काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही- ४ र चितवन- ३ जस्तै तनहुँ- १ पनि चर्चामा छ । तनहुँ-१ मा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र गरी १६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराई (पानी मान्छे) दोहोरिएका उम्मेदवार हुन् । २०७९ मा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली हुँदा उनीहरू २०८० वैशाख १० गतेको उपनिर्वाचनमा पनि प्रतिस्पर्धी थिए ।
यस क्षेत्रमा वाग्ले र भट्टराईसँगै एमालेका तर्फबाट पूर्वमन्त्री भगवती न्यौपानेको दाबेदारी पनि बलियो छ । आसन्न निर्वाचनमा तीन मुख्य दलका बलिया दाबेदारबीच निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । भगवती राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभाको प्रतिस्पर्धामा उत्रिएकी छिन् ।
कांग्रेसबाट जितेका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि जीवनको झण्डै तीन दशक कांग्रेसमै खर्चिएका वाग्ले २०७९ मा टिकट नपाएपछि रास्वपा प्रवेश गरेर २०८० वैशाखको उपनिर्वाचन लड्न तनहुँ- १ पुगेका थिए । कांग्रेस छाडेर हिँडेका उनी त्यही पार्टीका भट्टराईलाई हराउन सफल भए ।
अर्थशास्त्र र राजनीति दुवैमा दख्खल राख्ने बलिया उम्मेदवार वाग्ले त्यही क्षेत्रबाट दोहोरिने तयारीमा छन् । २०८० को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भए पनि उनले मन्त्री हुन पाएनन् ।
तर यसपटक रास्वपा सभापति रवि लामिछानेले एक कार्यक्रममा अहिलेबाटै उनलाई बजेट लेखन तयारी थाल्न भनेका छन् । अर्थात् फागुन २१ को चुनावमा रास्वपा बलियो शक्ति भएका स्वर्णिमले अर्थमन्त्रालय सम्हाल्ने अवसर पाउन सक्नेछन् । त्यसका लागि रास्वपाले कि त बहुमत ल्याउनुपर्छ, कि त कम्तीमा पहिलो शक्ति हुनुपर्छ ।
२०७९ को चुनावमा उनले लोकप्रिय मतसहित निकटतम् प्रतिस्पर्धी कांग्रेसका भट्टराईलाई पराजित गरेका थिए । संसद्मा उनी प्रष्ट र वैचारिक वक्ताका रुपमा स्थापित भए ।
उनका मुख्य प्रतिस्पर्धी हुन्- उपनिर्वाचनमा चुनौती दिएका उनै भट्टराई । उनी लामो समयदेखि स्थानीयमाझ भिजेका नेता हुन् । उपचुनावमा हारको बदला लिने रणनीतिसँगै कांग्रेसको बलियो सांगठनिक प्रभाव उनले जित निकाल्ने मुख्य आधार हुन् ।
त्यसमाथि उनीसँग २०४८ सालदेखि त्यही क्षेत्रबाट चुनाव जित्दै आएका राष्ट्रपति रामचन्द्र पौडेलको विरासत पनि छ । वाग्लेलाई पराजित गर्दै कांग्रेसको विरासत फर्काउने दबाब भट्टराईमाथि छ ।
यस्तै त्यही क्षेत्रबाट राजनीतिक यात्रा सुरु गरेकी भगवती पनि मैदानमा छिन् । राष्ट्रियसभा सभा सदस्य हुँदै मन्त्री बनेकी एमालेकी न्यौपाने पनि तनहुँ–१ मा अब्बल मानिएकी छिन् । २०७४ सालमा पालिका प्रमुखमा पराजित उनका लागि यस क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ ।
न्यौपानेले २०७४ सालको स्थानीय निर्वाचनमा भानु नगरपालिकामा हार व्यहोरेकी थिइन् । वाम एकता हुँदासमेत जित हात पार्न नसकेकी उनमा यतिबेला एमाले एक्लैको बलले चुनाव जित्नुपर्ने दबाब छ ।
न्यौपाने एमाले नेतृत्वबाट अवसर पाइरहनेमध्ये एक हुन् । जसकारण पालिकामा जित हासिल गर्न नसकेकी उनलाई एमालेले २०७६ मा राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्यो । वाम गठबन्धनको जोडमा उनी निर्वाचित भएकी थिइन् ।
त्यससँगै उनी पार्टीको तर्फबाट सचेतकमा समेत नियुक्त भएकी थिइन् । राष्ट्रियसभामा प्रष्ट विचार राखेर नेतृत्वको नोटिसमा रहेकी उनी कांग्रेस-एमाले गठबन्धनपछि पुनः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेकी थिइन् । पर्साबाट निर्वाचित राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि न्यौपानेलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले मन्त्री बनाएका थिए ।
मन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेकी उनलाई अहिले रास्वपाका वाग्ले र कांग्रेसका भट्टराईलाई उछिन्दै जित हात पार्नुपर्ने दबाब छ ।
यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट विद्यानाथ ढकाल, नेकपा (माओवादी) बाट ओमविक्रम पन्त, श्रम संस्कृति पार्टीबाट काशीराम गुरुङ, आम जनता पार्टीबाट चिजामाया अधिकारी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी, मङ्गोल अर्गनाइजेशन पार्टीबाट प्रेमबहादुर थापा, उज्यालो नेपाल पार्टीबाट मञ्जिल राना, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर आले, नेपाल मजदुर किसान पार्टीबाट रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदत्त जोशी, नेशनल रिपलब्कि नेपालबाट सुमन थापा मगर पनि मैदानमा छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार लेखनाथ खनाल, सन्देश रानाभाट लौडारी र दीपकराज जोशी पनि प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनको माहोल के थियो ?
पौडेल राष्ट्रपति बनेपछि खाली उक्त क्षेत्रमा २०८० मा उपनिर्वाचन भएको थियो । जहाँ कांग्रेसले पौडेललाई जिताउन स्थानीय तहमा माहोल बनाइरहने भट्टराईलाई मौका दिएको थियो । यता रास्वपाले त्यस समय कांग्रेसको पकड रहेको ठाउँमा उसलाई हराउने रणनीतिका साथ वाग्लेलाई अघि सार्यो ।
वाग्ले त्यस समयमा कांग्रेसमा घोषणापत्र मस्यौदा गर्नेदेखि आर्थिक नीति, योजना, कार्यक्रम र वैचारिक विमर्शको जिम्मेवारीमा थिए । २०४६ देखि नै कांग्रेस आन्दोलनको अग्रपङ्क्तिमा देखिएका उनी तीन दशक संघर्ष गर्दा महासमिति सदस्यमा मात्रै सीमित थिए ।
अवसर नपाएको असन्तुष्टिका कारण वाग्लेले उपनिर्वाचनमा लामिछाने नेतृत्वको रास्वपाबाट तनहुँ–१ मा उम्मेदवारी दिए । कांग्रेसबाट चुनाव लड्ने इच्छा राख्दा राख्दै टिकट नपाएको झोँकमा उम्मेदवार बनेका उनले शानदार जीत हात पारे । उनको पक्षमा ३४ हजार ९ सय १८ मत परेको थियो ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भट्टराई भने वाग्लेभन्दा १४ हजार ७९६ मतले पछि परे । भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाए । यस क्षेत्रमा कुल ६५ हजार २९८ मत खसेको थियो ।

२०७९ को प्रत्यक्षको जोड-घटाउ
तनहुँ- १, २०४८ देखि नै कांग्रेस नेता रामचन्द्र पौडेलले जित हात पार्दै आएको क्षेत्र हो । २०७९ को निर्वाचनमा उनलाई त्यहाँका जनताले २५ हजार ३ सय १८ मत दिए ।
यस्तै उनका मुख्य प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगर १९ हजार ९ सय ४३ मतमा समेटिए । कांग्रेसबाटै बागी उठेका गोविन्दराज जोशी ६ हजार ८ सय ७८ मतसहित तेस्रो बने । यस्तै, रास्वपाका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४ सय ८३ मत पाए ।
पौडेल यहाँबाट २०४८ देखि लगातार चुनाव लड्दै आएका थिए । ०४८ मा तनहुँ– १ बाट निर्वाचित भएका पौडेल ०५१, ०५६, ०६४ र ०७९ गरी ६ पटक यहीँबाट निर्वाचित भएका थिए । ०७४ मा उनी वाम गठबन्धनका कृष्णकुमार श्रेष्ठसँग पराजित भए ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ यस क्षेत्रमा कांग्रेस २० हजार १ सय ५८ मतसहित पहिलो बन्यो । १६ हजार ६ सय ८३ मत पाएको एमाले दोस्रो र १२ हजार ७ सय ७३ मतसहित रास्वपा तेस्रो बन्यो । यस्तै, तत्कालीन माओवादी केन्द्रले ७ हजार ३ सय २६ मत पायो ।

मतदाता
यहाँ आसन्न निर्वाचनमा मतदान गर्नेको संख्या १ लाख २६ हजार ८ सय ५५ कायम छ । जसमा ६१ हजार ७ सय ५८ जना पुरुष र ६५ हजार ९७ जना महिला मतदाता छन् । यस्तै, ३ हजार ५ सय ५० जना भने थपिएका मतदाता हुन् ।
उमेर अनुसार हेर्ने हो भने, तनहुँ- १ मा युवा उमेर अर्थात्, १८ देखि ४० वर्षसम्मका मतदाता ५४ हजार ३ सय ९५ जना छन् । यस्तै, त्यस भन्दामाथिका मतदाताको सङ्ख्या ७२ हजार ४ सय ६० छ ।
तनहुँ- १ अन्तर्गत देवघाट गाउँपालिकाका सबै (५) वडा, आँबुखैरेनी गाउँपालिकाका सबै (६)वडा, बन्दीपुर गाउँपालिकाका सबै (६)वडा, भानु नगरपालिकाका सबै (१३) वडा र व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेक अन्य १२ वटा वडा समेटिएका छन् ।













प्रतिक्रिया