बत्ती पुग्ने आशामा अपिवासी « Khabarhub

बत्ती पुग्ने आशामा अपिवासी


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दार्चुला
    
  ‘चौलानीको कञ्चन पानी, बिजुलीको खानी
    अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी
    आशा छ अब त सरकार, बिजुली बालिदेला
    घरघरमा बत्ती बल्दा, खुसीले मन छाउँला ।’

देउडिया प्रेमसिंह कार्कीले गुनगुनाउने यी शब्दमा अपिहिमालको पीडादायी यथार्थ लुकेको छ । टुकी र सोलारको भरमा जीवन बिताउँदै आएका कार्की अहिले ७० वर्ष पुगिसक्नुभयो । गाउँको तल चमेलिया नदी कलकल बगिरहे पनि उनीहरूको बस्ती भने अझै अन्धकारमै छ ।

स्थानीय भाषा ‘चम्लेउ’ (चौलानी) भनेर चिनिने चमेलिया नदी अपिहिमाल (सात हजार १३२ मिटर) को फेदबाट बग्छ । चमेलिया नदीबाट विद्युत् उत्पादन भएको धेरै सुनिए पनि मुहान नजिकैका बस्तीहरू भने उज्यालोबाट वञ्चित छन् ।

अपिहिमाल गाउँपालिका–१ का ल्वाथी, लुम्चा, खायकोट, भट्टार, गुरुसाड, सिती, आरुखोड तथा वडा नं २ का घुसा, पाटु, लिथीलगायतका बस्ती अहिले पनि अन्धकारमै छन् । सेतो हिमाल चम्किएर उज्यालोको आभास दिलाए पनि गाउँमा विद्युत् नहुँदा स्थानीयको दैनिक जीवन कठिन बनेको छ ।

जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिएको दार्चुलाको अपिहिमालमा अहिले भने आशाको किरण देखिन थालेको छ । विद्युतीकरणका लागि हेलिकप्टरमार्फत ट्रान्सफर्मर ढुवानी गरिएपछि स्थानीयमा अब गाउँमा बत्ती बल्ने विश्वास बढेको हो । 

गाउँ–गाउँमा विद्युत्का पोल गाड्ने काम सुरु भइसकेको छभने हाइटेन्सन लाइन अपिहिमाल गाउँपालिका–२ को धनबोरासम्म पुगेको छ । पोल गाड्ने र तार तान्ने काम अघि बढेसँगै स्थानीय उत्साहित भएका छन् । पोल गाड्ने र तार तान्ने काम अघि बढेपछि भने अब गाउँमा विद्युत् आउँछ भन्नेमा स्थानीय ढुक्क भएका छन् । 

अपिहिमाल गाउँपालिका–२ का रमेशसिंह लोथ्यालले भने, ‘गाउँमा विद्युत्कै लागि भने पोलहरू आफैँ पिठ्यूँमा बोकेर गाड्ने काम गरेका छौँ । विद्युत्को तार पुगेपछि थप विद्युतीकरण सुरु हुनेछ । छ वडा रहेको अपिहिमाल गाउँपालिकाको वडा नं ५ मा मात्रै विद्युत्को राष्ट्रिय प्रसारण लाइनको बत्ती बलेको छ । अहिले विद्युतीकरण हुन बाँकी रहेका सबै वडामा विद्युत् पुर्‍याउने गरी पोल विस्तार गर्ने काम भएको छ ।’ 

विद्युतीकरणको काम गराउँदै आएका निर्माण व्यवसायी जीवन लोथ्यालकाअनुसार अहिले अपिहिमाल गाउँपालिका–३ र ४ हुँदै वडा नं २ मा लाइन विस्तार गर्ने तयारी छ । अपिहिमाल गाउँपालिकाको सकारमा पोल गाड्न बाँकी छ । वडा नं १ को भट्टार गाउँभन्दा माथिल्लो क्षेत्रमा विद्युत्को पोल गाड्न बाँकी छ । विद्युत्को पोल गाडेपछि लाइन विस्तार अभियान चल्ने उनको भनाइ छ ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरेका अनुसार अब अपिहिमाल गाउँपालिका छिट्टै राष्ट्रिय लाइनबाट बत्ती बल्नेछ । बस्ती–बस्तीहरुमा विद्युत् राष्ट्रिय प्रसारणलाइन विस्तार तीव्र गतिमा भइरहेको उनले बताए। 

अध्यक्ष बोहराका अनुसार हाल गाउँपालिका–४ को सबै ठाउँमा लाइन विस्तार भइसकेको, वडा नं ३ को लाइन विस्तार केही ठाउँमा सम्पन्न भएको छभने हाइटेन्सन पोल ढुवानी भइरहेको छ । वडा नं १ र २ मा लोकल सर्भिस पोल ढुवानी ९० प्रतिशत पूरा भएको उनले बताए। 

    यस्तै, वडा नं ६ मा विद्युत्का पोल ढुवानीको काम चलिरहेको छ । 

नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै स्थानीय तहमा विद्युत् पु¥याउने गरी काम भइरहेको छ । दार्चुलामा विद्युत्को मेन लाइन र शाखा लाइनको काम धमाधम भइरहेको कस्मिक इलेक्ट्रिकल लिमिटेड परियोजनाका इन्जिनियर तथा प्रोजेक्ट म्यानेजर मनोज बस्नेतले बताए। 

उनका अनुसार अपिहिमालमा सिम्रिक एयरको हेलिकप्टरमार्फत २२ वटा विद्युत् ट्रान्सर्फमर ढुवानी गरिएको तथा हाइटेन्सन लाइन विस्तार हुँदैछ । जिल्लाको महाकाली, लेकम, मालिकार्जुन, दुहुँ, शैल्यशिखरलगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ । 

व्यास, मार्मा, नौगाडमा पनि विद्युतीकरणको काम भइरहेको छ । अपिहिमालमा जनशक्ति अभावका कारण विद्युतीकरणमा ढिलाइ भइरहेको इन्जिनियर बस्नेतले बताए। 
    
प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया र दार्चुला वितरण केन्द्र खलङ्गाले यस जिल्लाको नौवटै स्थानीय तहमा विद्युत् लाइन विस्तार, मर्मत तथा विद्युतीकरणको काम गरिरहेको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख रौशनकुमार ठाकुरले बताए।

करिब २८ हजार घरधुरी रहेको दार्चुलामा अहिले २२ हजार ४८८ घरधुरीमा विद्युत् पहुँच पुगेको ठाकुरले बताए। यो कुल विद्युतीकरण भएको ७९ दशमलव २४ प्रतिशत हो । यी घरधुरीहरुमा विद्युत्को मिटर जडान भइसकेको छ ।

गत आर्थिक वर्ष २०८१-८२ मा यहाँका सात गाउँपालिका र दुई नगरपालिकाका २८ हजार ३८१ घरधुरीका २० हजार ५६३ ग्राहकलाई रु पाँच करोड ७५ लाख ८१ हजार ९५५ मा विद्युत् बिक्री गरिएको थियो । 

गत आवमा जिल्लाका एक हजार ८६७ जना विद्युत्का नयाँ ग्राहक थपिएका थिए । केन्द्रले गत आवमा २० दशमलव आठ किलोमिटर एलटी लाइन र १५ दशमलव २५ किलोमिटर ११ केभिए लाइन निर्माण र नौ थान नयाँ ट्रान्सफर्मर जडान गरेको उनले बताए। 

अहिले पनि विद्युत्को एलटी लाइन तथा ट्रान्सर्फमर थप गर्ने प्रक्रिया चलिरहेको छ । जिल्लामा दुई मेगावाट विद्युत् मात्रै खपत रहेको कार्यालय प्रमुख ठाकुरको भनाइ छ । 

   एक सय मेगावट विद्युत् उत्पादन

विद्युत्को ‘हब’ मानिएको चमेलिया र आसपासका नदीहरुबाट दार्चुलामा हालसम्म एक सय मेगावाट विद्युत् उत्पादन गरिएको छ । जिल्लाले भने हाल दुई मेगावट मात्रै विद्युत् खपत गरिरहेको छ । 

अझै जिल्लामा विद्युत् उत्पादनको काम निरन्तर भइरहेको छ । दार्चुलामा सरकारी तवरबाट उत्पादन गरिएको चमेलिया जलविद्युत् आयोजनाबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । 

शैल्यशिखर नगरपालिका–१ स्थित बलाँचमा विद्युत् उत्पादन भइरहेको हो । चमेलिया विद्युत् उत्पादन गरिएपछि जिल्लाभरि उत्पादन गरिएका विद्युत् यहीँबाट जिल्ला बाहिर पठाउने काम भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । 

यस्तै निजी क्षेत्रबाट मार्मा गाउँपालिका–२ घट्टेगाडमा माथिल्लो चमेलिया आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन गरिएको छ । अपि पावर लिमिटेडले विद्युत् उत्पादन गरेको हो । 

यस्तै, अपिहिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट, नौगाड खोला जलविद्युत् आयोजनाबाट शैल्यशिखर नगरपालिका–२ मा आठ दशमलव पाँच मेगावाट नौगाड र माथिल्लो नौगाड खोला आयोजनाबाट आठ मेगावाट विद्युत् उत्पादन भएको छ । यी आयोजनाहरुबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन भइरहेको छ ।

यसबाहेक अपिहिमाल गाउँपालिका–३ क्षत्तिगाडमा एक सय किलोवाट विद्युत् उत्पादन भएको छ । यस विद्युत्बाट अपिहिमालका वडा नं ३ र ४ मा बत्ती बलेको छ । 

यस्तै नौगाड गाउँपालिका–३ होपरीगाडमा एक सय किलोवाट क्षमताको विद्युत् उत्पादन गरिएको छ । यसले हाल नौगाडका वडा नम्बर १, २, ३ र ४ नम्बरसम्म बिजुली बाल्ने काम भएको निर्माण समिति अध्यक्ष पानसिंह धामीले जानकारी दिए ।

    चमेलिया र थालीगाडमा विद्युत् उत्पादन गरिँदै

दार्चुलाको मार्मा गाउँपालिका–२ मा २८.३० मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माणको काम चलिरहेको छ । दार्चुला पावर लिमिटेडले रु पाँच अर्ब ६६ करोडको लागतमा आयोजना निर्माण गरिरहेको हो । अपर चमेलिया जलविद्युत् आयोजनाको विद्युत् गृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध बनाएर आयोजना निर्माण भइरहेको छ । 

अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले २०८१ फागुन १० गते २४ महिनाभित्र निर्माण सक्ने गरी आयोजनाको शिलान्यास गरेको थियो । २०८३ माघसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको प्रोजेक्टर म्यानेजर विनय उप्रेतीले बताए। 

अहिले विद्युत्को पाइप लाइन, पावर हाउसलगायत सबै काम भइरहेका छन् । विद्युत्को २५ प्रतिशत प्रगति भएको छ । अहिलेको बर्खा अगावै ६० प्रतिशत काम सकिने उनको भनाइ छ । 

मार्मा गाउँपालिका–२, लाम्बगडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा गाउँपालिका–३, नलबगडमा विद्युत् गृह निर्माण भइरहेको छ । यो आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ । 

यस आयोजनाबाट वार्षिक १८५।६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने बताइएको छ । मध्यचमेलियामा नेपाल बैंक लिमिटेड र नबिल बैंकको ७५ प्रतिशत ऋण लगानी रहेको छ भने २५ प्रतिशत दार्चुला पावर लिमिटेडको स्वपुँजी रहेको छ । 

यस्तै, महाकाली नगरपालिका–६ र ७ को सीमाना भएर बग्ने थालिगाड खोलामा दुई मेगावाटको थालिगाड साना जलविद्युत् आयोजना निर्माण गरिदैछ । दार्चुलाको त्रिकाल पावर कम्पनी प्रालिले थालीगाड खोलामा आयोजना निर्माण सुरु गरिसकेको कम्पनीका निर्देशक दिलीपसिंह बुढाथोकीले जानकारी दिए । 

अहिले थालिगाडमा विद्युत्को प्रारम्भिक काम सुरु भइसकेको छ । आयोजनाबाट उत्पादित बिजुली एक किलोमिटर लामो ३३ केभी लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको धाप सबस्टेसनमा जोडिनेछ । 

आयोजनाबाट २०८३ वैशाख १० गतेसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणमा ४० देखि ४५ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

नरेन्द्रसिंह कार्की / रासस

 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  २ : ५७ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व– शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको

इनड्राइभले दियो ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेतालाई ईभी क्याब र ई–स्कुटर

काठमाडौं-‍ इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक

‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं– नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित

टक्सार– वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं– एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट