काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र २४ मा भएका घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री सुशीला कार्कीसँग माग गरेकी छिन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजीको शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक बनेको उल्लेख गर्दै गोली चलाउने आदेश कसले दियो र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो भन्दै जवाफ मागेकी छिन् ।
उनले संकटको अवस्थामा संविधान जोगाउन र देशलाई निकास दिन नेतृत्वमाथि भरोसा गरिएको भए पनि त्यसको बदलामा अहिले दुर्व्यवहार भोग्नुपरेको उल्लेख गर्दै सामाजिक सञ्जालका इनबक्स र कमेन्टहरूमा आफूमाथि निरन्तर प्रश्न र आरोपहरू लागिरहेको भन्दै अब प्रतिवेदन सार्वजनिक गरेरै सरकारले जवाफ दिनुपर्ने बताएकी छिन् ।
उनले लेखेकी छिन्– ‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु । म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु । र म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो ? गोली चलाउने आदेश कसले दियो ? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ? त्यसैले, कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस् । त्यो तपाईँको जिम्मेवारी हो ।’
उनले जेनजी आन्दोलनपछिको अवस्थालाई स्मरण गर्दै राज्यविहीनताको जटिल अवस्थाबाट देश गुज्रिरहेको बेला प्रधानमन्त्री कार्कीले नेतृत्व सम्हाल्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा धन्दवाद दिँदै सडकमा अहिले आफूमाथि भइरहेका कार्यव्यवहारबारे ध्यानाकर्षण गराएकी छिन् ।
उनले भनेकी छिन्– ‘तपाईंले सडकमा के भइरहेको छ भनेर नियाल्नु भएको छ ? हामीलाई कस्ता प्रश्नहरू सोधिँदैछन्, कस्तो व्यवहार भोग्नुपरेको छ, देखिरहनुभएको छ ? सङ्कटको अवस्थामा संविधान जोगाउन र देशलाई निकास दिन तपाईंको नेतृत्व आवश्यक छ भन्ने विश्वासका साथ हामीले तपाईंहरूमाथि भरोसा गरेका थियौँ, र त्यो धेरै हदसम्म सही निर्णय पनि हो। तर त्यही विश्वासको बदलामा आज हामीले दुर्व्यवहार भोग्नुपरेको छ । जीवनभरि गलत आरोपहरूको बोझ बोक्नुपर्ने अवस्था सिर्जना हुँदैछ। किनकी पिडीतहरूको आवाज चर्को हुन्छ प्रधानमन्त्री ज्यू ! त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्छ।’
उनले आफूमाथि लगाइएका आरोपहरू, सोधिएका प्रश्नहरू र गरिएको व्यवहारको जवाफ बारम्बार दिइसकेको उल्लेख गर्दै यस्ता आरोप र प्रश्नहरूको जवाफ तत्काल प्रतिवेदन सार्वजनिक गरेर दिन प्रधानमन्त्रीसँग आग्रह गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘न्याय पर्खिरहेका आँखाहरू तपाईंतिरै फर्किएका छन्। इतिहासले तपाईंलाई कसरी सम्झिने, त्यो निर्णय आज तपाईंकै हातमा छ।’
सरकारले जेनजी आन्दोलनमा भएको घटनामा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन गर्न जाँचबुझ आयोग बनाएको थियो । आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाएको छ । तर सरकारले त्यसलाई सार्वजनिक गरेको छैन ।













प्रतिक्रिया