चार दिन मनाइने छठ पर्वको यो हो पूजाविधि « Khabarhub

चार दिन मनाइने छठ पर्वको यो हो पूजाविधि


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराईका जिल्लामा भव्यरुपमा मनाइने छठ पर्व विहीबारदेखि शुरु हुँदैछ । आराध्यदेव सूर्यको उपासना गरी छठ पर्व मनाइँन्छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिन्छ ।

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । मानव सभ्यताको विकास नदी किनार हुँदै भएको, पञ्चतत्वमध्ये सूर्य र जल अपरिहार्य तत्व रहेकाले यी दुई तत्वहरूप्रति श्रद्धाभाव व्यक्त तथा जीवन, जगत्, प्रकृति, वनस्पति, ग्रह, नक्षत्र, संवत्सर, समय, काल सबैका कारक रहेका सूर्यको आराधनाले आपसी सद्भाव, एकता र सहिष्णुताको सन्देश यस पर्वमा सन्निहित रहेको छ ।

छठको पहिलो दिन (चतुर्थी)मा व्रतालुहरुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । पर्वको दोस्रो दिन (पञ्चमी)मा खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालुले उक्त दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण प्रसादका रुपमा खीर ग्रहण गर्दछन् ।

तेस्रो दिन (षष्ठी)मा गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् ।

परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्ग दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् ।

यस क्रममा व्रतीले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् । पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन सूर्यलाई अर्घ्य दिन्छन् ।
अर्घ्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा छ ।

सूर्यलाई आदिदेवता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए । उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : ५१ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो