोजन भएसँगै काठमाडौं उपत्यकामा नेकपाले चुनाव जित्ने आधार थप बलियो बनेको प्रचण्डको भनाइ थियो। उनले ठूला सभा केन्द्रित राजनीति भन्दा पनि जनताको घरघरमा पुगेर गुनासो र समस्या सुन्ने काममा पार्टी केन्द्रित हुनुपर्ने बताए।
प्रचण्डले विगतका कमजोरीबाट सिक्दै आत्मसमीक्षा र आत्मआलोचनामार्फत पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टी विभिन्न समयमा सरकारमा रहँदा भएका राम्रा कामको प्रचार गर्दै कमजोरीको जिम्मेवारीसमेत लिएर जनतामाझ जाने बताए। पार्टी सामूहिकतामा विश्वास गर्ने भएकाले कसैले पनि एक्लोपन महसुस गर्न नपर्ने उनको भनाइ थियो। उनले नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा पार्टीलाई स्थापित गर्न एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।
त्यसैगरी नेकपामा प्रवेश गरेका नेता सुमन सायमीले केही पुराना र नयाँ पात्रहरूको घमण्ड र आत्ममुग्धताका कारण आफूहरू नेकपासँग एकताको बिन्दुमा आइपुगेको बताए। उनले सडक मात्र होइन, सदनमार्फत पनि जनताका समस्या र माग मुद्दा उठाएर दबाब सिर्जना गरिने स्पष्ट पारे।












प्रतिक्रिया