काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक अध्ययनले देखाएको छ ।
स्याउ र केरामा गरिएको परीक्षणमा केही विषादीको मात्रा सरकारी अधिकतम अवशेष सीमा भन्दा बढी पाइएपछि उपभोक्ताको स्वास्थ्य जोखिम बढेको फुड कन्ट्रोलमा प्रकाशित एक अध्ययनले निष्कर्ष निकालेको हो ।
विभिन्न जिल्लाबाट संकलित नमुनामा गरिएको परीक्षणमा टेबुकोनाजोल, डाइफेनोकोनाजोल, प्रोपरजाइट र इमिडाक्लोप्रिड जस्ता विषादीहरू सबैभन्दा बढी फेला परेका छन् ।
तीमध्ये प्रोपरजाइट स्याउमा सबैभन्दा उच्च मात्रामा देखिएको र करिब २४ प्रतिशत नमुनामा अधिकतम अवशेष सीमा नाघेको पाइएको अध्ययनले जनाएको छ ।
त्यस्तै एपोक्सिकोनाजोल, क्विनालफोस, फेनप्रोपाथ्रिन र बिफेन्थ्रिन जस्ता विषादी पनि स्याउमा मापदण्डभन्दा बढी पाइएका छन् भने केरामा मेटालाक्सिल र इमिडाक्लोप्रिडको मात्रा पनि निर्धारित सीमाभन्दा माथि देखिएको छ ।
अध्ययनअनुसार यस्ता विषादीयुक्त फलफूलको सेवन गर्दा विशेषगरी बालबालिकामा बढी स्वास्थ्य जोखिम हुने देखिएको छ । प्रोपरजाइट भएको स्याउ खाने बालबालिकामा सबैभन्दा बढी जोखिम रहेको उल्लेख गरिएको छ ।
यसैबीच, किसानहरूमा विषादीको सुरक्षित प्रयोगबारे ज्ञानको कमी रहेको पनि अध्ययनले देखाएको छ । धेरै किसानहरूले सिफारिसभन्दा बढी मात्रामा विषादी प्रयोग गर्ने, विभिन्न औषधि मिसाएर ‘मिश्रण’ बनाउने र प्रतिबन्धित औषधिसमेत प्रयोग गर्ने गरेको पाइएको छ ।
कम लागत र प्रभावकारिताका कारण किसानहरूले जोखिमपूर्ण विषादी प्रयोग गर्ने गरेको उनीहरूले बताएका छन् । साथै, सुरक्षा सावधानी अपनाउने व्यवहार पनि कमजोर देखिएको छ ।
विशेषज्ञहरूले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि विषादी प्रयोगमा कडाइ गर्न, किसानलाई तालिम दिन र बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् ।













प्रतिक्रिया