पोखरीभन्दा ठूला माछाहरूको आतंक « Khabarhub

पोखरीभन्दा ठूला माछाहरूको आतंक

पदको गरिमा: बीपीदेखि बालेनसम्मको चर्चा



संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न सभामुख कृष्णप्रसाद भट्टराईको खोजी गरे । तर उनी न आवासमा भेटिए, न अफिसमा । आफन्त, साथीभाइसँग बुझ्न सैनिक दौडाए । कसैले भेटेको खुट खबर ल्याएनन् । राजा महेन्द्रलाई सभामुख नभेटिएको व्यहोरा जानकारी गराएपछि उनले हाँस्दै भनेछन्- ‘मैले सुनेअनुसार नरदेवीतिर बाँला मयजुको भट्टीमा भेटिन्छन् । त्यहाँ गएर तुरुन्त दरबार लिएर आउनू ।’ नभन्दै भट्टराई राजाले दिएको ठेगानामै लोकल ठर्रा खाइरहेको अवस्थामा फेला परे ।

अलिअलि रमरम लागेका भट्टराईले राजासँग भनेछन्– ‘सरकार, म त शाहवंशका राजाको पुरोहितको वंशज हुँ । तर रक्सीमा जुन आनन्द छ, त्यो कतै छैन । रक्सी लागेपछि मान्छे, मान्छेबीच विषमता, भेदभाव रहँदैन ।’ भट्टराईको संवाद सुनेपछि राजा महेन्द्र खुलेर हाँसे ।

चुनाव प्रचारमा हिँड्दा जर्किनमा रक्सी बोकेर हिँडेको भेद खुलेपछि ‘रक्सी खाने बाहुन’ भनेर भट्टराई संसदीय चुनावमा नराम्ररी पछारिए । पार्टीले दुई तिहाई ल्याउँदा संस्थापक नेता ‘पानी’ भन्न नपाउने अवस्थामा पुग्लान भनेर त्यतिबेला कसैले सोचेकै थिएन । जनताबाट अनुमोदन नभएका भट्टराई सभामुख बनाइए । संसदीय राजनीति बनाउने खेलकुद त्यहीँबाट आरम्भ भएको थियो ।

कालो चस्मा लगाउन रुचाउने राजा महेन्द्रको दृष्टि सफा थियो । हरेकलाई ‘क्रसचेक’ गर्थे । उनले राज्य सञ्चालनमा पारिवारिक दख्खल रुचाएनन् । छोरालाई एक्लो भेटेनन् । आफू सुत्ने खोपीको बारेमा आफ्नै परिवारका सदस्यलाई जानकारी दिएनन् । माटोको सुगन्ध सबैले पाउन भन्नाका लागि ताप्लेजुङ, पाँचथर, इलामका जनजातिलाई सुदूरपश्चिमको महेन्द्रनगरमा बसोबासको प्रबन्ध मिलाए । मगर, गुरुङ चितवन, बटौली झारे । त्यही नीतिअनुसार मुसलमान पहाडमा विस्तार भए ।

अनागरिक भएर रहेका नेपाली मूलका बर्मेलीलाई देश फर्काएर मातृभूमिसँगको साइनो मजबुत गराए । कला, संस्कृति र साहित्यको विकास गर्न सीमापारीका अम्बर गुरुङ, लैनसिंह बाङदेललाई नेपाल भित्र्याए । अमेरिका पढ्दै गरेको जेनजी ठिटो भेषबहादुर थापालाई जन्मभूमिको सेवाका लागि आमन्त्रण गरेर प्रज्ञा र चेतनालाई यथोचित ठाउँ दिए । धनुषा, सर्लाहीका चोरी डकैती पेशा गरेका नागरिकलाई आवासको सुविधा दिलाएर राज्य सबैको संरक्षक भन्ने अनुभूति दिलाए । सीमावर्ती क्षेत्रमा तारबारको सट्टा मान्छे बस्ती बसाएर राष्ट्रियताको आधार खडा गरे ।

सन् १९६७ अमेरिका भ्रमण गर्दा राष्ट्रपति लिन्डन बेन्स जोन्सनसँगको भेटमा सहयोग लिने तर असंलग्न परराष्ट्र नीतिको सिद्धान्तमा तलमाथि नगर्ने अडान लिए । नेतृत्वको नियत र हिँड्ने बाटो सही छ भने पदले व्यक्तित्व नभएर व्यक्तित्वले पदको गरिमा बढाउने हो । खोटो सोचवाला लबेदा सुरुवालधारीभन्दा नियत सफा भएका कट्टुधारी धेरै बेस हुन्छन् ।

‘राष्ट्रपिता’ भनेर इतिहासको दस्तावेजमा फुक्र्याइएका राजा त्रिभुवन छोराभन्दा विपरित थिए । रसरंग उनको जीवनकै पहिलो र अन्तिम ध्येय थियो । पाँच वर्षको उमेरमा राजा भएका उनले ४३ वर्ष राजकाज सम्हाले । रणबहादुर, सुरेन्द्रविक्रम, त्रिभुवनलाई इतिहासकारले ‘लम्पट’ राजाका रुपमा व्याख्या गरेका छन् । मदिरा र सुरासुन्दरीका प्रिय त्रिभुवनका दरबारमै आधा दर्जन अनौपचारिक पत्नी थिए ।

‘राजा त्रिभुवनले मदिरा र मलाई समान प्रेम गरे । खोपीमा उपलब्ध सुरा र सुन्दरी अनि काठमाडौँका ‘भूमिगत’ अखडाले नअघाएर उनी कामबासनाको अतृप्त प्यास मेटाउन कलकत्तासम्म धाउँथे । नाइट क्लब धाउने, जथाभावी रक्सी पिउने उनको बानी थियो ।’

राणाकालमै त्रिभुवनकी जेठी रानी कान्ति राज्यलक्ष्मीको मालिस गर्न दरबार छिरेकी युरोपेली नर्स एरिका लुखट्यागले आफ्नो पुस्तकमा भनेकी छन्–‘राजा त्रिभुवनले मदिरा र मलाई समान प्रेम गरे । खोपीमा उपलब्ध सुरा र सुन्दरी अनि काठमाडौँका ‘भूमिगत’ अखडाले नअघाएर उनी कामबासनाको अतृप्त प्यास मेटाउन कलकत्तासम्म धाउँथे । नाइट क्लब धाउने, जथाभावी रक्सी पिउने उनको बानी थियो ।’

राजषी ठाँटबाँट र पदीय ओज भुलेर त्रिभुवनले भारतमा लीला मच्चाएको प्रधानमन्त्री जवाहरलाल नेहरूले चित्त बुझाएनन् । बीपी दिल्ली गएका बखत नेहरुले गम्भीर आपत्ति जनाउँदै भनेछन्– ‘तिम्रा राजा कलकत्ता आउँछन्, बम्बई जान्छन् । स्वास्नीमानिससँग, हलुका व्यापारीसँग, सिन्धीहरूसँग मेलजोल गर्छन्, त्यो राम्रो भएन । त्यसो हुनाले तिमीले त्यस सम्बन्धमा राजालाई सम्झाउनुपर्‍यो ।’

बीपी कोइरालाले त्रिभुवनको स्त्री र मदिरामोहबारे ‘आत्मवृत्तान्त’मा उल्लेख गर्दै भनेका छन्– ‘साम्राज्य शमशेरले आफ्नो घरमा दिएको पार्टीमा छोराहरू र बुहारीहरूकै अगाडि त्रिभुवन रक्सीले मातेर धुत भई आफ्ना लागि साम्राज्य शमशेरको घरमा स्थायी रूपमा बन्दोबस्त गरिएकी केटी च्यापेर एउटा कुनातिर पसेका थिए । बुहारीलाई असहज हुनेगरी युवतीसँग भड्किलो पारामा नृत्य गरेका थिए ।’

सत्ताको उन्माद अलग हुन्छ । त्यहाँ बसेर बोल्दा, निर्णय गर्दा हिजो, आज र भोलिको विवेक पुर्‍याउनु पर्छ । युरोप, अमेरिकामा फराकिला बाटा, यत्रतत्र खाली जमिन, जंगल, जल, इन्धन, नून बुद्धि नभएर भण्डार गरिएको होइन । बरु दशकौं पछि आउने सन्ततिको भविष्य सुरक्षित गरिएको हो । बालेन नेतृत्वको नयाँ सरकार आएपछि गरिएका केही निर्णयमा अलि आलाकाँचा खालको औडाहा देखिन्छ । पत्राचार, भाषणका निर्देशन, मन्त्रीको दौडाहा, प्रधानमन्त्रीको हतारो, धम्की राज्य संयन्त्रमा नचलेका मोहोर हुन् ।

घोडाको मुखका अघिल्तिर घाँस र दाना सँगसँगै प्रबन्ध गर्न नसक्ने हो भने सिर्कनो बोक्नेहरु अलि दिनपछि आफैं थन्किन्छन् । सय दिन नपुगी सरकारको आलोचना गर्न नहुने विश्वव्यापी मान्यता छ । यद्यपि वर्तमान सरकारका केही अपरिपक्व गतिविधि हेरौं । बजेट आउन डेढ महिना बाँकी छ । साढे चौध खर्ब रुपियाँ प्रदेश, सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब र पेन्सनमा खर्च हुन्छ । अहिलेसम्म त्यसको आधा पनि राजश्व उठेको छैन । उल्टो पेट्रोलियमको कर विना होमवर्क आधा घटाइएको छ । भन्सार बिन्दुबाट अत्यावश्यक सामग्री बोकेर आउने साधन, जनता दैनिकी नै ठप्प हुने विषयमा निर्मम निर्णय गर्नु अलग हो । सामान्य अवस्थामै करमाथि खेल्नु उचित होइन । २० रुपियाँ जम्मा गर्ने हुति नभएको अवस्थामा दुई रुपियाँ राजश्व, देवश्व चलाउनु हुँदैन ।

सरकारले गर्ने असल निर्णयले बेथितिका बादल स्वत फाट्दै जाने हो । सुशासनका नाममा मान्छे पक्रने अभियान भनेको कुनै रुखमा एउटा मानिस झुण्डियो भनेर त्यसको निदान खोज्न सबै रुख मास्नुजस्तै हो । जनताले सरकारका फ्रन्ट डेस्क बुझाउने कागजात संसारको कुनै विज्ञले तयार गर्न सक्दैन । त्यसको पहिलो र अन्तिम विकल्प लेखापढी गर्ने मानिस नै हो । लेखापढी गर्ने मानिसलाई ‘बिचौलिया’ नभएर समन्वयकर्ता बनाइनु पर्छ । बरु राज्यले कुन कामका लागि कति शुल्क लिने, दिने त्यो तोकिदिनुपर्छ ।

भन्सार विभागले परीक्षा लिएर भन्सार एजेन्ट खटाउँछ । शेयरका ब्रोकर लाइसेन्स लिएर बसेका छन् । पुलिसका पूर्व उच्च अधिकारीका दर्जनौं गार्ड कम्पनी छन् । डान्सबारमा बाउन्सर छन् । पशुपतिका गेटमा सुरक्षाकर्मी छन् । आर्यघाटमा मानिस जलाउने वस्तुहरुको रेटसहित बजार छ । समाजमा मान्छे मार्ने, बचाउने, खरानी पार्ने तीनैथरिको सहअस्तित्व छ । विरामी नहुने, मान्छे नमर्ने हुँदैन । राज्यले कम गर्ने प्रयासको बाटो पक्रने हो ।

हातमा ट्याटु हानेका खाइलाग्दा सबै बदमास हुँदैनन् । झोला बोक्नेहरु बिचौलिया हुँदैनन् । धोती लगाउने सबै महात्मा गान्धी हुँदैनन् । ध्यान गर्ने सबैले गौतम बुद्धको उपमा पाउँदैनन । विदुर महाज्ञानी थिए, उनी राजा भएनन् । त्यसैले प्रकृति बदल्ने नभएर भइरहेकोमा सुगन्ध थप्ने हो । स्कुलले चैतमै विद्यार्थीको जाँच सकेका छन् । वैशाख १५ लाई शैक्षिक सत्रको साइत तोकेर अर्कातिर गिजोलेको छ । आधा महिना विद्यार्थीलाई कुन खुराकले अड्याउने ?

