काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला ?
हाम्रा फिल्म मेकरहरू पनि चर्चित प्रोफाइल भएकालाई नायक–नायिका बनाउन प्रस्ताव लगिहाल्छन् । यो घानमा पछिल्लो समय टिकटकरहरू बढी समेटिएका छन्। तर, गायकहरूको पनि फिल्ममा रुचि कम देखिँदैन।
चर्चित हुँदैमा फिल्ममा जम्न सकिँदैन। अरू क्षेत्रमा जस्तै फिल्ममा ख्याति कमाउन आफ्नै संघर्ष छ। त्यसैले अनुभवी मेकरहरू भन्छन्, ‘फिल्म खेल्नुभन्दा ठूलो कुरा यहाँ टिक्नु हो।’
नेपाली गीतबाट गायनमा प्रवेश गरेका भारतीय गायक उदित नारायण झाले पनि फिल्ममा अभिनय गरे। उदितको अभिनय रहेको पहिलो फिल्म ‘कुसुमे रुमाल’ हो । उनले सन् १९९० मा प्रदर्शनमा आएको ‘पिरती’ मा पनि अभिनय गरेका छन् ।
यहाँ चर्चा गर्न खोजिएको हो– उदितले अभिनयलाई निरन्तरता दिन सकेनन् । त्यो अभिनय यात्रालाई हाल उदित नराम्रो सपना ठानेर सम्झिन चाहन्छन् ।
तर, गायनमा ख्याति कमाएर ठूलो पर्दाको अभिनयमा होमिनेको संख्या कमी छैन। यसको सूची लामै छ।
बग्रेल्ती उदाहरण हुँदा पनि गायकहरू ठूलो पर्दामा होमिएकै छन् । गायक प्रकाश दुतराज पनि फिल्म डेब्यूको तयारीमा छन् । उनी पछिल्लो उदाहरण मात्र हुन् । फेरि उनी अभिनयमा सफल हुँदैनन् भन्ने दाबी गरेको सन्देश नजाओस् । उनले अभिनयमा आफूलाई प्रमाणित गर्न सक्छन् ।
विगत हेर्दा, गायनमा सफल भए पनि अभिनयमा भने लगभग सबै फ्लप छन् । अपवाद बनेका रोबिन तामाङ हुन् । गायन करिअरमा सफल उनले ‘छड्के’ फिल्मबाट अभिनयमा डेब्यू गरे।

तामाङको गायन करिअर सन् १९९६ पछि गतिमा आएको हो । ‘छड्के’ सन् २०१३ मा प्रदर्शनमा आएको थियो । उनलाई फिल्मबाट चिन्ने र फ्यान बन्नेहरू पनि छन् । फिल्ममा उनी खलपात्रका रुपमा स्थापित भए ।
गायन पृष्ठभूमिबाट ठूलो पर्दामा छिरेका अर्का सफल कलाकार नायक भुवन केसी हुन् । तर, उनी सफल गायक होइनन् । उनी गायकका रूपमा व्यावसायिक करिअर नरोजेका पात्र हुन् ।
रामकृष्ण र राजेश पायल
गायनमा सफल बनेपछि गायक रामकृष्ण ढकालले अभिनयमा प्रयास गरे । एक दर्जन बढी फिल्ममा पार्श्व गायनपछि उनले अभिनयमा अभ्यास गरे। उनी लिड नायक रहेको फिल्म ‘आशीर्वाद’ सन् २००१ मा प्रदर्शनमा आएको थियो।
जसबेला रामकृष्ण गायनबाट चर्चाको शिखरमा थिए । उनी फिल्ममा जम्न सकेनन् । त्यसयता उनी ठूलो पर्दामा देखिएका छैनन्। अहिले उनी फिल्म ‘मालती मङ्गले’ निर्माण गर्दैछन् ।
करिब ८ दर्जन फिल्ममा पार्श्व गायनपछि राजेश पायल राईले फिल्म ‘गुण्डाराज’ मा अभिनय गरे । सन् २००५ मा प्रदर्शनमा आएको यो फिल्मबाट राजेशले अभिनयमा आफूलाई प्रमाणित गर्न सकेनन् । त्यसपछि सन् २०१३ मा प्रदर्शनमा आएको फिल्म ‘सी माला’ मा पनि उनी देखिएका थिए।

प्रसङ्ग निस्कँदा राजेश भन्छन्, ‘म अभिनयका लागि जन्मिएको मान्छे नै होइन रहेछु।’ हुन पनि गायनमा उनी सदाबहार हिट छन् । धेरै दर्शकलाई उनले फिल्म खेलेको नै थाहा छैन ।
तीन दशकदेखि गायनमा रहेका र आजको दिनमा पनि चर्चामा रहेका राजेश र रामकृष्णलाई फिल्म फापेन।
भाइरल दुर्गेश पनि फ्लप
अहिले गायक दुर्गेश थापा जति व्यस्त को होला ? मेला महोत्सवमा उनको माग यस्तो छ– हेलिकोप्टर चढेर पुग्छन्।
दुर्गेश पनि एक फ्लप फिल्म ‘मखमली’ का नायक हुन्। यो फिल्म सन् २०१६ मा प्रदर्शनमा आएको थियो । दुर्गेशको गीत ‘यो यो यो दुर्गेश थापा हो’ यही फिल्ममा समावेश छ।

त्यसपछि दुर्गेश फिल्ममा देखिएका छैनन् । तर, अहिले परिवेश फेरिएको छ। दुर्गेश चर्चामा रहेका कारण फिल्मका प्रचार गीतमा उनको माग बढ्दो छ ।
फिल्म ‘छ माया छपक्कै’ र गत वर्ष प्रदर्शनमा आएको ‘कर्मा’ को प्रचार गीत उनले गाएका थिए । गीतको भिडियोमा उनी फिचर्ड छन्।
अरू को–को छन् ?
गायनमा मजबुत स्थान बनाएका गायक प्रशान्त तामाङ पनि फिल्ममा जम्न सकेनन् । उनको अभिनय रहेको फिल्म ‘परदेशी’ र ‘गोर्खा पल्टन’ व्यापारिक रूपमा सफल भए । तर, उनले अभिनय यात्रालाई निरन्तरता दिन सकेनन् ।
गायक यश कुमारले पाँच फिल्ममा अभिनय गरे। उनी पनि फिल्ममा जम्न सकेनन् । गायनमा उनको उचाइ राम्रो छ। अहिले उनी गायनमै सक्रिय छन् ।
आधा दर्जन फिल्म गरेका बाबु बोगटी पनि अभिनयमा जम्न सकेनन् । उनको अभिनय करिअर गायनले नै ओझेलमा पार्छ।
र्याप ब्याटलबाट चर्चामा आएपछि आशिष राना ‘लाहुरे’ ले पनि फिल्म गरे । डेब्यू फिल्म ‘ताण्डव’ नै फ्लप भयो । त्यसयता उनी फिल्मबाट हच्किएका छन् । उनले केही अन्तर्वार्तामा भनेका छन्, ‘अभिनय फरक कुरा हो। यो मैले नसक्ने विधा रहेछ।’
गायक सत्यराज आचार्य र प्रकाश ओझा पनि फिल्ममा जम्न नसक्नेहरूको सूचीमा पर्छन् । पछिल्लो पुस्ताका गायक रवि ओडले पनि फिल्म ‘द्रौपदी’ मा अभिनय गर्न भ्याएका छन् । उनको डेब्यू नै फ्लप भयो । यी गायकहरूको हकमा अभिनय रहरमै सीमित देखिन्छ। केहीले यो स्वीकार गर्छन्, केही भने तयार छैनन् ।
थपिए प्रकाश सपुत
अरू गायक जस्तै प्रकाश सपुत पनि प्राइममा रहँदै ठूलो पर्दामा प्रवेश गरे । उनी अभिनयमा प्रवेश गर्नुअघि भनिन्थ्यो, ‘प्रकाशले जे छोए पनि हिट।’ हुन पनि उनका सिर्जनाहरू चर्चाको शिखरमा थिए।

गत वर्षदेखि प्रकाशले पूर्णकालीन ठूलो पर्दाको यात्रा सुरु गरे। त्यसअघि नै उनले सन् २०२३ मा फिल्म ‘परदेशी २’ बाट ठूलो पर्दामा डेब्यू गरेका थिए ।
‘पूर्णकालीन’ फिल्ममा आएपछि उनी ‘पूर्णबहादुरको सारङ्गी’ मा सहायक भूमिकामा देखिए । यो फिल्म सर्वाधिक हिट बन्यो।
प्रकाशको ठूलो पर्दा मोह निर्देशन पक्षमा पनि देखियो । तर उनको डेब्यू लेखन र निर्देशन रहेको ‘वसन्त’ फ्लप भयो। त्यसयता उनी निरन्तर फ्लप छन् ।
सन् २०२५ मा ‘वसन्त’ बाहेक उनका तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’, र ‘सोल्टिनी’ प्रदर्शनमा आए । यी सबै बक्स अफिसमा फ्लप फिल्म हुन् ।
गीतबाट विश्राम लिएर ठूलो पर्दामा होमिएका प्रकाश फ्लप बनेपछि गायनमै फर्किए । कन्सर्टमा सहभागी भए । एक गीत ‘नाइँ भनेसी नाइँ’ निकाले । जुन गीत हिट बनेन ।
गत माघ १ बाट प्रदर्शनमा आएको फिल्म ‘मिरमिरे’ को प्रचारमा उनी कम देखिए । बरु त्यस लगत्तै उनी महोत्सवमा गायककै रूपमा प्रस्तुत भए। ‘मिरमिरे’ सहित जोड्दा उनका लगातार पाँच फिल्म फ्लप छन् ।
फेरि अहिले प्रकाशले नयाँ क्षेत्रमा हात हालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर उनले राजनीतिक यात्रा सुरु गरेका छन् ।
अहिलेको सन्दर्भमा उनी ‘फ्लप कलाकार’ भनेर आलोचित छन् । यही पृष्ठभूमिमा उनी राजनीतिमा प्रवेश गरेका हुन् । सोही कारण ‘चल्न छोडेपछि प्रकाश राजनीतिमा गए’ भन्ने आलोचना पनि सुनिने गरेको छ।
हेरौँ प्रकाश राजनीतिमा के सावित हुनेछन् । राजनीतिमा जानु प्रकाशको कदम जोखिम नै मान्न सकिन्छ । पार्टीको गीत गाएर गायक बद्री पंगेनी अहिलेसम्म आलोचित छन् । प्रकाश त पार्टीमै प्रवेश गरेका छन् । उनी आलोचनाबाट कसरी बच्लान् ?













प्रतिक्रिया