शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ? « Khabarhub

शीर्ष नेता उठ्न लागेका यी ६ क्षेत्रमा कस्तो थियो ०७९ को परिणाम ?


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आइतबारसम्म अधिकांश राजनीतिक दलले उम्मेदवारी टुंगो लगाइसकेका छन् ।

नेपाली कांग्रेसले विभाजन र आन्तरिक विवादका कारण उम्मेदवार टुंगो लगाउन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीसहितले आइतबार र सोमबारमा उम्मेदवारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

सार्वजनिक विवरणअनुसार अधिकांश दलका शीर्ष नेताहरूले पुरानै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ छाडेर रुकुमपूर्व रोजेका छन् ।

पार्टीको उथलपुथलले कांग्रेस सभापति पद र शक्ति दुवै गुमाएका शेरबहादुर देउवा उठ्ने नउठ्ने टुंगो भएको छैन । यद्यपि जिल्ला कार्यसमितिबाट उनको नाम सर्वसम्मत सिफारिस हुने अवस्था छ। तर कांग्रेसका कमान्ड गगन थापाको हातमा गएसँगै उनले चुनाव उठ्ने नउठ्ने निश्चित छैन ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म निर्वाचन क्षेत्रको घोषणा गरेका छैनन् । जनता समाजवादी पार्टी नेपलाका अध्यक्ष उपेन्द्र यादवले टुंगो लगाइसकेका छैनन् । यद्यपि उनी सप्तरी छाडेर बारा आउने सम्भावना बलियो छ ।

जेन–जी आन्दोलनपछि देशमा पुराना राजनीतिक दल नेताहरूप्रति नकारात्मक धारणा राख्नेको संख्या बढेको छ । जसले गर्दा आगामी निर्वाचनमा कुनै दल वा नेताको पक्षमा प्राप्त हुने मत विगतकै स्तरमा नहुने अनुमान गर्न सकिन्छ ।

तर, आगामी निर्वाचनका लागि शीर्ष राजनीतिक नेतृत्वहरूले रोजेको निर्वाचन क्षेत्रमा कुन पार्टीले कति मत प्राप्त गरेका थिए भन्ने महत्वपूर्ण विषय हुन्छ । हेरौँ, शीर्ष नेतृत्वको निर्वाचन क्षेत्रमा ०७९ मंसिरमा खसेको मतपरिणाम ः

झापा ५
एमाले– केपी शर्मा ओली, ५२ हजार ३१९
कांग्रेस– डा. खगेन्द्र अधिकारी २३ हजार ७४३
रास्वपा– सुरेशकुमार पोख्रेल ११ हजार ७५९

झापा ५ मा यसपटक पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्रमा ओलीलाई हराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र साह ‘बालेन’ ले टिकट लिने चर्चा छ । तर, अहिलेसम्म सो पार्टीले आधिकारिक घोषणा गरिसकेको छैन ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले उक्त निर्वाचन क्षेत्रका लागि अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङलाई टिकट दिएको छ ।

०७९ सालको निर्वाचनमा केपी ओली राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि समर्थन लिएर विजयी भएका थिए । तर, ०७९ सालमा माओवादीको समर्थनसहित प्रतिस्पर्धी कांग्रेसले आन्तरिक विवादका कारण अहिलेसम्म टिकट टुंग्याउन सकेको छैन ।

रुकुम पूर्व
माओवादी–पूर्णबहादुर घर्ती, १२ हजार २२६
एमाले– कैलाशकुमार मल्ल, ५ हजार २११
अन्य पार्टीको १ हजारभन्दा कम मत आएको छ ।

प्रतिनिधिसभाका सबै चुनावमा क्षेत्रमा फेर्दै आएका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक रुकुम पूर्वबाट उठ्ने घोषणा गरेका छन् । माओवादी सशस्त्र युद्धका बेला आधारक्षेत्र यहाँ ०७९ सालमा माओवादीले कांग्रेस–एमाले गठबन्धनलाई दोब्बर मतले पराजित गरेको थियो ।

त्यही कारण प्रचण्डले यसपटकको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट आफ्नो सहज जित हुनसक्ने अनुमान गरेको देखिएको छ ।

चितवन २
रास्वपा– रवि लामिछाने, ४९ हजार ३००
कांग्रेस– उमेश श्रेष्ठ, १४ हजार ९८८
एमाले– कृष्णभक्त पोख्रेल, १४ हजार ६५२

चितवन क्षेत्र नम्बर २ बाट यसपटक पनि रास्वपा सभापति लामिछानेले उम्मेदवारी दिने भएका छन् । ०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन र एमाले उम्मेदवारलाई उनले भारी मतले पराजित गरेका थिए ।

पछिल्लो समय रास्वपाको पक्षमा देखिएको माहोल र विगतको मतपरिणामका आधारमा उक्त निर्वाचन क्षेत्रबाट लामिछाने नै विजयी हुन सक्ने धेरैले अनुमान गरेका छन् । तर, विगतकै आधारमा लामिछानेले मत प्राप्त गर्न सक्दैनन् कि भन्ने चुनावको प्रतिक्षा गर्नुपर्ने भएको छ ।

सप्तरी २
जनमत– डा. चन्द्रकान्त राउत (सीके), ३५ हजार ४२
जसपा– उपेन्द्र यादव, १६ हजार ९७९
लोसपा– जयप्रकाश ठाकुर, ७ हजार ३४७

स्वायत्त मधेस प्रदेशको माग राखेर लामो संघर्ष पश्चात् नेपाली राजनीतिमा उदाएको जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले यसपटक पनि सप्तरी २ बाट उम्मेदवारी दिने भएका छन् ।

उनले ०७९ सालको निर्वाचनमा प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई राउतले दोब्बर मतले पराजित गरेका थिए ।

तर, पछिल्लो समय उनले आफ्नो वैचारिक अभियान र संगठनात्मक पक्षलाई बलियो बनाउन नसकेका कारण मत परिणाम फरक हुनसक्ने अनुमान पनि गर्न सकिन्छ । यहाँ उठेका यादव बारा जाने चर्चा छ । यसो भएमा सीकेले फेरि चुनाव जित्ने आधार त्यही हुन सक्छ ।

सुनसरी– १
जसपा– अशोककुमार राई, १७ हजार ५९
रास्वपा– गोमा तामाङ, १६ हजार ६०६
माओवादी– मुक्सामहाङ्ग सुब्बा, १३ हजार ७८
राप्रपा– अशोककुमार राई, ७ हजार ८४

यस निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूले पनि राम्रो मत प्राप्त गरेका थिए ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ पछिल्लो राष्ट्रिय राजनीतिमा चर्चाका पात्र बनेका छन् । उनले पूर्वका केही जिल्लामा राम्रो जनप्रदर्शन पनि गरिरहेका छन् ।

फागुन २१ गते हुने निर्वाचनमा साम्पाङले सुनसरी १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन लागेका साम्पाङको निर्वाचन क्षेत्रमा ०७९ मा जनता समाजवादी पार्टी (जसपा) नेता अशोक राईले जित हासिल गरेका थिए ।

स्वतन्त्र उम्मेदवारहरूले पनि राम्रो मत प्राप्त गरेको उक्त निर्वाचन क्षेत्रमा रास्वपा र माओवादी मुख्य प्रतिस्पर्धीका रूपमा थिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १ : ५१ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली