ओलीको योग्यता ‘फर्मुला’ : चक्रे र अमितलाई सिधै टिकट, जित्न नसक्ने भन्दै योगेश र गोकुल ‘होल्ड’ « Khabarhub

ओलीको योग्यता ‘फर्मुला’ : चक्रे र अमितलाई सिधै टिकट, जित्न नसक्ने भन्दै योगेश र गोकुल ‘होल्ड’



काठमाडौं– भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनले दुई तिहाइको सत्ता छाडेर सिधै नेपाली सेनाको ब्यारेकमा पुग्न बाध्य केपी शर्मा ओली र शेरबहादुर देउवासहितका लागि सन्देश थियोे- पटकपटक असफल भइसकेकाले अब राजनीतिबाट बिदा हुन् ।

आन्दोलनको उक्त सन्देशअनुसार ५ पटक प्रधानमन्त्री भइसकेका देउवालाई गगन थापा र विश्वप्रकाश शर्माहरूले विशेष महाधिवेशनमार्फत् बिदा गरिदिएका छन् । तर ओली भने बलजफ्ती पार्टीको सत्तामा बसेर मनोमानीसहित आफूलाई प्रश्न गर्ने र चुनौती दिनेलाई ठेगान लगाउन लागिरहेका छन् ।

एमालेको एघारौं महाधिवेशनमा १३८ जना प्रतिनिधि आफूखुसी मनोनीत गरेर, मतदानमा लाइन बसेका प्रतिनिधिलाई घर फर्काई निर्वाचन सारेर आफ्नो समूहको बलजफ्ती जित पक्का गरेका उनले फागुन २१ को निर्वाचनका लागि टिकट वितरणमा त्योभन्दा मनोमानी गरेका छन्।

जेन-जी आन्दोलनले उनलाई बिदा हुन भने पनि आफैं भने चुनौती दिनेजति सबैलाई पार्टीबाट कत्लेआम बनाउने अभियानमा उद्त भएका छन् ।

प्रत्यक्षतर्फको टिकट वितरणमा केपी ओलीले महाधिवेशनमा आफूलाई चुनौती दिने ईश्वर पोखरेल समूहलाई करिब करिब सफाया नै गरेका छन् ।

यसपटक प्रत्यक्षतर्फको टिकट वितरणमा उनले एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिने ईश्वर पोखरेल समूहलाई करिब करिब सफाया नै गरेका छन् ।

अध्यक्षमा आफूसँग पराजित ईश्वर पोखरेलको नाम ओखलढुंगाबाट सिफारिस भएको थियो तर उनलेे आफूलाई बा भनेर सम्बोधन गर्ने लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई टिकट दिए। जबकि त्यहाँ जातीय सन्तुलनको हिसाबमा पनि यज्ञराज सुनुवारले टिकट पाउनुपर्ने थियोे ।

उता चितवन- १ ले एमाले निवर्तमान केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको नाम नै सिफारिस भएन । त्यहाँ ओलीले सुरेन्द्रलाई पाखा लगाएर कृष्णराज (कमल) पाठक लाई टिकट दिएका छन् ।

योगेश भट्टराईलाई बैठकमा नै अपमान

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने क्रममा मनोमानी गरेका ओलीले पार्टीको भोट बढाउने अनुहारका रूपमा रहेका उपमहासचिव योगेश भट्टराईलाई शनिबार च्यासलमा बसेको बैठकमा नै अपमान गरे ।

शनिबार दिनभर बसेको बैठकमा मापदण्डबिना नै उम्मेदवार तोकिएपछि उपमहासचिव भट्टराईले असन्तुष्टि जनाए । उनलेे तीन बुँदे नोट अफ डिसेन्ट लेखेर हिँडेका थिए ।

ओलीले सचिवालय बैठकमै यसपटक तपाईंले जित्ने सम्भावना देखिएन भनेर योगेशलाई टिकट नदिने अडान लिए। उनलेे यसपटक तपाईंको राम्रो छैन भन्दै योगेशलाई बैठकमा नै आफूलाई चुनौती दिएको बदला लिएका हुन्।

त्यसपछि योगेश अरूको कुरा सुनेर निर्णय नगर्नु भन्दै प्रतिवादमा उत्रिए । योगेशको प्रतिवादपछि ताप्लेजुङको नै ओलीले होल्डमा राखिदिए । ओली त्यहाँ आफ्नो गुणगानमा लागिरहेका क्षितिज थेबेलाई टिकट दिन चाहन्छन् ।

यही कारण ताप्लेजुङमा उम्मेदवारको नाम अध्यक्षले टुंग्याउने भनेर खाली राखिएको छ। टिकट अनिश्चित भएपछि योगेश लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।

ओलीले ईश्वर समूहका गोकर्ण विष्टलाई मात्रै टिकट दिए। स्रोतका अनुसार त्यो पनि गुन्डु पुगेर ओलीसँग लामो वार्ता गरेपछि मात्रै विष्ट टिकटमा योग्य भएका हुन् ।

अर्काेतिर प्रदीप ज्ञवालीले समेत गोकर्णलाई टिकट नदिँदा गुल्मीका दुवै क्षेत्रमा समस्या हुन सक्ने रिपोर्टिङ ओलीकहाँ गरेका थिए। त्यसपछि गुल्मी २ मा अर्की आकांक्षी रामकुमारी झाँक्रीलाई राष्ट्रिय सभामा उठाएर व्यवस्थापन गरिएको हो ।

ओलीले एघारौं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट लडेका गोकर्ण विष्टबाहेक सबैसँग बदला लिए । कतिसम्म भने हिजोका दिनमा माधव नेपाल र झलनाथ खनाल समूहमा भएकै कारण विष्णु रिजाल, निरज आचार्य र झपट रावल जस्ता युवा नेताले पनि टिकट पाएनन् ।

एमाले दैलेख क्षेत्र नं २ को प्रतिनिधि सभा उम्मेदवार छनौटमा युवा नेता एवं केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाधिक मत ल्याएका थिए। उक्त क्षेत्रमा चारजना पुरुष आकांक्षीमा सहमति कायम हुन नसकेपछि भएको आन्तरिक निर्वाचनमा रिजालले ६७ मतसहित पहिलो नम्बरमा सिफारिस भएका थिए।

तर ओलीले लक्ष्मीराज शर्मालाई टिकट दिए । त्यहाँ आकांक्षीको चुनावमा लक्ष्मी पोखरेल, राजबहादुर शाही र कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर बुढा सहभागी थिए

सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा ६७ मतसहित रिजाल पहिलो, ६६ मतसहित पोखरेल दोस्रो, ६१ मतसहित शाही तेस्रो र ५१ मतसहित बुढा चौथो भएका थिए । तर यी चारैलाई निराश बनाएर देवकोटाले टिकट पाए।

स्रोतका अनुसार पहिलो नम्बरमा सिफारिस रिजाललाई ओलीले किन बाठो भएर चुनाव गरेको भन्दै झपारेका थिए । रिजालमाथि सधैं काठमाडौं बस्ने तर भूगोलमा कमजोर रहेको आरोप लागिरहेपछि चुनावी अभ्यासमा अब्बल सावित भएर पहिलो नम्बरमा सिफारिस भएका थिए ।

ओलीले उपमहासचिव योगेश भट्टराई, महासचिवमा लडेका सुरेन्द्र पाण्डे, सचिवमा लडेका गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्णबहादुर थापा, नेता गणेश पहाडी, ईश्वर प्यानलबाट एक्ला खुला केन्द्रीय सदस्य झपट रावल र तारा लामासहितसँग बदला लिएका छन् ।

काभ्रे क्षेत्र नम्बर १ मा गुन्डागर्दीबाट उदाएका अमित लामाले सिधै टिकट पाउँदा क्षेत्र नम्बर २ मा लगातार चुनाव जितिरहेका गोकुल बास्कोटालाई नदिने योजनासहति ओलीले टिकट होल्डमा राखिदिए ।

उता उनीसँगै आपराधिक पृष्ठभूमिका मिलन गुरुङ उर्फ चक्रे मिलनले पनि गोरखा २ बाट टिकट पाएका छन्। जुन नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितेको क्षेत्र हो । गोरखा २ बाट टिकट पाएका चक्रे मिलन विभिन्न आपराधिक घटनामा जेल परेका व्यक्ति हुन्। अमित लामा पनि गुण्डागर्दीबाटै शक्ति आर्जन गरेका व्यक्ति हुन् ।

उता रूपन्देही २ मा यसपटक गाह्रो पर्ने भएपछि उपाध्यक्ष विष्णु पौडेल पाल्पा २ झरेका छन् । जहाँ ओलीमाथि प्रश्न गरिरहने नेता ठाकुर गैरेले २०७९ मा जितेका थिए । यसपटक ठाकुरलाई निराश बनाउँदै पौडेल बसाइँ सरेर सुरक्षित हुन झरेका छन् । रूपन्देहीमा २०७९ मा पनि पौडेलले कठिनाईपूर्वक चुनाव जितेका थिए ।

उता राजावादी र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग बार्गेनिङ गर्न ओलीले दुई क्षेत्र खाली राखेका छन् । उनलेे रुकुम पूर्व र झापा ३ खाली राखेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग बार्गेनिङ ओलीले झापा ३ खाली राखेका छन् ।

ओली परम्परागत क्षेत्र झापा ५ बाटै लड्दैछन् । झापा ३ खाली राखेर २०७४ र २०७९ मा जस्तै राजावादी लिङ्देनबाट झापा ५ मा सहयोग लिने तयारी ओलीले गरेका छन् । झापा ५ मा काठमाडौं महानगरका मेयर बालेन्द्र साह र नेकपा युवा नेता रञ्जित तामाङले ओलीलाई चुनौती दिँदैछन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ५४ बजे

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट– कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल