काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शनिबार काठमाडौंको कमलपोखरी र गुहेश्वरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।
छठ पर्वको आज (शनिबार) मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
यसै अवसरमा राष्ट्रपति भण्डारीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन् ।
यस्तै छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन् ।
उक्त ठाउँमा नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ । नदीका दुवै किनार बिजुली बत्तीले झकिझकाउ पारिएको छ ।
राष्ट्रपति कमलपोखरी पुग्दा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन् ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ।
तराई–मधेशमा स्थायी घर भई काठमाडौँ उपत्यकामा विभिन्न पेशा व्यवसायमा संलग्न व्रतालु छठपर्व मनाउन र छठी माताको दर्शनका लागि ठूलो सङ्ख्यामा गुह्येश्वरी क्षेत्रमा पुगेका छन् ।
कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधाना गरी अर्घ्य दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठपर्व समापन हुन्छ ।
प्रतिक्रिया