उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण « Khabarhub

उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले मंगलबार समुद्रतर्फ अज्ञात प्रकारको क्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले प्रमुख राजनीतिक बैठकको तयारी गरिरहेका बेला आफ्ना प्रतिद्वन्द्वीहरूसँगको वैमनस्य थप चर्काउँदै सम्भावित हतियार परीक्षण गरेको आशंका गरिएको छ ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार उक्त प्रक्षेपण मंगलबार उत्तर कोरियाको पूर्वी तटबाट गरिएको हो । मन्त्रालयले जारी गरेको संक्षिप्त विज्ञप्तिमा प्रक्षेपण गरिएको वस्तु मिसाइल हो वा तोपखानासम्बन्धी कुनै हतियार हो भन्ने कुरा स्पष्ट गरिएको छैन । त्यस्तै, प्रक्षेपण कति टाढासम्म पुगेको थियो भन्ने विवरण पनि तत्काल सार्वजनिक गरिएको छैन ।

यस प्रक्षेपणअघि उत्तर कोरियाले जनवरी र त्यसअघि सेप्टेम्बरमा सीमापार दक्षिण कोरियाली निगरानी ड्रोन उडेको आरोप लगाउँदै हालै प्रतिशोधको चेतावनी दिएको थियो । 

तर दक्षिण कोरियाली सरकारले उत्तर कोरियाले दाबी गरेको समयमा आफ्नातर्फबाट कुनै पनि ड्रोन उडान नगरिएको स्पष्ट पारेको छ । साथै, ती ड्रोन सर्वसाधारणले सञ्चालन गरेको हुनसक्ने सम्भावनाबारे पनि छानबिन सुरु गरिएको जनाएको छ ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले उठाएको ड्रोनसम्बन्धी आरोप सम्भवतः जनवरीको अन्त्य वा फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको सत्तारूढ वर्कर्स पार्टीको महत्त्वपूर्ण सम्मेलनअघि दक्षिण कोरियाविरोधी भावना चर्काउने उद्देश्यले गरिएको हुनसक्छ ।

विश्लेषकहरूको भनाइमा, उक्त सम्मेलनका क्रममा नेता किम जोङ उनले कोरियाली प्रायद्वीपमा शत्रुतापूर्ण ‘दुई–राज्य’ प्रणालीको अवधारणालाई पार्टीको संविधानमा औपचारिक रूपमा समावेश गर्नसक्ने सम्भावना छ । यो पाँच वर्षमा आयोजना हुन लागेको पार्टीको पहिलो ठूलो सम्मेलन हुनेछ ।

यसै महिनाको सुरुमा उत्तर कोरियाले हाइपरसोनिक मिसाइलको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेको थियो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किमले ती प्रक्षेपणहरू स्वयं अवलोकन गरेका थिए र देशको आणविक युद्ध प्रतिरोध क्षमतालाई अझ सुदृढ बनाउनु आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

यसअघि, उत्तर कोरियाले डिसेम्बर महिनामा लामो दूरीका रणनीतिक क्रुज मिसाइल तथा नयाँ एन्टी–एयर मिसाइलहरू प्रक्षेपण गरेको थियो । साथै, उसले पहिलो पटक आफ्नो आणविक–सञ्चालित पनडुब्बी निर्माण भइरहेको स्पष्ट देखिने तस्बिरहरू सार्वजनिक गरेको थियो ।

विश्लेषकहरूले उत्तर कोरियाले आगामी पार्टी सम्मेलनअघि हतियार विकास क्षेत्रमा हासिल गरेका उपलब्धिहरू देखाउने वा तिनको समीक्षा गर्ने उद्देश्यले यस्ता गतिविधि तीव्र बनाएको बताएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ४ : ३४ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री