उत्तर कोरियाको पार्टी सम्मेलन « Khabarhub

उत्तर कोरियाको पार्टी सम्मेलन


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख राजनीतिक सम्मेलन आयोजना गर्ने भएको राज्य मिडियाले आइतबार जनाएको छ । 

उक्त सम्मेलनमा नेता किम जोङ उनले आगामी पाँच वर्षका लागि आन्तरिक तथा विदेश नीतिका प्रमुख लक्ष्य र दिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किमको उपस्थितिमा पार्टीको राजनीतिक ब्युरोको बैठक बसेको थियो र फेब्रुअरीको अन्त्यमा सम्मेलन गर्ने निर्णय गरिएको हो । यद्यपि सम्मेलनको ठ्याक्कै मिति र एजेन्डाबारे तत्काल विवरण सार्वजनिक गरिएको छैन ।

किमले यसअघि सन् २०१६ र सन् २०२१ मा यस्तै कंग्रेस आयोजना गर्नुभएको थियो । पछिल्ला वर्षहरूमा उत्तर कोरियाले तीव्र रूपमा आणविक र क्षेप्यास्त्र कार्यक्रम विस्तार गरेको छ भने युक्रेन युद्धपछि रुससँगको सम्बन्ध गहिरिँदा संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको तनाव बढेको छ ।

विश्लेषकहरूका अनुसार सम्मेलन किमको अधिनायकवादी नेतृत्वको कडाइका साथ नियोजित प्रदर्शन हुने सम्भावना छ र केही दिनसम्म चल्न सक्छ । हालै किमले हतियार परीक्षणको निरीक्षण गर्नुका साथै सैन्य र आर्थिक परियोजनाहरूको भ्रमण गरेका छन्, जसलाई राज्य मिडियाले सैन्य क्षमता सुदृढीकरण र विकासमा उनको नेतृत्वसँग जोडेर प्रस्तुत गरेको छ ।

किमले सम्मेलनमार्फत आत्मनिर्भरता र जन परिचालनमा आधारित आर्थिक विकासलाई तीव्र बनाउने योजना तथा आणविक क्षमतायुक्त सेनालाई थप विस्तार गर्ने नीति घोषणा गर्ने अनुमान गरिएको छ । यसमा परम्परागत हतियार प्रणालीको आधुनिकीकरण र तिनलाई आणविक क्षमतासँग एकीकृत गर्ने कार्यक्रम समावेश हुन सक्छ ।

विज्ञहरूका अनुसार किमले मस्को र बेइजिङसँगको नजिकको सम्बन्धमा आधारित कडा विदेश नीति पनि जोड दिनेछन् । किमले तथाकथित ‘नयाँ शीतयुद्ध’ को धारणा अघि सार्दै दक्षिण कोरियाप्रति अझ कडा दृष्टिकोण लिन सक्ने सम्भावना छ ।

संयुक्त राज्य अमेरिकासँग कूटनीति पुनः सुरु गर्ने किमको इच्छाबारे स्पष्टता छैन । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दोस्रो शिखर वार्तापछि प्रतिबन्धको विषयमा असहमति बढेपछि सम्बन्ध बिग्रिएको थियो । ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि प्रस्तावित संवादलाई किमले अस्वीकार गर्दै वासिङ्टनले उत्तर कोरियाको आणविक निरस्त्रीकरणको माग त्याग्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

आफ्नो शासनकालको १५औँ वर्षमा प्रवेश गरेका किम सन् २०२१ को अघिल्लो कंग्रेसको तुलनामा अहिले बलियो अवस्थामा देखिन्छन् । दक्षिण कोरियाली विश्लेषकहरूका अनुसार चीनसँगको व्यापारमा क्रमिक सुधार र रुसलाई हतियार आपूर्तिबाट प्राप्त आम्दानीका कारण उत्तर कोरियाको अर्थतन्त्र पछिल्ला वर्षहरूमा केही सुधार भएको सङ्केत देखिएको छ । रासस
 

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : ३० बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता