काठमाडौं–४ का कांग्रेस उम्मेदवार सचिनको सूत्र- धनीलाई बजार, गरिबलाई राज्य « Khabarhub

काठमाडौं–४ का कांग्रेस उम्मेदवार सचिनको सूत्र- धनीलाई बजार, गरिबलाई राज्य



काठमाडौं उपत्यकाको १९ प्रतिनिधि सभा क्षेत्रमध्ये सबैभन्दा चर्चामा रहेको क्षेत्र हो काठमाडौं–४ । २०६४ सालको संविधानसभा निर्वाचनमा त्यस क्षेत्रले गगनकुमार थापालाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो । त्यसपछिका ३ निर्वाचनमा पनि उनी लोकप्रिय मतसहित प्रत्यक्ष निर्वाचित बने । 

२१ फागुनमा हुने निर्वाचनका लागि भने थापा सर्लाही ओर्लिएका छन् । सर्लाहीसहितका जिल्लामा बहुमतले निर्वाचित बनेर मधेसमा कांग्रेसको विरासत फर्काउने उनको ध्येय छ । जसकारण काठमाडौं–४ ले यतिबेला युवा नेता तथा अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर सचिन तिमल्सिनालाई उम्मेदवारको रुपमा पाएको छ । 

काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरवासी तिमल्सिना ‘भरोसा नयाँ पुस्ताको, मार्गचित्र समुन्नत नेपालको’ भन्ने नारासहित यतिबेला चुनावी मैदानमा छन् । ३३ वर्षीय तिमल्सिना गगनलाई जित दिलाउन करिब २ दशकदेखि पृष्ठभूमिमा सघाउँदै आएका पात्र हुन् । तर पार्टीमा उनको औपचारिक सक्रियता भने २०७० सालदेखिको हो । 

०७४ मा उनकै सक्रियतामा पार्टीले युवा विशेष ‘युथ कांग्रेस नेपाल’ भातृ संगठनको सुरुवात गर्‍यो । पार्टीमा युवाको आबद्धता मजबुद बनाउने उद्देश्यसहित सुरु भएको संगठनको संस्थापक अध्यक्ष उनी नै बने । 

करिब सात वर्ष उक्त भूमिकामा रहेका उनले संगठनलाई ४८ जिल्लामा विस्तार गरेका थिए । उनकै नेतृत्वमा गिग इकनोमी (काम अनुसार पारिश्रमिक पाउने लचक आर्थिक व्यवस्था) र जलवायु परिवर्तनसम्बन्धी युवाले तयार गरेका नीति पत्रहरू संसदीय दलसम्म पुगेर पार्टीको २०८० को नीति प्रक्रियामा समावेश भयो । 

नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारको पक्षमा समेत स्पष्ट विचार राख्ने उनमा राजनैतिक चेत भने पारिवारिक पृष्ठभूमिबाटै आयो । उनका बुबा सुरेन्द्रकुमार तिमिल्सिना पाँचथरबाट ६ पटकसम्म महासमिति सदस्य हुन् भने आमा क्षेत्रीय प्रतिनिधि हुन् । अमेरिकाको हार्वर्ड केनेडी स्कूलबाट ‘नेतृत्व, संगठन र कार्य’ एक्जुकेटिभ कोर्स र द्वन्द्व, शान्ति र विकास अध्ययनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट आर्जन गरेको ज्ञानलाई नेतृत्वसहित सुशासित समाज निर्माणको उद्देश्य राखेका उनलाई खबरहबले गरेको पाँच प्रश्नको जवाफको सम्पादित अंश :

तपाईँ घरदैलोको चटारोमा हुनुहुन्छ, जनतामाझ जाँदा तपाईँले जनताको मत आफ्नो पोल्टोमा पार्ने आधार के–के प्रस्तुत गर्नुभएको छ ? तपाईँलाई जनताले भोट किन दिने ?  

म संगठनात्मक प्रक्रियामा भिजेर एक तयार युवा भएर आएको छु । पार्टीमा म लामो समयदेखि आन्तरिक रुपमा काम गर्दै आएको सक्रिय कार्यकर्ता हुँ ।

जेन–जीले पार्टीभित्र र बाहिर चाहेको पुस्तान्तरण अनुरूप म उम्मेदवार बनेको छु । नीति निर्माण र विधायकीको काममा लामो समयदेखि अनुभव छ । युवाहरूको मुद्दामा लामो समयदेखि सडकबाट समेत काम गर्दै आएको हुँ । यिनै आधार हुन्– जसले गर्दा मतदाताले मलाई मतका लागि पक्कै योग्य ठान्नुहुनेछ । 

नातिदेखि हजुरबुबा पुस्ता रिझाउने तपाईँसँग के त्यस्ता  एजेन्डा छन्, जसले मतदानका लागि प्रेरित गरोस् ? 

युवाको लागि रोजगारी, महिला उद्यमशीलताको कार्यक्रम र ४० पश्चात् रोग नै ठुलो चुनौतीका रुपमा आउने हुँदा स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा अघि बढाउने कुरा सभापति ज्यूले पनि बोलिसक्नुभएको छ । जसले ज्येष्ठ नागरिकसहित सबैलाई विशेष फाइदा पुग्नेछ । विद्यालय शिक्षालाई रोजगारी र सीपसँग जोड्ने, सुशासनका विषय, डिजिटल सेवा र प्राविधिक शिक्षा नै मेरा मुख्य विषय हुन् । 

तपाईँकै शब्दमा भन्दा रामले छोडेका अभिभारा पनि होलान् नि ? भरतलाई ती अभिभारा पूरा गर्न कति सहज ? 

यहाँ भौतिक पूर्वाधार विकासमा एकदमै धेरै काम भएको छ । हामीले एक सय ४८ परियोजना पुरा गरेका छौँ भने २ सय ३० वटा पाइपलाइनमा छन् । केही वडाहरूमा खानेपानीको समस्या छ । त्यसको समाधानका लागि पाइप विस्तार लगायतमा काम भएको पनि हो । तर चुनावी सरकारपछि भने केही काम अधुरा छन् । त्यसलाई पुरा गर्नुपर्नेछ । 

केही क्षेत्रमा अलिकति बाटोको समस्या छ । विशेषगरी रोजगारी, सीप विकासमा जनताको अपेक्षा बढी रहेकाले त्यसमा कसरी जोड्ने लगायत विषयमा काम गर्नेछु । 

काठमाडौं–४ मा सभापतिज्यूले पुरा गर्न बाँकी २ सय ३० वटा पाइपलाइनमा रहेका परियोजना पूरा गर्नुपर्नेछ । साथसाथै बदलिँदो विश्वमा फरक चुनौती आइरहेका छन्, त्यसकाराण रोजगारीको मुद्दामा हामीले युवाहरूलाई प्रविधिसँग जोड्न सकेनौ भने एउटा ठूलो अभिभारा गुमाउँछौँ । म माथि त्यो मुख्य जिम्मेवारी भएको अनुभूति गरेको छु । 

तपाईँ खेलजगतको अन्यत्र बुझेको उम्मेदवार, खेलाडी र खेल क्षेत्रका लागि तपाईँको योजना के ? 

क्रिकेटको विकासमा म नजिकै रहेर त्यसलाई अवलोकन गरेको छु । यदि खेलकुद संघ, बोर्ड लगायत सरोकारवाला पक्षले ध्यान दिने हो भने नतिजा प्राप्त हुँदो रहेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै मान्छेको इच्छा र चासो पनि बढ्दो रहेछ भन्ने क्रिकेटले प्रमाणित गरेको छ । क्रिकेटमा प्राप्त सफलताको कोशेढुङ्गाका रुपमा एनपीएललाई लिन सकिन्छ । 

अन्य केही खेलमार्फत पनि नेपालले त्यसैगरी छलाङ् मार्न सक्ने मैले देखेको छु । भलिबललाई खासै ध्यान दिइएको छैन, यसमा पनि क्रिकेटको हाराहारीमै फ्यान पलोइङ छ । विशेषगरी महिला भलिबलमा अझ मान्छेको चासो बढी देखिन्छ । फुटबलमा आक्रोश छ  त्यसलाई फेरि एकपटक व्यवसायिकतातर्फ लैजानुपर्नेछ । 

फुटसलमा पनि राम्रो आकर्षण छ । नेपालका लागि व्यापक सम्भावना बोकेको क्षेत्र साहसिक खेल पनि हो । क्रिकेटलाई मोडलको रुपमा जसरी यो व्यवसायिकता तर्फ गयो, त्यसरी अन्य खेलकुदलाई पनि लैजान सकिन्छ । 

म अहिले मेरो क्षेत्रभर रहेका फुटसल गणनासँगै खेल प्रेमी युवा साथीहरूसँग भेट गरिरहेको छु । त्यसमा एउटा एमपी कप भनेर फुटसल लिग पनि गर्न सकिन्छ भन्ने मेरो योजना छ । त्यसका लागि एन्फासंग पनि कुरा गर्नुपर्ने हुन्छ । म खेल क्षेत्रमा भिजेको व्यक्ति हुनाले क्रिकेटको सफलताको मोडल चाहिँ मजाले प्रयोग गर्छु । 

२०१४ मा झण्डाको कृतिमान राखे जस्तै रामको कृतिमान कायम राख्न भरतलाई चुनौती पनि छ, जितेर विरासत जोगाउन सकिन्छ ? 

काठमाडौं–४ को पृष्ठभूमिमा बसेर मैले करिब २ दशकदेखिनै काम गरिरहेको छु । जसकारण यहाँ के काम भएका छन्, यहाँका आवश्यकता के हुन् भन्नेमा म अभ्यस्त छु ।

यहाँका जनताका काम, यहाँ भएका कामबारे तयार पारिएका सबै दस्ताबेज हिजो पनि मेरो पहुँचमा थिए, आज पनि छन् । त्यसैले मतदाताका लागि म नयाँ भएपनि मेरो लागि यो क्षेत्रको कुनै पनि नयाँ होइन । त्यसैमाथि म सभापति र उहाँको पहिलेदेखिका सबै टिमसंग निरन्तर छलफल र वार्तामा छु ।

के कसरी काम गर्ने भन्नेबारे सुझाव लिइरहेको हुन्छु । यस क्षेत्रका लागि सभापति ज्यूको जस्तै मेरो पनि एउटा अनुसन्धानको टिम खटिनुभएको छ । उहाँहरूले यहाँको मतदाताको इच्छा, आकांक्षा, आवश्यकताबारे टिपोट गरिराख्नुभएको छ । 

पार्टीको मेरो अग्रज, साथीहरू रातदिन खटिराख्नु भएको छ । तर मैले जित्ने मात्रै कुरा होइन, यहाँ देशलाई हरेक खालको अतिवादीबाट बचाउनुपर्नेछ । हामीले प्रतिनिधिसभामा अतिवादीलाई प्रवेश दिँदै गर्दा पुनः देशमा अराजकता बढ्छ कि भन्ने छ ।

यो त्रासको बीचमा देश सम्हाल्ने शक्तिको जित हुन्छ । कांग्रेसले जित्नु भनेको देशको परिस्थिति सम्हालिनु र सुधारिनु हो । त्यसैले अहिले मतदाताले बुझ्नुपर्ने कुरा भनेको चर्को कुरा गरेर देशलाई आगो लगाउने होइन, बलेको आगोमा पानी हालेर आगो निभाउने शक्तिको खाचो छ । त्यो शक्ति अहिलेको कांग्रेस मात्रै हो । कांग्रेस सबैभन्दा पुरानो इतिहास बोकेको, समयानुकूल परिवर्तित विचार अंगीकार गरेको सबैभन्दा नयाँ शक्ति हो । 

नयाँ भनिएकाहरू अधिकांश सामाजिक सञ्जालबाट उदयमान हुनुभएको छ । हिजो मात्रै म यस क्षेत्रका नयाँ भनिएका केही उम्मेदवारहरुसँग बहसमा थिएँ । केही त सहभागी नै हुनुभएन, त्यहाँ सहभागीसँग पनि हामी नयाँ हौं भन्ने बाहेकका विषय नै थिएनन् । उहाँहरुमा कसरी के गर्ने भन्नेमा प्रस्ट एजेन्डा देखिएन । 

त्यहाँ मैले मेरो धारणा राख्दा भनेको छु– म एक सुझबुझपूर्ण तयारीका साथ सांसद बन्ने मैदानमा उत्रिएको छु । आलोचनात्मक टीकाटिप्पणी भन्दा पनि म भिजन लिएर अगाडी बढेको छु । मेरो आफ्नै अवधारणा छ । म यस्तो देशको कल्पना गर्दछु, जहाँ धनीका लागि बजार होस्, गरिबको लागि राज्य होस् र स्वतन्त्रता होस् । नेपाल बनाउने मेरो आइडिया यही हो । 

म यसैको लागि काम गरिरहेको छु । सोहीकारण म के भन्छु भने विधायकले बहस गर्ने भनेको के नीति ल्याउने भन्नेमा हो तर विधायकको बहस नै व्यक्तिगत तवरमा गयो वा हामी ठिक अरु बेठिकमा गयो भने त्यसले कुनै निचोड र समाधान दिन्छ भन्ने मलाई लाग्दैन । 

त्यसैले पनि जेन–जी आन्दोलनको भावनाअनुरुप बदलिएको पार्टी नेपाली कांग्रेसको उम्मेदवार मलाई जनताले मतदान गरेर निर्वाचित गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  १ : ४० बजे

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला– सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा