काठमाडौं – टेकबहादुर तामाङ पूर्वएआईजी हुन् । ०५२ सालमा इन्सपेक्टर पदबाट प्रहरी सेवामा प्रवेश गरेका उनी ३० वर्षे हद म्यादले केही महिनाअघि सेवा निवृत्त भए ।
स्वतः अवकास हुनअघि तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्चार्ज थिए । एआईजी बनेर प्रहरी सेवाबाट बिश्राम लिए ।
उनी भन्छन्, ‘एक पटकको प्रहरी सधैँ प्रहरी हुने रहेछ । म प्रहरी संगठनबाट भौतिक दूरीमा मात्रै हो ।’
तामाङ प्रहरीमा रहँदा देशमा विभिन्न घटना भए । ती मध्ये प्रमुख हुन्– माओवादी युद्ध, संविधानसभा चुनाव, नाकाबन्दी र ०७२ को विनाशकारी महाभूकम्प ।
देशमा यस्ता उथलपुथ भए । प्रहरी अधिकारीका रुपमा यी मुख्य घटना उनी दैनिक १८ घण्टासम्म व्यस्त रहे ।
भन्छन्, ‘पहिला नेपाल बन्द खुबै हुन्थ्यो । त्यो समयमा दैनिक २० घण्टा निरन्तर ड्युटी गरेको क्षण पनि छ ।’
प्रहरी अफिसर त्यसै पनि व्यस्त हुन्छ । शान्ति–सुरक्षाको जिम्मेवारी पाएपछि प्रहरी संयन्त्र चुस्त राख्नै पर्यो । नेतृत्व व्यस्त नहुने कुरै भएन ।
तर, यस्तो व्यस्त जागिरको बाबजुद पनि तामाङको साहित्यिक मोह गज्जब देखिन्छ । प्रहरी सेवामा रहँदा उनले तीन किताब, भजन, चार एल्बम र एक हजार बढी गीत लेखे ।
उनी भन्छन्, ‘मेरो एक सय जति गीत रेकर्ड भएको छ । ३०० जति गीत पुस्तकमार्फत् सार्वजनिक भए र बाँकी प्रकाशनका लागि तयार छन् ।’
उनका प्रकाशित किताबहरु ‘माटोको आवाज’, ‘नेपाल आमा’ र ‘भजन संग्रह’ हुन । गीत एल्बमहरु ‘स्वदेश’, ‘आमा’, ‘जीवनसाथी’ र ‘नाता’ हुन् ।

दीप श्रेष्ठदेखि रवि ओडसम्म सहकार्य
तामाङले लेखका गीतहरु वरिष्ठदेखि अहिले प्राइममा रहेका गायक-गायिकाले पनि गाएका छन् ।
उनको गीत गाउने सबैभन्दा पाका कलाकार गायक तथा संगीतकार दीप श्रेष्ठ हुन् ।
राजेशपायल राई, रामकृष्ण ढकाल, अञ्जु पन्त, सत्यराज आचार्य र स्वरुपराज आचार्यसँग उनीहरु प्राइममा रहँदा तामाङले सहकार्य गरे ।
पछिल्लो पुस्ताका गायक रवि ओड र अनु चौधरीसम्म पनि उनी सहकार्य गर्न भ्याएका छन् ।
उनको हकमा पनि ‘गीतकार सधैँ छायाँमा पर्छ’ भन्ने भाष्य लागु हुन्छ । अर्थात् गीतहरु चल्दा पनि उनी चर्चामा छैनन् ।
तामाङ भन्छन्, ‘संगीतकारको चर्चा नहुने कुरा सत्य हो । यो प्रायःमा लागु छ । अझ अहिले त गायकको पनि चर्चा हुँदैन । भिडियोमा फिचर्ड मोडल चर्चामा रहन्छन् । तर, गीतमा लगानी भने गीतकारको हुन्छ ।’
दर्शकले सर्वाधिक रुचाएको उनको गीत ‘जित्नेहरुको पनि हजार हार हुन्छन’ हो । उनी भन्छन्, ‘अहिले गीतको चर्चा टिकटकमा हुन्छ । मेरो सबैभन्दा बढी टिकटक बनाइएको गीत यही हो ।’
यसको गायक सत्यराज हुन् । भिडियोमा सरोज खनाल फिचर्ड छन् ।
उनलाई आफूले लेखेको गीतहरुमा कालजयी बन्ने आश भएको पनि यही हो । आफूले लेखेको उनको व्यक्तिगत प्रिय गीत भने ‘नजिक यति भएर पनि टाढा भयौं तिमी’ हो । यसको गायिका मेलिना राई हुन् ।

मोह साहित्य, पढाइ इन्जिनियरिङ, जागिर प्रहरी
भोजपुरमा जन्मे हुर्केका तामाङ आफ्नो साहित्यप्रतिको झुकावको कारक रेडियो नेपाल र एसएलसीको ६ महिने बिदा मान्छन् ।
बाल्यकालमा रेडियो नेपालमा बज्ने गीतहरुले आकर्षित गरेकाले यसतर्फ रुचि बढेको उनी सम्झन्छन् ।
सेयर गर्छन्, ‘गीत सुन्ने एक मात्रै माध्यम रेडियो नेपाल थियो । धेरै गीतका भाव बुझिदैन थियो । भाव बुझ्ने गीत बज्दा निकै चासोले सुन्थेँ । भाव नबुझन्ने गीतहरुले मनोरञ्जन चाहिँ दिन्थ्यो ।’
एसएलसीको लामो बिदामा साहित्यका किताबहरु पढ्दा उनी झन् लेखनमा मोहित भए ।
भन्छन्, ‘मलाई ती किताबहरु पढ्दा साहित्यिक सिर्जनाले मान्छेलाई अमर बनाउने रहेछ भन्ने भयो । मलाई पनि लक्ष्मीप्रसाद देवकोटा जस्तै लेख्ने मान्छे बन्ने लोभ पैदा भयो । यही मोहलाई मैले निरन्तरता दिएको हो ।’
लेखनलाई पूर्णकालीन पेसा बनाउन उनले सोचेनन् । एसएलसी सकेर पढ्न काठमाडौं आए । डिप्लोमा इन्जिनियरिङ गरे ।
खानेपानीमा जागिर खाँदै गर्दा प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि उनले सोच बदले ।
इञ्जिनियरिङ पृष्ठभूमिको व्यक्ति प्रहरीमा आउनुको कारणबारे उनी भन्छन्, ‘यूएन मिसनहरु जान पाइने भएकाले मेरो रुचि प्रहरीमा भयो ।’

कलम र हतियारको समायोजन
कलम र हतियार हाम्रो समाजमा विपरीत ध्रुवका रुपमा स्थापित छ । उदाहरण स्कुलको नेपाली किताबमै छ । जहाँ वादविवाद गराइन्छ, ‘कलम ठूलो कि हतायार ?’
दुवैको विशेषता फरक छन् । जबकि यी दुवैको महत्त्व उत्तिकै छ । यो वादविवादमा कलमको पक्ष लिने बौद्धिकता र हतियारको पक्ष लिनेले भौतिक बलबारे तर्क गर्छन् ।
तामाङ नोकरीकालमा यी दुवै पक्षलाई समायोजन गरेर बढे ।
प्रहरीको जागिरमा भौतिक बलमा अभ्यास बढी हुन्छ । कलमबाट यो पेसा अछुतो भने छैन ।
तामाङ आफैं भन्छन्, ‘बाहिरबाट हेर्दा प्रहरी डन्डा चलाउने, भीड नियन्त्रण गर्ने, गुण्डागर्दी गर्नेविरुद्ध भिड्ने र कठोर नै देखिन्छ । यो भौतिक पक्षसँग जोडिन्छ । जसलाई बिम्बात्मकरुपमा हतियार भन्दा फरक नपर्ला ।’
तर, प्रहरी संगठनमा कलमको स्थान हतियारको भन्दा कम नभएकामा उनी स्पष्ट छन् । ‘कानुन कार्यान्वन पक्षको कलम नभइ सम्भव छैन’ उनी भन्छन् ।
तर, उनले कलमको मजबुज पाटो साहित्यलाई गति दिए । ज्यानकै जोखिम हुँदाका जागिरेकालमा पनि उनले साहित्यबाट दूरी राखेनन् ।
यसको उदाहरण दर्शकमाझ नै छ । त्यो गीत हो, ‘जन्मे खेली हुर्कें आमा’ ।
यो गीत लेख्दाको पृष्ठभूमि उनी सेयर गर्छन्, ‘देश माओवादी युद्धमा थियो । कति प्रहरी साथीहरुले सहादत प्राप्त गरे । कति बेला ज्यान जाने हो भन्ने जोखिममै बोकेर हिँड्नुपर्थ्यो । औंशीको रातमा अझ डर हुन्थ्यो । जुनेली रातमा अलि परसम्म देखिने भएकाले केही राहत महसुस हुन्थ्यो । त्यो समयमा मैले उक्त गीत लेखेको हुँ ।’
यसरी तामाङले हतियार र कलमलाई समायोजन गरे । यस्ता विषम परिस्थितिमा पनि कलम चलाएर धेरै भावनलाई सिर्जनाको रुप दिएका छन् ।
तर, आफ्ना धेरै सिर्जना फुर्सदको सदुपयोग नै रहेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘इच्छा हुनुपर्छ समय हुन्छ । सधै देशको अवस्था असमान्य हुँदैन । सामान्य हुँदा नियमित कार्यालयको बाहेकको समय लेख्न सकिन्छ । मैले त्यही जागिर बाहेकको समय सदुपयोग गरेँ । अफिसको काम छोडेर कुनै पनि सिर्जना छैन ।’
प्रहरी जनतासँग प्रत्यक्ष जोडिने पेसा भएकाले साहित्यमा थप सहयोग हुने उनको अनुभव छ ।
उनी स्पष्ट पार्छन्, ‘साहित्य भनेको समाजको ऐना हो । जनताको हरेक दुखमा प्रहरी जोडिन्छ । प्राकृतिक प्रकोप होस्, राजनीतिक उतारचढाव वा शान्तिको पक्षमा नै किन नहोस् । यी घटनामा साहित्यको चेत राख्ने कमलले रोजगार पाउँछ ।’

डन्डा बिसाएपछि कलमले थप रोजगार पायो ?
सेवा निवृत्त भएपछि तामाङ जागिरे जिम्मेवारीबाट मुक्त छन् । तीन दशकको सबैभन्दा प्राथमिकतामा राखेको ड्युटी समयलाई अहिले फुर्सदमा गणना गर्न मिल्छ ।
उनी साहित्यिक रुपमा पनि स्वतन्त्र छन् । प्रहरी संगठनको आचरणबाट उनी मुक्त छन् । अब उनले चाहेको खण्डमा जुनै भावना सिर्जनामा बदल्न सक्छन् ।
तर, उनी भन्छन्, ‘एक समयको प्रहरी सधैँ प्रहरी हो । मैले मेरो स्वतन्त्रतालाई सिर्जनाका नाममा अराजक प्रेरित हुन दिनु हुँदैन भन्ने चेत छ ।’
लेख्नका लागि पर्याप्त समय भने निस्किएको बताउँछन् । तर, समय अभावले रिटायर्ड भएपछि लेख्छु भनेर राखेको भावना आफूसँग नभएको उनी बताउँछन् ।
भन्छन्, ‘अझै साहित्यमा केही बुँदा थप्ने प्रयास छ । लेखिरहेको हुन्छु । अरुको सिर्जना पढेको पनि हुन्छु । समयको स्वतन्त्रता भने पक्कै छ । केही सिर्जनाहरु चाँडै प्रकाशन हुन्छन् ।’













प्रतिक्रिया