नवलपरासी– मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला–दुम्किबासबीचको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख निरोज घिमिरेले जानकारी दिए । उक्त क्षेत्रमा टावर जडान भएपछि अहिले नेटवर्क समस्या समाधान भएको उनले बताए । टावर सञ्चालनमा आएपछि त्यहाँ टुजी र फोरजी सेवा सहज रूपमा उपलब्ध भएको पनि उउनले जानकारी दिए ।
मुख्य राजमार्गमा मोबाइल नेटवर्क नहुँदा कहिलेकाहीँ विपद् पर्दा सञ्चार अभावका कारण उद्धार कार्यमा ढिलाइ हुने समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिले यसअघि नै राजमार्ग क्षेत्रमा नेटवर्क विस्तार गर्न सुझाव दिएको थियो ।
नवलपुरको चोरमारा–अरुणखोला र डण्डा–अरुणखोला खण्डको राजमार्गस्थित जङ्गल क्षेत्रमा समेत नेटवर्क समस्या रहेकाले ती स्थानलाई पनि टावर जडानका लागि प्राथमिकतामा राखिएको प्रमुख घिमिरेले बताए ।
नेपाल टेलिकमले कालीगण्डकी करिडोर र जिल्लाका पहाडी क्षेत्रलाई समेत लक्षित गरी टावर निर्माणलाई प्राथमिकता दिएको उनले जानकारी दिए । यसअन्तर्गत बुलिङटारको बोझापोखरीमा टावर निर्माण कार्य सम्पन्न भइसकेको छ र केही दिनमै सञ्चालनमा आउने तयारी रहेको छ । यस्तै, बुलिङटारकै थामबेँसीमा टावर निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको उनको भनाइ छ ।
प्रभुख घिमिरेले भने, ‘पहाडी क्षेत्रमा नेटवर्कको समस्या रहेकाले त्यसको समाधानका लागि कार्यालयको योजनाअनुसार चाँडै बोझापोखरीमा टावर सञ्चालनमा आउँदै छ, अर्को स्थानमा निर्माण कार्य सुरु भइसकेको छ ।’
जिल्लाको पहाडी क्षेत्र विनयी त्रिवेणीको धुरकोटमा पनि टावर निर्माणका लागि अनुमति प्राप्त भइसकेको छ भने हुप्सेकोटको चारघरेमा सर्वेक्षण कार्य सम्पन्न भई अनुमति प्रक्रियामा रहेको उनले जानकारी दिए ।
त्यस्तै, पर्यटकीय क्षेत्र अमलटारीमा नेटवर्क समस्या रहेको गुनासो आएपछि त्यहाँ पनि टावर निर्माणका लागि अनुमति प्राप्त भएको र चाँडै निर्माण कार्य सुरु हुने बताइएको छ । पर्यटकीय क्षेत्रका रूपमा विकास भएका ठाउँ भएकाले समेत पर्यटकलाई समस्या नहोस् भनेर यहाँ टावर निर्माणको अनुमति आएको उनले बताए । (रासस)













प्रतिक्रिया