एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै आएका खनिज–सम्पन्न आर्कटिक टापु ग्रिनल्यान्डमा नाटो सेनाको उपस्थितिप्रति रुसले गम्भीर चिन्ता व्यक्त गरेको छ । नाटो सदस्य मुलुकहरूको हालैको तैनाथीले आर्कटिक क्षेत्रमा सुरक्षा सन्तुलन थप जटिल बनाउने मस्कोको धारणा रहेको छ ।
फ्रान्स, स्विडेन, जर्मनी र नर्वेले बुधबार संयुक्त रूपमा घोषणा गर्दै ग्रिनल्यान्डको राजधानी नुकमा जासुसी तथा अनुगमन मिसनको हिस्साका रूपमा आफ्ना सैन्य कर्मचारीहरू तैनाथ गर्ने जानकारी दिएका थिए ।
वासिङ्टनमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डका अधिकारीहरूबीच भएको बैठकले राष्ट्रपति ट्रम्पको ग्रिनल्यान्ड नियन्त्रण गर्ने महत्त्वाकांक्षालाई रोक्न असफल भएपछि यो घोषणा आएको हो ।
राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड अमेरिकी सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको दाबी गर्दै आएका छन् । उनले वासिङ्टनले टापु आफ्नो नियन्त्रणमा नलिए ‘चीन वा रुसले कब्जा गर्ने’ चेतावनीसमेत दिँदै आएका छन् ।
बेल्जियमस्थित रूसी दूतावासले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उच्च अक्षांश क्षेत्रमा देखापरेको अवस्था हाम्रो लागि गम्भीर चिन्ताको विषय बनेको छ ।”
दूतावासका अनुसार नाटोले ‘मस्को र बेइजिङबाट बढ्दो खतरा’ भन्ने झूटो बहानामा आर्कटिक क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको छ । बेल्जियममा नाटोको मुख्यालय अवस्थित छ ।
हालसम्म रूसी विदेश मन्त्रालय वा क्रेमलिनले ग्रिनल्यान्डमा भएको पछिल्लो सैन्य तैनाथीबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन् । मन्त्रालयका वक्तव्यहरू व्यक्तिगत दूतावासका भनाइभन्दा बढी आधिकारिक मानिन्छन् ।
पछिल्ला वर्षहरूमा नाटो र रुस दुवैले आर्कटिक क्षेत्रमा आफ्नो सैन्य गतिविधि र उपस्थिति उल्लेखनीय रूपमा बढाएका छन् । समुद्री बरफ पग्लिँदै जाँदा आर्कटिक क्षेत्र अन्तर्राष्ट्रिय ढुवानी मार्ग तथा खनिज उत्खननका लागि खुल्दै गएको छ, जसका कारण रणनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको विश्लेषकहरू बताउँछन् ।
राष्ट्रपति ट्रम्पका अभिव्यक्तिहरूले दोस्रो विश्वयुद्धयता पश्चिमी सुरक्षाको मेरुदण्ड मानिँदै आएको नाटो गठबन्धनभित्र अभूतपूर्व तनाव सिर्जना गरेको रूसी दूतावासको टिप्पणी छ ।
दूतावासका अनुसार ग्रिनल्यान्डको विषयलाई लिएर गठबन्धनभित्र देखिएको आन्तरिक असहमतिले निर्णय प्रक्रियालाई ‘झनै अप्रत्याशित’ बनाउँदै लगेको छ ।













प्रतिक्रिया