काठमाडौं– मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै पुरानो चलन हो । यो एउटा प्रचलित खाद्यसंस्कृति बनिसकेको छ ।
नेवार जातिकै कतिपय सदस्यले भने मेथी टुसाको तीतोपन मन नपरेर फालेको पनि देखिन्छ । टुसा उमारेको मेथीको अचार खाँदा अनुभव हुने तीतोपनले शरीर स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।
हाम्रा परम्परागत खानामा प्रयोग गरिने र स्वास्थ्य तथा पोषणका दृष्टिले निकै महत्वपूर्ण रहेको मेथी छायाँमा पर्दै गएको छ । हामीमध्ये धेरैलाई यसको प्रयोग कसरी गर्ने भन्ने कुराको ज्ञान तथा हेक्का छैन ।
परम्परागत रूपमा खानालाई पोषणयुक्त र स्वादिष्ट बनाउन प्रयोग गरिने मेथी आज महत्त्वहीन बन्दै गएको छ । यसको प्रयोगलाई बढाउन सक्दा हाम्रो परिवारको स्वास्थ्य निकै राम्रो हुन्छ ।
दालमा जीरा, मेथी फुराएर खाने नेपालीको परम्परागत बानी छ । त्यसैगरी मोहीमा मेथी र लसुन फुराएर पनि खाइन्छ ।
तर हामीहरूमध्ये धेरैजसोलाई मेथीको तीतोपन मन पर्दैन र झानेको दालको पनि मेथी पन्छाएर दाल खान्छौँ । तर मेथीका गुणहरू के के छन् भनेर थाहा पाइयो भने त सायद मेथीलाई भोजनको एक अभिन्न अंग नै बनाइन्छ होला ।
केटाकेटीलाई पेट दुख्दा वा पखाला लाग्दा मेथी जाउलो पकाएर खुवाउने चलन छ । अहिले शहरी जीवनशैलीमा यो परम्परा हट्दै गएको भए पनि गाउँघरतिर भने अझै छ । खासगरी घरका हजुरआमाहरूले यसलाई महत्त्व दिएको देखिन्छ । तर घरका नयाँहरूले घरायसी उपाय अपनाउनु भन्दा हतारिएर औषधि खुवाउन तम्सेको पाइन्छ । मेथी जाउलोले पेट दुखाइमा निकै आराम पुर्याएको हुन्छ ।
परम्परागत मेथी जाउलो पकाउने कार्य त्यति गाह्रो छैन । एकमुठी चामल र दुई मुठी दाल मिसाएर यस्तो जाउलो तयार गरिन्छ । पाक्ने बेलामा मेथी र लसुनलाई घिउमा फुराएर राखिन्छ ।
केही छिन छोपेर अलिकता घिउ हालेर पकाउने गरिन्छ । यसरी पकाएको मेथी जाउलो खाँदा केटाकेटीले पेट दुखाइमा आराम हुनुका साथै जाउलो स्वादिलो पनि हुन्छ ।
जाउलो पकाउने तरिका अनुसन्धान गरेर तयार गरिएको, यो कुनै नयाँ तथा आधुनिक ज्ञान होइन । यो केवल परम्परागत रैथाने ज्ञान हो ।
मेथीलाई फुराएर खाँदा पेटदुखाइ कसरी कम हुन्छ १ पछिल्लो समय यस्ता रैथाने खानाका बारेमा वैज्ञानिक विश्लेषण हुने गरेको छ । मेथीमा स्वास्थ्यलाई लाभ पुर्याउने धेरै प्रकारका गुण हुन्छन् भन्ने कुरा अहिले खोज अनुसन्धानबाट पनि सिद्ध भइसकेको छ ।
मेथीमा रहेको रेसादार पदार्थले कब्जियत घटाउन मद्दत गर्छ । साथै चिनी रोग र उच्च रक्तचाप भएका व्यक्तिलाई पनि यसको सेवनले फाइदा गर्छ । यस्तो समस्या भएका व्यक्तिले औषधि छोडेर केवल मेथीको सेवन गरेर मात्रै चिनी रोग निको हुने चाहिँ होइन ।
विभिन्न खाद्य वस्तुहरूको प्रयोगले रोग लाग्न नदिन र रोगलाई नियन्त्रण गर्न मद्दत गर्छन् । तर यस्ता खाद्यवस्तु खाँदैमा आफूखुसी औषधि छोड्नु चाहिँ हुँदैन ।
मधुमेह लगायत कुनै पनि रोगको औषधि खाने, छोड्ने वा घटाउने भन्ने सम्बन्धमा सम्बन्धित डाक्टरको राय लिनु नै सही कदम हुन्छ ।
सुत्केरी आमालाई मेथीको दानाको खीर बनाएर दिने चलन पनि छ । कतिपयलाई ‘ल मेथीको खीर पनि कसरी खाने होला ? तीतो पो हुन्छ’ भन्ने परिरहेको हुन्छ ।
तर मेथीलाई भिजाएर त्यसको पानी निचोरेर दूधमा पकाएर खाँदा त्यसको तीतोपन धेरै कम हुन्छ । साथै बानी लागिसकेपछि त त्यही तीतो नै मीठो लाग्छ ।
मेथीको विभिन्न तरिकाले प्रयोग गर्दा सुत्केरी आमाको दूध बढी आउँछ । गर्भवती र सुत्केरी महिलालाई स्वस्थ राख्न अनेक किसिमको महँगो र बजारिया खानेकुरा किन्नै पर्दैन । घरमा नै भएका खानेकुराले स्वस्थ रहन सकिन्छ । तीमध्ये मेथीको प्रयोग पनि गर्भवती र सुत्केरी महिलालाई स्वस्थ राख्ने एक उपाय हो ।
गर्भवती महिलालाई कब्जियत आम समस्या हो । बजारका अनेकौँ औषधि प्रयोग गर्नुभन्दा भिजाएर टुसा उमारेको मेथीको सलाद खाँदा कब्जियत समाधान गर्छ ।
साथै मेथीमा रहेको लौह तत्त्वले रगत बढाउन मद्दत गर्छ । सलाद बनाउँदा यसमा कागती हालेपछि मेथीमा रहेको लौह तत्त्व शरीरमा राम्रोसँग मिल्छ ।
यो रक्तअल्पता हुनबाट रोक्न मात्र नभएर शरीरमा रगतको मात्रा बढाउनका लागि पनि निकै उपयोगी छ ।
सजिलै पाइने र घरमै विभिन्न प्रकारका परिकार बनाएर खान सकिने बहुगुणकारी मेथीको बारेमा हाम्रा धेरै ग्रामीण महिला अनभिज्ञ हुन्छन् । मेथीको महत्त्व बारे थाहा पाएमा महिलाको स्वास्थ्य राम्रो पार्न सहज हुन्छ ।
धेरै नेपाली महिलामा अहिले रक्त अल्पताको समस्या देखिन्छ । मेथीको महत्त्व थाहा भएमा र यसको प्रयोग गरेमा यो समस्या घटाउन सकिन्छ । साथै विभिन्न रोगको संक्रमणबाट बच्न पनि सहयोग पुग्छ ।













प्रतिक्रिया