९ बजे सरकारी कार्यालय समय तोकेर हप्ता विदा दुई दिन गरिएको छ । तर आयल निगम तेलको संकट भएका बेला गाडी नचढ्न सचेत गराउँछ । सरकारका मानिसमा रातोदिन काम गर्ने हुटहुटी छ । तर सवारी साधनको इन्धन कटौती गरिन्छ । बरु देश बनाउने अभियानमा जति पनि खर्च गर्ने अभियान थालिनुपर्छ । नत्र त सिंहदरबारभित्रको एउटा मन्त्रालयले पठाएको पत्र हुलाकबाट एक हप्तापछि हात पर्ने पहिलाको शैली कायमै रहने निश्चित छ ।

मानिस खुसी भयो भने बेहिसाब काम गर्छ । त्यसका लागि सम्मान र माया अपरिहार्य छ । प्रकृतिको नियममा दिएपछि मात्रै लिने बाटो सहज बन्छ । दिने खोला सधैं कञ्चन छ । लिने समुद्र भोको छ । सन्तुष्ट भएपछि गाईले बाल्टीभरि दूध दिन्छ । सूर्यले न्यानो प्रकाश दिएपछि हिउँ पग्लिएर पानी बन्ने हो । पहरो रसाएपछि मूल फुट्ने हो ।

मासुको एउटा टुक्रो मिल्काइदिनुस् अबोध कुकुरले तपाईंको अनुहार महिनौं स्मरणमा राख्छ । प्रकृतिको सर्वाधिक सारो ढुंगा, नरम पानी । वर्षौंको घर्षणले त्यही नरम पानीले ढुंगो खियाएर चिल्लो बनाएरै छोड्छ । पत्याउनुहुन्छ– यो विराट धरामा मानिसको भन्दा कमिलाको तौल बढी छ।

प्रकृतिको सर्वाधिक सारो ढुंगा, नरम पानी । वर्षौंको घर्षणले त्यही नरम पानीले ढुंगो खियाएर चिल्लो बनाएरै छोड्छ । पत्याउनुहुन्छ– यो विराट धरामा मानिसको भन्दा कमिलाको तौल बढी छ।

कर्मको फल मानिसमा मात्र सीमित छैन । भगवानमा पनि त्यही नियम लागू हुन्छ । महाभारतको युद्ध समाप्त भएपछि गान्धारीले आफ्ना सयवटा छोराको शव देखिन । रुँदै आक्रोशित मुद्रामा कृष्णलाई सोधिन– ‘मेरा सय पुत्र मारिए । के मेरो त्याग व्यर्थ थियो ?’ कृष्णले शान्त भावमा उत्तर दिए– ‘माता ! तपाईंले पट्टी आफ्नो पतिका लागि नभएर सन्तानको अपराध खातिर पनि बाँध्नुभयो । जब आफ्नोको गल्तीका लागि आँखामा पर्दा राखिन्छ भने बर्बादी कसैले रोक्दैन’ । गान्धारीको श्रापकै कारण भगवान श्रीकृष्णले व्याधाको निसानामा परेर प्राण त्याग्नुपरेको मत एकतर्फीको छ ।

राज्य संयन्त्रको प्राधिकार बोकेकाले गर्नुपर्ने के हो ? इतिहासमै उल्लेख छ । बीसको दशकमा अतिवृष्टि भएर बागमतीमा ठूलो बाढी आएछ । विमानस्थल, ललितपुर, भक्तपुर जोड्ने बाटोमै समस्या आएपछि राजा महेन्द्र निरीक्षणमा पुगेछन् । त्यहाँ पुग्दा प्रमुख तालुकदार बागमती अञ्चलाधीश विष्णुमणि आचार्य सरदारबाजेलाई नदेखेपछि राजा खिन्न भएछन् । एकछिनपछि तिनै सरदारबाजे एक लहरी रित्ता बोरा लिएर कताकताबाट टुप्लुक्क देखा परेछन् । राजाको सोधनीपछि उनले बिन्ती बिसाएछन्– ‘हात र आँखाले बाढी रोकिन्न भनी बोरा खोज्न गएँ । अब बोरामा बालुवा भरेर पुल जोगाउनतिर लाग्छौं सरकार ।’ साइरन हैन, यो खाले एक्सन अहिलेको खाँचो हो ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ९ : ०५ बजे

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई

चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण

एजेन्सी– चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो प्रगतिलाई निरन्तरता दिँदै नयाँ इन्टरनेट

‘व्यापार व्यवसाय उद्योगको विकास विकास नै आर्थिक समृद्धिको मूल आधार’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले व्यापार व्यवसाय, उद्योग धन्दा र आर्थिक