समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री « Khabarhub

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन् । पेशागत रूपमा नर्स रहेकी मेहता स्वास्थ्य सेवामा सक्रिय रहँदै राजनीतिक यात्रामा अघि बढेकी हुन् । समानुपातिकतर्फबाट सांसद बनेकी उनी सुनसरी इनरुवाकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग आबद्ध रहँदै आएकी उनी अघिल्लो निर्वाचनमा समानुपातिक सूचीमा पनि समेटिएकी थिइन् । त्यसबेला उनी सांसद बन्न सकिनन् । यसपटक उनी मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनिन् । 

३९ वर्षीया निशालाई सानैदेखि राजनीतिमा रुचि थियो । इनरुवामा जन्मिएकी उनी पेशाले नर्स हुन् । भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गरिन् । 

निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र लिएपछि मात्रै उनले स्वास्थ्य सेवाबाट राजीनामा दिएकी थिइन् । स्वास्थ्य क्षेत्रमा गरेको सेवाले उनलाई सेवा प्रणालीका कमजोरी, पहुँचको असमानता र व्यवस्थापनका चुनौतीबारे नजिकबाट बुझ्ने अवसर दियो ।

सांसद बनेपछि उनले उक्त अस्पतालबाट राजीनामा दिँदै गर्दा यस पेशागत पहिचानबाट नीतिगत भूमिकातर्फ आफूलाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाएकी थिइन् । 

नेपाल प्रहरी श्रीमती संघ, कोशी प्रदेशको प्रशासन सचिवका रूपमा उनले स्वास्थ्य शिविर सञ्चालन, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम र समुदाय केन्द्रित गतिविधिमा महत्वपूर्ण भूमिका खेलेकी छन् ।

संघलाई सक्रिय र चलायमान बनाउन उनको योगदान उल्लेखनीय मानिन्छ । यसले उनको नेतृत्व क्षमतासँगै संगठन सञ्चालन र समुदायसँग जोडिने दक्षता देखाउँछ ।

उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । पारिवारिक साथले नै उनको राजनीतिक यात्रामा महत्वपूर्ण भूमिका खेलेको उनी स्वीकार गर्छिन् । पतिले निशा पहिलेदेखि नै तयारीका साथ राजनीतिमा सक्रिय रहेको र त्यही निरन्तरताले संसद्सम्म पुर्‍याएको बताउँछन् । 

 उनका अनुसार निशाको पहिलेदेखि नै समाज सेवामा रुचि थियो । मधेशी महिला र बालबालिकाका विषयमा अध्ययन गरेकी छिन् । त्यसकारण पनि उनी ती वर्गका मुद्दामा प्रभावकारी आवाज बन्न सक्ने सम्भावना बोकेकी कुशल पात्र हुन् ।

संघीय सांसदको प्रमाणपत्र लिँदै गर्दा निशा निकै भावुक बनेकी थिइन् । उनले ‘यो केवल उपलब्धि होइन, मेरो काँधमा आएको ठूलो जिम्मेवारी हो’ भन्ने प्रतिक्रिया दिएकी थिइन् । 

उनले आफ्नो सफलतामा परिवार, समर्थक र आमजनताको योगदानलाई स्वीकार्दै आभार व्यक्त गरेकी थिइन् । यसले उनको राजनीतिक शैलीमा नम्र र सामूहिकताको भावना देखाउँछ ।

अबको यात्रामा मेहताले समयअनुसारका मुद्दा संसद्मा उठाउने प्रतिबद्धता जनाएकी छन् । विशेषगरी प्रहरी कर्मचारीका समस्या, किसानका समस्या, मधेशी महिलाका अधिकार, स्वास्थ्य क्षेत्रका बेथिति जस्ता विषयमा आवाज उठाउने उनी बताउँछिन् । 

एकातिर उनी नयाँ अनुहार हुन् । जसलाई आफ्नो पहिचान स्थापित गर्नुपर्ने हुन्छ । अर्कोतिर उनीसँग स्वास्थ्य, समाज सेवा र सङ्गठनात्मक अनुभवको बलियो आधार छ । समानुपातिक सांसदका रूपमा उनको भूमिका केवल प्रतिनिधित्वमा सीमित हुँदैन । 

बरु नीतिगत बहसमा सक्रियता, जनताको आवाजलाई संस्थागत रूप दिने क्षमता र परिणाममुखी हस्तक्षेपमा निर्भर रहनेछ। सुनसरी सदरमुकाम इनरुवाको स्थानीय परिवेशबाट सुरू भएको निशाको यात्रा आज संघीय संसद् हुँदै मन्त्रीसम्म आइपुगेको छ ।

पहिलोपटकमै संसद् नबन्दा उनी निराश भइनन्, बरू अझ सक्रिय रुपमा लागिन् । उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा संगठनभित्र झन् सक्रिय रहिन् । यही निरन्तरता, धैर्य र पार्टीप्रतिको प्रतिबद्धताले अन्ततः उनलाई मन्त्रीसम्मको यात्रा तय गर्न गर्यो छ । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १ : ११ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन