युद्ध अन्त्यका लागि इरानका तीन शर्त « Khabarhub

युद्ध अन्त्यका लागि इरानका तीन शर्त


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म सङ्घर्ष रोक्न नसकिने स्पष्ट पारेको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल एक्समार्फत रुस र पाकिस्तानका नेतासँग भएको कुराकानीपछि आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको दोहोर्‍याएका हुन् । उनका अनुसार ‘यहुदी शासन र अमेरिकाले भड्काएको’ यो युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको इरानका वैध अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गर्नु, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनु र भविष्यमा इरानमाथि आक्रमण नहुने कडा अन्तर्राष्ट्रिय ग्यारेन्टी दिनु हो ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । सो आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला सैयद अली खामेनी, उच्च सैन्य कमान्डरहरू तथा सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलका विभिन्न स्थानलाई लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सइद इरवानीका अनुसार फेब्रुअरी २८ यता अमेरिकी र इजरायली सैन्य कारबाहीका कारण महिला तथा बालबालिकासहित कम्तीमा एक हजार ३४८ सर्वसाधारणको मृत्यु भएको छ भने १७ हजारभन्दा बढी घाइते भएका छन् । यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले खाडी सहयोग परिषद् (जिसिसी) देशहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा गर्दै प्रस्ताव पारित गरेको छ । १५ सदस्यीय परिषदमा प्रस्तुत उक्त प्रस्ताव १३–० मतले पारित भएको थियो ।

प्रस्तावलाई बहराइनले नेतृत्व गरेको थियो र १३० भन्दा बढी देशले सह–प्रायोजन गरेका थिए, जसमा भारत पनि समावेश छ । चीन र रुस मतदानमा सहभागी भएनन् । प्रस्तावमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र जोर्डनमाथि इरानले गरेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै कडा शब्दमा निन्दा गरिएको छ । साथै होर्मुज जलडमरूमध्य बन्द गर्ने इरानी चेतावनीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

यसै क्रममा इराकको सुरक्षा मिडिया सेलका प्रमुख साद मानका अनुसार इराकको तट नजिक दुई तेल ट्याङ्करमा आक्रमण भएको छ । उक्त घटनामा ३८ जना चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ । उता इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले ‘अपरेसन ट्रु प्रोमिस–४’ को ४०औँ चरण सुरु भएको घोषणा गरेको छ ।

इरानको मेहर समाचार एजेन्सीका अनुसार यसअन्तर्गत अमेरिकी सैन्य आधार, तेल अभिव र हाइफा क्षेत्रमा विभिन्न मिसाइल प्रहार गरिएको छ । ‘गदर’, ‘इमाद’, ‘खेबर शेकान’ र ‘फताह’ नामका मिसाइलहरू प्रयोग गरिएको दाबी गरिएको छ । इरानले खाडी क्षेत्रका तेल ट्याङ्करहरूमा आक्रमण गरेको तथा होर्मुज जलडमरूमध्य बन्द गरेको घटनाले विश्व ऊर्जा आपूर्तिमा असर परेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएको छ ।

राज्य सञ्चारमाध्यम प्रेस टिभीले सार्वजनिक गरेको भिडियोमा पर्सियन खाडी र होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजहरूको गतिविधि कडाइका साथ निगरानी भइरहेको देखाइएको छ । उक्त फुटेजमा इरानी सुरक्षा बलका स्पिडबोटहरू सक्रिय रहेको र सानो गतिविधि भए पनि जहाजहरू लक्ष्य बन्न सक्ने चेतावनी दिइएको देखिन्छ । न्युयोर्क टाइम्सका अनुसार इरानको प्रतिआक्रमणले पश्चिम एसियाभर रहेका कम्तीमा १७ अमेरिकी सैन्य आधार तथा अन्य संरचनामा क्षति पुर्‍याएको छ ।

यो निष्कर्ष स्याटेलाइट तस्बिर, सामाजिक सञ्जाल भिडियो, अमेरिकी अधिकारीहरूको भनाइ र इरानी राज्य सञ्चारमाध्यमका रिपोर्टहरूको विश्लेषणपछि निकालिएको हो । बहराइन, जोर्डन, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियामा रहेका अमेरिकी आधारहरू पनि आक्रमणको निशानामा परेको बताइएको छ ।

तीमध्ये अमेरिकी थाड मिसाइल रक्षा प्रणालीका रडारहरू सबैभन्दा महँगो क्षति भएको उल्लेख गरिएको छ । यसका साथै इराक, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियामा रहेका अमेरिकी कूटनीतिक नियोगहरूमा पनि आक्रमण भएको जनाइएको छ । यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युद्ध जितेको दाबी गरेका छन् । तर मिशन पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी सेना क्षेत्रमै तैनाथ रहने उनले बताएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  २ : ०४ बजे

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि