काठमाडौं– उम्मेदवारी दर्ता सकिएसँगै चुनावी सरगर्मी बढेको छ । चिया पसल र चौतारीदेखि सामाजिक सञ्जालसम्म चुनावी चर्चा चुलिएको छ ।
मतदाताहरू धमाधम चुनावलक्षित गरेर आफूलाई राजनीतिक कित्तामा खुलाइरहेका छन् । सबै निर्वाचन क्षेत्रका उम्मेदवार र राजनीति संगठन चुनाव प्रचारमा लागिसकेका छन् ।
सामाजिक सञ्जालमा केही निर्वाचन क्षेत्र र केही उम्मेदवारको चर्चा विशेष ढंगले चुलिएको छ । जसमध्ये एउटा हो, नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रेनु दाहाल र रास्वपाकी नेतृ सोविता गौतमले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र चितवन ३ ।
सामाजिक सञ्जालमा दुई जना उम्मेदवारबीचको प्रतिस्पर्धा भनिए पनि दलगत जनाधारका हिसाबले हेर्दा भने कांग्रेसका टेकप्रसाद गुरुङ, एमालेका शंकरराज थपलिया र राप्रपाका दीपक थापा पनि बलिया उम्मेदवार हुन् ।
तर, चितवन ३ को निर्वाचनमा कसले जित हासिल गर्ने भनेर दर्जनौँ फेसबुक पेजहरूमा मत विभाजन भइरहेको देखिएको छ । जसमा अभिमतकर्ताहरूले ‘नो सोविता वा नो रेनु’ जस्ता शब्दमा आफ्नो अभिमत राखेका छन् । सामाजिक सञ्जालमा भइरहेको मत अभिमतमा भने अन्य दलका उम्मेदवार छायामा परेको देखिन्छ ।
पछिल्लो समय अधिकांश मानिसहरू आफ्नो फुर्सदको समय वा कामसँगै पनि सामाजिक सञ्जालमा जोडिइरहेका हुन्छन् । जहाँबाट उनीहरूले आफ्नो व्यक्तिगत, सामाजिक, राजनीतिक लगायतका विचार तथा दृष्टिकोण सार्वजनिक गर्छन् ।
समाजमा कति मान्छेहरूले आफ्नो दृष्टिकोण आफैं निर्माण गर्छन् त कति मान्छेले अरुको सहायतामा । केही मान्छेहरूले भने भीड, बल, प्रचार, निन्तर जस्ता विषयबाट प्रभावित भएर पनि आफ्नो विचार निर्माण गरेको वा बदलेको पाइन्छ ।
प्छिल्लो समयमा सामाजिक सञ्जालमा सेट गरिएको ‘अल्गोरिदम’को कारणले मानिसहरू बढी प्रभावित भइरहेका छन् । अल्गोरिदमले उनीहरूको विचार निर्माणको प्रक्रिया र विचारलाई एक तहमा निर्णायक ढंगले प्रभावित बनाइरहेको छ ।
सामाजिक सञ्जाल टिकटक, फेसबुक र ट्वीटरमा अरूलाई छाडेर चितवन लक्षित भइरहेको अभिमतलाई हेर्दा चुनावको नतिजाबारे केही नजिकको पूर्वअनुमान गर्न सकिने पनि देखिन्छ । तर, वास्तविकतामा कस्तो होला चितवन ३ को आगामी चुनाव?

स्थानीय तहको नतिजा ?
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकाको पूरै भाग र भरतपुर महानगरपालिकाको १९ वटा वडा (६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८) पर्छन् ।
०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा चितवन ३ मा अन्तर्गत पर्ने स्थानीय तहमध्ये भरतपुर महानगर प्रमुखमा कांग्रेसको समर्थनमा माओवादी केन्द्रको तर्फबाट रेनु दाहालले विजयी भएकी थिइन् । माडी नगरपालिकाको प्रमुखमा एमालेका ताराकुमारी काजी महतोले बाजी मारेकी थिइन् ।
तर, वडागत हेदा माडीमा नेकपा र भरतपुरमा कांग्रेस–एमालेको बर्चस्व देखिन्छ । ०७९ को स्थानीय तहको निर्वाचनमा अहिलेको माओवादी र एकीकृत समाजवादीसहितको नेकपाले कांग्रेसको समर्थनमा माडी नगरपालिकामा ९ मध्ये ६ वटा वडा जितेको थियो । कांग्रेसले अन्य दलको समर्थनमा पनि एउटा वडा जित्न सकेको थिएन ।
उक्त निर्वाचनमा माडीका अधिकांश वडामा एमाले प्रतिस्पर्धी पार्टीका रूपमा थियो ।
तर, क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर नगरपालिकाका अधिकांश वडामा माओवादी र केही वडामा समाजवादीको समर्थनमा कांग्रेसले १५ वटा वडामा विजय हासिल गरेको थियो । तीमध्ये अधिकांश वडामा एमाले प्रतिस्पर्धी थियो ।
भरतपुर महानगरको प्रमुखमा कांग्रेसको समर्थनमा रेनु दाहाल ५२ हजार २८ मत ल्याएर विजय भएकी थिइन् । जहाँ प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत ल्याए । कांग्रेसकै बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत ल्याएका थिए ।
तर, मतदातामा मतदान गर्ने क्रममा स्थानीय तह र संघमा फरक दल र उम्मेदवारलाई मतदान गर्ने प्रवृत्ति पनि छ । जसको उदाहरण मुलुकभरका धेरै निर्वाचन क्षेत्रमा देख्न सकिन्छ ।
स्थानीय तहको निर्वाचनलगत्तै मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा पनि कांग्रेस–माओवादीले र एमाले–राप्रपाले गठबन्धन गरेका थिए । उक्त निर्वाचनमा चितवन ३ बाट एमालेको समर्थनमा राप्रपाका विक्रम पाण्डेले ३५ हजार ६० मत ल्याएर विजयी भएका थिए ।
त्यस्तै, उक्त निर्वाचनमा कांग्रेसको समर्थन पाएका माओवादी उम्मेदवार भोजराज अधिकारीले २५ हजार ८२४, रास्वपाकी जिता बरालले १४ हजार ८४३ र कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत ल्याए ।
०७९ को स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय तहको निर्वाचनमा दलहरूले गठबन्धन गरेकाले चितवनमा कुनै पनि दलको एकीन मत भन्न सकिने अवस्था रहँदैन ।
तर, ०७४ को तुलनामा ०७९ को निर्वाचनमा भने भरतपुरकी मेयर दाहालले झण्डै १२ हजार मत बढाउन सफल भएकी थिइन् । जबकी ०७९ मा भएको निर्वाचनमा कांग्रेसको तर्फबाट बागी उम्मेदवार पनि थिए तर ०७४ को निर्वाचनमा त्यस्तो अवस्था थिएन ।

यसरी हुन सक्छ निर्णायक
चितवन ३ को निर्वाचनलाई केही महत्वपूर्ण पक्षले निर्णायक बनाउन सक्ने देखिएको छ । गठबन्धन, ह्वीम र विकासको प्रश्न चितवनको निर्वाचमा प्रभाव पार्न सक्ने महत्वपूर्ण पक्षको रूपमा देखिएका छन् ।
पहिलो, यसपटकको निर्वाचनमा राजनीतिक दलले आफ्ना उम्मेदवारलाई बिनागठबन्धन मैदानमा उतारेका छन् । जसले गर्दा यसपटकको निर्वाचनमा दलीय मत अन्य दलमा कम जानसक्छ भनेर अनुमान गर्न सकिन्छ ।
त्यसरी हेर्दा चितवनमा दुई दलको बीचमा मात्रै नभएर ५ दलको बीचमा नै सघन प्रतिस्पर्धा हुनसक्छ भनेर भन्न सकिन्छ ।
०७९ मा भएको सबै तहको निर्वाचनको मतपरिणामलाई लिएर दलीय जनाधारको कोणबाट भरतपुर महानगरको जनमत हेर्दा र समाजवादी पनि एकता भएको र माडी नगरको आधारमा हेर्दा यसपटकको निर्वाचनमा कांग्रेस, एमाले र नेकपाको उम्मेदवार मुख्य प्रतिस्पर्धी हुन भनेर भन्न सकिन्छ ।
दोस्रो, पछिल्लो समयमा मुलुकमा रास्वपाको पक्षमा ह्वीमा आएको छ भनेर प्रचार भइरहेको छ । त्यस्तो ह्वीमलाई मतदाताले कसरी लिन्छन् त्यो महत्वपूर्ण विषय हो ।
यदि साँच्चिकै रास्वपाको पक्षमा भनिएको ह्वीममा आममतदातामा पनि सकारात्मक भए चितवन ३ रास्वपाको पक्षमा जान सक्छ भनेर मान्नुपर्ने हुन्छ ।
त्यस्तो अवस्थामा दलीय मतको आधारमा मुख्य प्रतिस्पर्धामा देखिएका कांग्रेस, एमाले, नेकपा र राप्रपाको मत रास्वपाले कति तान्न सक्छ भन्ने कुराले निर्वाचनलाई निर्णायक बनाउने छ ।
तेस्रो, चितवनको निर्वाचनमा पछिल्लो समयमा सिर्जना गरिएको एउटा बहस हो, विकास । ०७४ सालमा रेनु भरतपुरको प्रमुखमा निर्वाचित भइसकेपछि पछिल्लो ९ वर्षमा त्यस क्षेत्रको भौतिक पूर्वाधार विकासमा ठूलो प्रगति भएको दाबी गरिएको छ । कतिपय आँकडाहरूले पनि त्यो देखाएका छन् ।
विगतको चितवनलाई पछिल्लो अवस्थाको बनाउन नेतृत्वको भूमिका महत्वपूर्ण रहेको भन्दै विशेषगरी नेकपाले सिर्जना गरेको बहस पनि आगामी निर्वाचनमा महत्वपूर्ण हुनसक्छ ।
चौथो, रेनु विगत १० वर्षदेखि भरतपुरमै बसेर काम गरिरहेकी छन् । उता सोविता भने २०७९ सालमा जितेको काठमाडौं छाडेर चितवन ओर्लिएकी हुन् । चितवनकै व्यवसायीसँग बिहे गरेकी उनले आफ्नो चुनाव क्षेत्र पनि उतै सारेकी हुन् ।
एकातिर चिवतनमै बसेर काम गरेकी रेनु र अर्कातिर यसै पटक त्यहाँ पगेकी सोविताबीचको प्रतिस्पर्धा रोचक हुन सक्छ । सोवितालाई चितवन २ बाटै उठ्ने सभापति रवि लामिछानेको पनि भर छ ।
रास्वपाले पहिलो चुनावमै कांग्रेस र एमालेको गढ चिवतनलाई आफ्नो पोल्टामा पारेकाले यस पटक पनि त्यो कथा दोहोरिन सक्ने सम्भावना बलियो । सोविताले रास्वपाप्रति सामाजिक सञ्जालमा देखिएको लहरलाई भोटमा परिणत गर्न भने राम्रै मिहिनेत गर्नुपर्ने अवस्था छ ।
एकातिर रेनुको कामको प्रभाव र अर्कातिर रास्वपाको पक्ष्मा आएको ह्वीमलाई चितवन ३ का मतदाताले कसरी लिएका होलान्, त्यो मत परिणामले देखाउनेछ । साँचिच्कै रेनुसम्वद्ध नेकपाले छेडेको विकासको बहसकै आधारमा चितवन प्रभावित भए रास्वपाको ह्वीमलाई धक्का दिँदै दलीय मत रेणुतर्फ ट्रान्सफर नहोला भन्न सकिँदैन ।













प्रतिक्रिया