मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक « Khabarhub

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ ।

म्याग्दीमा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउने सङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघे सङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।

नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सङ्क्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताए ।

‘प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन्’, उनले भने, ‘माघेसङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ ।’

यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुर्ख्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ ।

चेलीबेटीहरू तरुल र सेलरोटी, फलफूल लिएर माघेसङ्क्रान्तिमा माइतीघर जान्छन् । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किएका अन्नपूर्ण गाउँपालिका– ७ टिकोटकी टिका तिलिजा पुनले बताइन् ।

चाडपर्वले आफन्तजन र साथीभाइसँग भेटघाट हुने अवसर जुराएको उनले बताइन् । माघेसङ्क्रान्ति पर्वको अवसरमा मगर बस्तीहरूमा खेलकुद तथा सांस्कृतिक मेला आयोजना भएका छन् ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि माघेसङ्क्रान्तिको अवसरमा मेला लाग्ने चलन रहेको स्थानीयवासीसमेत रहेका बेनी नगरपालिकाका पूर्वप्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघेसङ्क्रान्ति मेलामा आउने गर्दथे ।

बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । ‘त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन । किनमेलका लागि मेला कुर्नुपर्थ्यो । बेनीमा माघेसङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो’, श्रेष्ठले भने, ‘युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गरेको अझै झलझली लाग्छ ।’

समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ ।

हरेक तीन/तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गरिदै आएको छ । सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष बुधबारदेखि बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी सुरु भएको छ ।

बेनीमा परम्परागत रुपमा लाग्ने माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र सम्वर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताइन् । (रासस)

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : ४५ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न