अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा « Khabarhub

वर्ष समीक्षा

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा



काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ । सातबुँदे सहमतिमा बनेको कांग्रेस–एमाले सरकारलाई परास्त गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र नवपुस्ताको आन्दोलनपछि नयाँ म्यान्डेट अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह प्रधानमन्त्री भएको सरकार अहिले जनताले पाएका छन् ।

अकल्पनीय परिवर्तनको वर्ष बनेको २०८२ बिदा हुने चरणमा छ । भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनले कांग्रेस–एमालेको आलोपालो सरकार सत्ताच्युत भएपछि देशले नयाँ उतारचढाव झेल्नुपर्‍यो । हुन त ठूला दलले २०८१ मै सुशासन र जनताको विश्वास जित्न नसकेपछि व्यवस्था नै परिवर्तन गर्ने भन्दै राजावादीका नाममा आन्दोलन तातिएको थियो ।

२०८१ मा अन्य सडक आन्दोलन भए पनि ठूला राजनीतिक दलले वास्ता नगरेपछि २०८२ मा अकल्पनीय राजनीतिक परिवर्तन भएको देखिन्छ । जनता दलप्रति उदासीन हुनु र सरकार डेलिभरीमा भन्दा सत्ता जोगाउन केन्द्रित रहँदा २०८२ भदौ २३ र २४ को आन्दोलनले कांग्रेस–एमाले सरकार भत्काएको हो भन्दा फरक पर्दैन ।

२०८१ राजनीतिक भुमरीमा घुम्दा २०८२ मा देशले अकल्पनीय क्षतिसमेत भोग्यो । नयाँ पुस्ताले आन्दोलन गर्दा सरकारी लापरबाहीका कारण ७७ जना मृत्युको मुखमा पुगे । आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, ११९ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालय तोडफोड भएको सरकारी तथ्याङ्क छ ।

९७८ थान हातहतियार लुटिएकोमा अहिले पनि फिर्ता हुने क्रम जारी छ । समग्र क्षतिको विवरण आकलन खर्ब नजिक पुगेको विभिन्न अध्ययन–अनुसन्धानले देखाइरहेका छन् । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न गठित समितिले तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा खर्ब नजिक क्षति भएको विवरण देखिन्छ । सरकारी पोसाकमा रहेका विद्यार्थी र अन्य भयानक मृत्युले नेपाली समाजलाई त्रास दिएको देखिन्छ ।

सङ्कटमोचनमा सुशीलाको भूमिका

नवपुस्ताको आन्दोलनमा परिपक्वता, स्वच्छता र निष्पक्षता भने देखिन्थ्यो । संविधान मान्ने र लोकतन्त्रलाई विश्वास गर्ने नयाँ पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका रूपमा अगाडि सार्ने निर्णय गरे । देशलाई सङ्क्रमणकालीन अवस्थाबाट जोगाउन र जेनजी विद्रोहलाई शान्तिपूर्ण बनाउन कार्कीले महत्त्वपूर्ण भूमिका खेलिन् ।

पूर्वप्रधानन्यायाधीश कार्की राजनीतिक दलबीच गहिरो असहमति हुँदाहुँदै पनि नयाँ पुस्ताको साथले प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । कार्की भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले छ महिनाभित्र निर्वाचन सम्पन्न गराएर देशलाई नयाँ मोडतर्फ उन्मुख गराइन् ।

फागुन २१ मा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराएर कार्कीले नेपालको राजनीतिक इतिहासमा गहिरो योगदान दिएकी छन् । निर्वाचन सम्पन्न गराउन सुरुमा कार्कीलाई तत्कालीन ठूला राजनीतिक दल कांग्रेस र एमालेले साथ नदिए पनि अन्तिममा उनले मनाएरै निर्वाचन सम्पन्न गराइन् ।

निर्वाचन सम्पन्न गराएपश्चात् कार्की सम्मानपूर्वक सिंहदरबारबाट बाहिरिइन् । त्यसपछि चैत १३ अर्थात् रामनवमी पर्वको अवसर पारेर वैकल्पिक धारबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका छन् ।

पुरानाप्रतिको उकुसमुकुसले नयाँलाई बहुमत

२०८२ फागुन २१ मा भएको निर्वाचनले विगत ३५–३६ वर्षदेखि राजनीति गर्दै आएका पुराना दललाई निकै चुनौतीपूर्ण मोडमा पुर्‍यायो । पुराना दलहरूप्रति जनता उकुसमुकुस भइसकेका छन् भन्ने गतिलो उदाहरण निर्वाचनबाट प्राप्त भएको छ । २०७९ मा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई यही व्यवस्थामामार्फत दुईतिहाइ नजिक अर्थात् १८२ सिट दिएर नेपाली जनताले पुराना दललाई झापड हानेका छन् ।

