काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक उम्मेदवार ज्ञानेन्द्र मल्लले मैदान फेरिए पनि लक्ष्य उही भएको बताएका छन् ।
देशको भविष्य प्रति सबै जिम्मेवार रहेको भन्दै उनले फरक पृष्ठभूमिबाट आए पनि सपना एउटै भएको बताएका हुन् । यो एक्लो यात्रा नभएर सबैको संकल्प भएको उनको भनाइ छ । उनले खेलकुदमा जस्तै राजनीतिमा पनि साथ र सुझाव मिल्ने विश्वास लिएका छन् ।
‘यो देश हाम्रो हो। यसको भविष्य पनि हाम्रो जिम्मेवारी हो। हामी फरक पृष्ठभूमिबाट आएका हुन सक्छौं, तर सपना एउटै हो- सम्मानित, सक्षम र आत्मनिर्भर नेपाल’, उनले भनेका छन्, ‘यो मेरो एक्लो यात्रा होइन, यो हामी सबैको साझा संकल्प हो। मलाई विश्वास छ, हिजो जस्तै आज पनि मलाई तपाईंहरूको साथ र सुझाव मिल्नेछ ।’
रास्वपाले आगामी निर्वाचनमा समानुपातिक उम्मेदवार बनाएको र अवसर दिएको भन्दै उनले धन्यवाद दिएका छन् । खेलाडीलाई अवसर थोरैले मात्र दिने भन्दै उनले रास्वपाप्रति आभारी प्रकट गरेका हुन् ।
नेपाली क्रिकेट टोलीको सहायक प्रशिक्षकको भूमिकाबाट नैतिकताको आधारमा बिदा लिएको जानकारी गराउँदै उनले खेल जीवन अभिन्न हिस्सा भए पनि अब देशलाई अर्को रुपमा सेवा गर्ने अवसर आएको बताए।
युवाको सपना र सम्भावनालाई सही दिशा दिन सबैको साथ अनिवार्य भएको उनको भनाइ छ । उनले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत पदका लागि भन्दा आगामी पुस्ताका लागि भएको बताएका छन् ।
‘यो यात्रा मेरो व्यक्तिगत पदका लागि होइनस हाम्रा आगामी पुस्ताका लागि हो, ती युवाहरूका लागि हो जसले एउटा सुन्दर र समृद्ध नेपालको सपना देखेका छन्। परिवर्तनका लागि हाम्रा युवाहरूले गरेका त्याग र बलिदानलाई सार्थक बनाउनु हामी सबैको साझा जिम्मेवारी हो’, उनले फेसबुकमा लेखेका छन्, ‘आउनुहोस्, हामी एकजुट बनौं। हिजो जस्तै आज पनि मलाई विश्वास र साथ दिनुहोस्।’













प्रतिक्रिया