२०७९ को निर्वाचनमा २१ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले यस निर्वाचनमा ४० वर्ष मुनिका युवालाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचनमा होमिँदा दुईतिहाइ बहुमत नजिकको सिट ल्याउन सफल भएको छ । वैकल्पिक शक्ति मिलेर राजनीतिक छलाङ निकालेको राष्ट्रिय स्वतन्त्र पार्टीले परम्परागत मतदाताको मत परिवर्तन गरेर जनतामा देखिएको परिवर्तनको हुटहुटीलाई ‘क्याप्चर’ गरेको छ ।

प्रत्यक्षमा १२५ ठाउँ जितेर समानुपातिकमा ४६ सिट प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ को निर्वाचनमा पहिलो दल बनेको कांग्रेसलाई प्रत्यक्षमा १८ सिटमा खुम्च्याइदियो । कांग्रेसले समानुपातिकमा २० सिट जित्दा २०७९ को दोस्रो दल नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट ल्याएको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जितेको छ । पुराना दल सानो आकारमा खुम्चिँदा पूर्वबाट उदाएको हर्क साम्पाङको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्यो । साम्पाङको पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ सिट जितेको छ ।

२०७९ मा राजा फर्काउने एजेन्डासहित सडकमा निस्किएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा जम्मा १ सिट जित्यो । समानुपातिकमा उसले ४ सिट जितेको छ । पुराना दललाई जनताले उपेक्षा गर्दा परीक्षणको कसीमा नयाँ दल देखिएका छन् ।

राजनीतिक रूपान्तरण हुँदै गर्दा नयाँको कार्यशैली र प्रवृत्तिमा पनि नयाँपन र जनअपेक्षा नसमेटिए अर्कोपटक पुनः नयाँले पनि धक्का महसुस गर्नुपर्ने अवस्था हुनसक्छ । किनकि २०७९ को निर्वाचनमा मधेसबाट नयाँ दलका रूपमा उदाएको जनमत पार्टी यसपटक एक सिट पनि नजिती विभाजनको अवस्थामा पुगेको छ । यसबाट पनि नयाँ दलले जनअपेक्षा अनुसार सैद्धान्तिक नीति र नेतृत्वका आधारमा काम गर्नुपर्ने देखिन्छ ।

यसपटकको निर्वाचनले मधेसी र पहाडीबीचको खाडलसमेत पुरिदिएको छ । मधेसी दल सबै शून्यमा झरेका छन् । हिमाल, पहाड र तराईका जनताले पनि नयाँ पार्टी अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीलाई परीक्षण गरेको देखिन्छ । आफ्नो दल अदलबदल नगरी रास्वपालाई जनताले एकपटक अवसर दिएका छन् । अब उसलाई यो वा त्यो कारण काम गर्न पाइनँ भनेर बहाना बनाउने छुट छैन ।

युवाको परीक्षण, मतदाताको मौन विद्रोह

चैते दसैँ अर्थात् रामनवमीले यसपटक देशलाई युवा प्रधानमन्त्री दिएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा निर्वाचित बालेन्द्र शाह देशको प्रधानमन्त्री नियुक्त भए । बालेन्द्र युवाका आशा र भरोसाका प्रतीक हुन् । कुरामा भन्दा काममा विश्वास गर्ने बालेन्द्रले २०८२ मा पनि नबोलेरै निर्वाचन जिते ।

उनले निर्वाचन मात्र जितेनन्, भदौ २३ र २४ गतेको आन्दोलन हिंसात्मक बनाएको अभियोग लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेर पार्टीलाई पनि दुईतिहाइको नजिक पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । सहरदेखि गाउँका दुर्गम बस्तीमा पनि उनको क्रेजका कारण पार्टीलाई ऐतिहासिक सफलता हात पार्न सजिलो भयो ।

बालेन र रविको क्रेजकै कारण पार्टीले बहुमत ल्याएको दाबी त पार्टीका अन्य शीर्ष नेताले भनिरहेकै छन् । आन्दोलनका कारण परिवर्तनको हुटहुटी राखेका नेपाली जनतालाई बालेन्द्र–रवि मिलेका कारण धेरै आशा थपिदिएको छ । २०८२ को अन्त्यसँगै दुई युवा नेतृत्वको परीक्षण सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविले बालेन्द्रलाई प्रधानमन्त्री दिएर आफू भने पार्टी सञ्चालन गरिरहेका छन् ।

फाइल तस्बिर

अहिलेसम्म यी दुई व्यक्तिको ‘केमेस्ट्री’ मिलेको देखिन्छ । परम्परागत दलजस्तो सत्तालाई हतियार नबनाउने भन्दै अहिलेसम्म रविले प्रधानमन्त्रीको दाबी गरेका छैनन् । जसका कारण बालेन्द्रले नै पाँचै वर्ष सरकार चलाउने अवस्था रहेको पार्टी नेतृत्व बताउँछ ।

अहिलेसम्मको अवस्था हेर्दा रवि र बालेनबीच सरकार गठन र सञ्चालनमा विवाद देखिएको छैन । साँच्चिकै विवाद नभएको हो वा नदेखाइएको हो, त्यो हेर्न भने केही वर्ष पर्खिनुपर्छ । मतदाताले नयाँहरूलाई ठूलो जिम्मेवारीको भारी बोकाएका छन् । रवि र बालेन्द्रले देशलाई निश्चित ट्र्याकमा हिँडाउँछन् भन्ने मतदातामा विश्वास देखिन्छ ।

हालसम्म मन्त्रिमण्डलबाट काम गर्न नसक्ने मन्त्रीसमेत हटाएर प्रधानमन्त्री बालेन्द्रले एउटा गर्विलो सन्देश दिएका छन् । काम गर्न नसक्ने मन्त्रीलाई सजग गराएर उनले अन्य मन्त्रीलाई गलत काम गर्नबाट रोक लगाएका छन् ।

नबोलेरै काम गरिरहेका प्रधानमन्त्री बालेन्द्रले आक्रोश र आवेगलाई सुधार गर्नुपर्ने खाँचो भने छ । किनकि उनी कहिलेकाहीँ आवेग र आक्रोशमा काम गरिरहेका छन् भन्ने कुरा विभिन्न व्यक्तिलाई विनासूचना पक्राउ गरेको व्यवहारले देखाउँछ ।

अत्यासमा पुराना दल

सरकारले २०४६ सालपछाडि पदमा रहेका सम्पूर्ण व्यक्तिको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारका फाइल खोल्ने कुराले पुराना दलमा अत्यास बढेको छ । युवा पुस्तामा राजनीतिक चेतना आउनु र पुराना नेताहरूलाई बिदा हुन अनुरोध गर्नुले धेरैजना पूर्वप्रधानमन्त्री र पुराना नेताहरू त्रासमा छन् ।

भदौ २३ र २४ को घटनालाई हिंसात्मक बनाएको अभियोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेर हाजिरी जमानीमा छुटेका छन् । अन्य व्यक्ति पक्राउ पर्ने क्रम जारी छ । अहिले २०४६ सालपछाडि पदमा पुग्ने व्यक्तिको सम्पत्ति छानबिन गर्ने कुराले विभिन्न पद धारण गरेका व्यक्तिलाई ढ्याङ्ग्रो बजेको देखिन्छ ।

पुराना नेताले आफू फस्ने डरले आफ्ना पार्टीका नवपुस्तालाई सडकमा ल्याउन थालेका छन् । आरोप, प्रत्यारोप, प्रतिशोध र आलोचनाभन्दा पर बसेर काम गरिरहेको सरकारलाई राजनीतिक दलका भ्रातृ सङ्गठन र युवा सडकमा आउँदा कुनै फरक परेको देखिँदैन ।

लोकतन्त्रमा सडकबाट आफ्ना विचार स्वतन्त्रपूर्वक राख्न पाइन्छ भन्ने उद्देश्यले सरकारले पनि उनीहरूलाई खासै मतलब दिएको छैन । तर विगतजस्तो भ्रातृ सङ्गठन र संस्था जागृत हुन नसक्दा २०४६ सालपछाडिका विभिन्न फाइल खुल्छन् भन्ने आकलन गर्न कठिन छैन ।

अहिले गाउँ–बस्तीमा पुराना दलहरूप्रति जनविश्वास घट्नु र उनीहरूमा परिवर्तनको हुटहुटी देखिनुले पनि पुराना दल अत्यासमा देखिन्छन् । युवा पुस्तामा राजनीतिक चेतना बढेर डिजिटल प्रविधिको प्रयोगमार्फत सबैलाई घच्घच्याउन सक्ने क्षमता आउनुले पुराना राजनीतिक दलले पुस्तान्तरण, नीतिगत र पार्टीको संस्थागत सुधार गर्न आवश्यक देखिन्छ ।

यसै कारण पुराना दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी लगायतमा अहिले नेतृत्व परिवर्तन र संस्थागत सुधारको एजेन्डा युवाले उठाउन थालेका छन् । आफ्नै पार्टीका युवाले परिवर्तनको एजेन्डा उठाएपछि पाका पुस्ता रोक्न पनि उत्तिकै सक्रिय छन् । तर रोकिने अवस्था देखिँदैन ।

आफ्नै पार्टीका युवाले साथ नदिनु र सरकारले पनि पुराना नेताको गल्ती–कमजोरीलाई कोट्याएर कारबाहीको दायरामा ल्याएको खण्डमा पुराना दलको विचार जागृत हुने अवस्था छ । यसका लागि सरकारले पनि संयमता र राजनीतिक प्रतिशोध नराखी दोषीलाई कारबाही र निर्दोषलाई न्याय दिनुपर्ने अवस्था छ ।

समग्रमा २०८२ नेपाली जनताको परिवर्तनको हुटहुटीको वर्ष देखिएजस्तै यो सरकारले जनतामा परिवर्तनको विश्वास जगाउन सक्नुपर्ने चुनौती यथावत् छ ।

समयानुकूल परिवर्तनको अपेक्षा

समयानुकूल प्रविधि, नीति, क्षमता र पुस्तान्तरणको एजेन्डा उठाइरहँदा पुराना दलमा परिष्कृत सोच र परिपक्वता आउनुपर्ने देखिन्छ । हुन त एउटै निर्वाचनले को बलियो, को कमजोर भन्ने आकलन गर्न हतारो हुनसक्छ । तर परिवर्तनशील समय र परिष्कृत सोचका कारण समयनुकूल पार्टीले आफूलाई परिमार्जन नगरेको खण्डमा पुराना दल उठ्न सक्दैनन् भन्ने अनुमान गर्न कठिन छैन । तर पुराना दललाई आगामी निर्वाचनमा कस्तो आकारमा घटाउने वा बढाउने भन्ने साँचो नयाँ दल अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ ।

सरकारको नेतृत्व गरिरहेको यो पार्टीले जनअपेक्षा र वाचापत्र अनुसार काम गर्न सके आगामी दिनमा सोही पार्टीलाई फाइदा हुने देखिन्छ । यदि गर्न नसकेको खण्डमा फेरि नेपाली जनताले पुराना दललाई पुनर्विचार गर्ने अवस्था आउन सक्छ । सुसंस्कृत राजनीतिक अभ्यास र समयानुकूल परिवर्तन गरेको खण्डमा पुराना दलहरूको भविष्य पक्कै सप्रिन्छ ।

त्यसका लागि पुराना दलहरूले समयानुकूल परिष्कृत हुन र नवीन चिन्तन राखेर पारदर्शी राजनीति गर्नुपर्ने हुन्छ । अब नेपाली जनतालाई दलको अवस्था होइन, जनताको अवस्था परिवर्तन गर्ने पार्टी र व्यक्ति चाहिएको छ ।

नेपालका सबै राजनीतिक दलले राष्ट्रहितलाई मूलमन्त्र राखेर बदलिँदो अपेक्षा पूरा गर्नुपर्छ । व्यक्तिगत आकाङ्क्षा नभएर जनताका आधारभूत आवश्यकता पूरा गरी समाज सुधारको सङ्केत देखाइदिनुपर्छ ।

नातावाद, खिचातानी, महत्त्वाकाङ्क्षा र विरासतलाई ख्याल नगरी विज्ञता, अनुभव र सक्रियताका आधारमा संविधानको अधीनमा रहेर समानुपातिक समावेशितासहितको मर्म अनुरूप राज्य सञ्चालित हुन्छ भन्ने मतदाताको अपेक्षा छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  २ : ४४ बजे

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई

२०८२ सालको अन्तिम सूर्यास्त, यस्तो देखियो स्वयम्भू महाँचैत्य (तस्बिरहरू)

काठमाडौं–  वि.सं. २०८२ सालको अन्तिम साँझ राजधानी काठमाडौंको स्वयम्भू महाँचैत्य क्षेत्रमा

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको