बिर्सन लायक ८० सालको राजनीति | Khabarhub Khabarhub

बिर्सन लायक ८० सालको राजनीति

साना दलमा लोग्ने स्वास्नीको झगडादेखि टुटफुटसम्म



काठमाडौं-  वर्ष ०८० मा नेपालको राजनीतिले धेरैपटक कोल्टे फेर्‍यो । सम्झना लायक भन्दा पनि बिर्सन लायक परिघटना धेरै देखिए ०८० सालको राजनीतिमा ।

संविधान जारी भएपछिको दोस्रो कायृकालका रुपमा ०७९ मा तीनै तहको आम निर्वाचन सकिएको थियो । आम निर्वाचनको अर्को वर्ष ०८० सालमा सरकारहरु बनिसकेर देशले विकासमा गति लिनुपर्ने थियो । तर, संघदेखि प्रदेशसम्म सरकार गठन र विघटनको गोलचक्करमै ०८० साल खेर गयो ।

हुन त ०७२ सालमा संविधान बनेपछि अहिलेसम्म ८ वर्ष बितिसकेको छ । अझै पछाडि फर्कने हो भने ०६४ सालमा संविधानसभाको चुनाव भएपछि संविधान बन्न ८ वर्ष लाग्यो । यसरी गणतन्त्र आएको १७ वर्षसम्म हामी अल्मलिइरहेका छौं । ८ वर्ष लगाएर संविधान बनाउने नेताहरु नै अहिले फेरि संविधान फेर्ने कुरा गरिरहेका छन् । सडकमा व्यवस्थाविरुद्ध आन्दोलन पनि जारी छ । यो दुई दशक लामो अलमलका बीच ०८० सालको वर्ष दिन खासमा केही पनि होइन ।

तर, हरेक नयाँ वर्षले पुरानो वर्षमा गरिएका कामहरुको समीक्षा गर्ने र गल्ती नदोहोर्‍याउने प्रेरणा दिनु पर्दछ । यस अर्थमा ०८० सालको राजनीतिक परिघटनाहरुबाट पनि शिक्षा लिँदै अगाडि बढ्न जरुरी छ ।

यसै सन्दर्भमा नयाँ वर्ष २०८१ सालमा विगतको गल्ती नदोहो¥याउने प्रणसहित ०८० सालको अस्थिर राजनीतिलाई एकचोटि फर्केर हेरौं–

उपचुनाव :  ०८० साल वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन भयो । तनहुँ र चितवनमा एमाले र कांगेसका उम्मेदवारलाई पाखा लगाउँदै रास्वपाका उम्मेदवारहरु रवि लामिछाने र डा. स्वर्णिम वाग्ले निर्वाचित भए । बाराबाट जसपाका उपेन्द्र यादव विजयी बने ।

उपचुनावमा नयाँ दलले पाएको सफलता र कांग्रेस–एमालेको असफलताले आगामी दिनमा पुराना पार्टीहरु सुध्रिएनन् भने उनीहरुको ओरालो यात्रा सुरु हुन सक्ने पाठ ०८० सालको उपचुनावले पढाइसकेको छ । अब ०८१ साल बैशाख १५ गते हुने इलाम र बझाङको उपचुनावले नेताहरुलाई थप पाठ पढाउने नै छ ।

सप्तरीमा निर्वाचन हारेका उपेन्द्र यादवले बारामा पुगेर चुनाव लडे । यसलाई नैतिकताको कसीमा शोभनीय मानिएन । पराजितहरुले कम्तिमा पनि पाँच वर्ष नकुरी संसदमा जाने प्रचलनलाई यसले मलजल ग¥यो ।

राष्ट्रियसभा निर्वाचन : ०८० मा राष्ट्रियसभाले नयाँ अध्यक्ष पायो । एमालेका गणेशप्रसाद तिम्सिनाको कार्यकाल सकिएपछि फागुन २९ गते माओवादीका तर्फबाट प्रधानमन्त्री प्रचण्डका भाइ नारायणप्रसाद दाहाल अध्यक्षमा निर्वाचित भए ।

त्यस्तै राष्ट्रियसभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याललाई राजीनामा गराएर एमालेकी विमला घिमिरेलाई चैत २७ गते निर्वाचित गरियो । माघ ११ गते १९ जना राष्ट्रियसभा सदस्यहरु निर्वाचन मार्फत छानिए । ११ सांसद यसै वर्ष बाहिरिए ।

माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाको निर्वाचनमा दलहरुले छानेका पात्र र प्रवृत्तिलाई हेर्दा यो संस्थाको गरिमा कायम हुन नसकेको नकारात्मक चर्चा चल्यो, यसबाट नेताहरुले पाठ सिक्न जरुरी देखिएको छ ।

प्रचण्डको बलियो भाग्य : ०८० साल प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने व्यक्तिगतरुपमा राम्रैसित फाप्यो । ०७९ पुस ११ मा बनेको एमाले-माओवादीको गठबन्धन सरकारलाई वीचैमा धोका दिएर प्रचण्डले ०७९ फागुन १३ गते राष्ट्रपति निर्वाचनमा पुग्दा कांग्रेससँगको सत्ता सहयात्रा शुरु गरे ।

तर, उनले पुन: १ वर्ष ८ दिनपछि कांग्रेससँगको सत्ता सहकार्य छाडेर एमालेसँग तालमेल गरे । ०८० फागुन २१ गतेदेखि प्रचण्ड एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी लगायतका दलसँग मिलेर सत्ता सहकार्यमा छन् । ०८० मा प्रचण्डलाई निकै राजनीतिक उतारचढाव आएपनि सरकार छाडेका छैनन् ।

यही साल प्रचण्डले जीवनसंगीनी सीता दाहाललाई गुमाए । उनी प्रधानमन्त्री रहेकै बेला सीताको निधन भयो ।

सुवास नेम्वाङको असामयिक निधन  : ०८० भदौ २६ गते संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भयो । उनी इलाम २ बाट ०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए । नेपालको संविधान २०७२ जारी हुँदा उनी अध्यक्षको भूमिकामा थिए ।

त्यस्तै, चैत ४ गते प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भयो । अन्सारी ०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।

भ्रष्टाचार काण्डको पर्दाफास : वर्ष ०८० मा ठूला पार्टीका नेताहरू समेत भटाभट पक्राउ परे । नक्कली भुटानी शरणार्थी बनाएर पठाएको भन्दै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीसमेत पक्राउ परे ।

उक्त प्रकरणमा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परे ।

एमाले नेता टोपबहादुर रायमाझी

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुनकाण्डमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा पक्राउ परे ।

एमाले नेता रामबहादुर थापा बादलका छोरा प्रतीक थापा फरार भए । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि यसै वर्ष सहकारी ठगीको आरोपमा समातिए ।

बालुवाटार जग्गा प्रकरणमा पनि यसै वर्ष विशेष अदालतले फैसला सुनायो । यसमा नेताहरुलाई उन्मुक्ति दिएर कर्मचारीलाई मात्रै फसाइएको गुनासो सुनिँदै आएको छ ।

त्यस्तै नेपालका अर्बपति विनोद चौधरी र उनका भाइ अरुण चौधरीमाथि बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोप लाग्यो । अरुण चौधरी पक्राउसमेत परे । विनोद चौधरीले सरकारी वकिलको कार्यालयमा पुगेर वयान दिए ।

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा

वर्षको अन्त्यतिर आइपुग्दा बाइडबडी विमान खरीद प्रकरणमा अख्तियारले पूर्वमन्त्री जीवनबहादुर शाहीसमेतलाई दोषी देखाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यसरी ०८० सालमा भ्रष्टाचारका केही फाइलहरु खोल्ने प्रयासहरु भएता पनि अन्ततः ढिसमिस हुने र ठूला माछाहरु उम्किने हुन् कि भन्ने आशंका पनि कायमै छ ।

जस्तो– यो वर्ष देशभरिका ठूला सहकारीहरुमा ठगी धन्दा मौलाएको पर्दाफास भयो । सहकारी पीडित, लघुवित्त पीडित र मिटरब्याज पीडितहरुले बेग्लाबेग्लै आन्दोलन गरे, सरकारले कतिपय सम्झौता पनि गर्‍यो । तर, सहकारीका ठगहरुमाथि कारवाही हुन सकेन । जीबी राई मलेसियामा प्रहरीको जानकारीमै भए पनि सरकारले नेपाल ल्याउन सकेन ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण

यति हुँदाहुँदै पनि सरकार, संसद, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता सकारात्मक नै मान्नुपर्छ । सुनकाण्डमा छानविन समिति बनाएको संसदले सहकारी ठगीको विषयमा भने आफ्नो सक्रियता देखाउन सकेको छैन ।

वर्षभरि संसद कहिले सुनकाण्डमा त कहिले सहकारी काण्डमा अवरोध हुँदै आइरहेको अवस्था छ । यो वर्ष संसदले आवश्यक कानूनहरु निर्माण गर्न नसकेको आरोप खेप्नुपरेको छ ।

विवादमा मन्त्री : यो वर्ष माओवादी केन्द्रबाट पर्यटनमन्त्री बनेका सुदन किराती विवादमा परे । पहिलोपटक मन्त्री भएका किरातीले धार्मिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा क्रिश्चियन धर्मलाई मान्दिनँ भन्नेहरू ‘संविधान विरोधी’ भएको टिप्पणी गरेका थिए । साथै ठूला अन्तराष्ट्रिय विमानस्थल निजीलाई जिम्मा लगाउने सिफारिस पनि किरातीकै पालामा भयो ।

त्यस्तै, बालकुमारी गत पुस १३ गते दक्षिण कोरियाको इपीएस परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरूले तत्कालीन मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए ।

सुजन राउत र  वीरेन्द्र शाह

बालकुमारी घटनामा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाह मारिए । सो घटनामा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

मन्त्रीहरु विवादमा पर्ने क्रम वर्षभरि जारी छ । अहिले सहकारीको रकम ठगी गरेको भन्दै गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने विवादमा छन् । कांग्रेसले यही विषयलाई लिएर संसदीय छानविन समितिको माग गर्दै आइरहेको छ ।

प्रदेशमा चरम अस्थिरता : ०८० सालमा संघीय सरकारमा मात्र होइन, प्रदेश सरकारहरूमा पनि राजनीतिक अस्थिरता देखियो । सुदूरपश्चिमदेखि कोशीसम्म सातै प्रदेशमा सरकार गठन र विघटनको सिलसिला वर्षभरि नै चलिरह्यो ।

निर्वाचन सकिएको दुई वर्षसम्म प्रदेशहरुले प्रभावकारी काम गर्न नसक्दा संघीयताप्रति नै जनताको वितृष्णा बढ्ने क्रम यो वर्ष अझ तीव्र बन्यो । दलहरुले यसबाट पाठ सिक्न जरुरी देखिएको छ ।

सत्ताबाट कांग्रेसको बहिर्गमन : नेपाली कांग्रेसले ०८० सालमा महासमिति बैठक अर्थात् नीति महाधिवेशन गरेको छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदाबारीमा बैठक बस्यो । महासमिति बैठक अगाडि माघ १३ देखि २६ सम्म ‘समुदायमा कांग्रेस अभियान’ चलेको थियो । महासमिति बैठकमा माओवादी गठबन्धनको आलोचना भएपछि प्रचण्डले रिसाएर एमालेसँगको सत्ता यात्रा सुरु गरे ।

विशेष गरेर कांग्रेसमा शेरबहादुर देउवा र शेखर–गगन थापाबीच मतान्तर भएका कारण कांग्रेसले गठबन्धनको सहयात्रा अगाडि बढाउन सकेन । पार्टीको आन्तिरिक कलहले कांग्रेस सत्ताबाट बहिर्गमनमा परेको चर्चा पनि कांग्रेसभित्रै हुन थालेको छ ।
एमालेलाई फापेको वर्ष : एमालेका लागि भने ०८० साल फापेकै देखिन्छ । ०७९ साल पुसमा बसेको माओवादीसँगको गठबन्धन ०८० सालको असारमा आइपुग्दा भत्किएपछि एमालेले केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाएको थियो । तर, ०८० फागुनमा आइपुग्दा एमाले पुनः केन्द्रदेखि प्रदेशसम्म सत्तासीन हुन पुगेको छ ।

हुन त एमालेले सत्ता पाउनु वा गुमाउनु नै ०८० सालको सकारात्मक वा नकारात्मक उपलब्धि भने होइन । सरकारले जनताको पक्षमा काम गर्न नसकेको गुनासो भने केन्द्रदेखि दलसम्म जुनसुकै दलको गठबन्धन सरकार बने पनि उस्ताको उस्तै छ ।

एमालेले यो वर्ष मध्यपहाडका ३६ जिल्लामा अभियान चलायो । बैतडीबाट सुरु गरेको अभियान पाँचथरको सदरमुकाम फिदिम पुगेर सकेको थियो । एमालेको यही अभियानको सिको गर्दै कांग्रेस, माओवादी र रास्वापले पनि यो वर्ष विभिन्न अभियानहरु चलाए ।

माओवादी अल्मलिएको वर्ष : झट्ट हेर्दा नेकपा माओवादी माओवादीले यो वर्ष बाजी मारेको जस्तो देखिन्छ । प्रचण्ड घुमीघुमी प्रधानमनत्री भएकै छन् । अरु नेताहरु पनि मन्त्री बनेकै छन् । तर, पार्टी संगठनको दृष्टिले भने माओवादीका लागि ०८० साल बदनामीको वर्ष बन्न पुग्यो ।

यसैवर्ष सुनकाण्डमा माओवादी नेता महरा सामातिए । सहकारी ठगीमा अखिल क्रान्तिकारीका महासचिव समातिए । वर्षमान पुनमाथि पनि सुन तस्करसँग साँठगाँठ रहेको आरोप लाग्यो ।

माओवादी नेता मात्र होइन, छोरो पुस्तासमेत बिग्रिएको भाष्य निर्माण भयो । प्रधानमन्त्री पदमा प्रचण्ड बसे पनि जनस्तरमा माओवादीप्रति आकर्षण बढ्नुको साटो वितृष्णा बढ्दै गएको देखियो यो वर्ष ।

त्यसो त माओवादी केन्द्रले यो वर्ष ७५३ वटै पालिकाका वडामा गएर पार्टी विशेष अभियान सञ्चालन गरेको थियो । भदौ २६ गतेबाट सञ्चालन गरेको ४ महिने अभियानले पार्टीलाई थप मजबुत बनाएको नेताहरुको दाबी छ । तर, माथिल्ला नेताहरु भ्रष्टाचारकाण्डमा मुछिइसकेपछि तलको अभियान फिक्का बन्यो ।

माओवादीले फागुन १ गते विधान सम्मेलन गरेको थियो । त्यसले पनि कार्यकर्ता तहमा उत्साह भर्न सकेन ।

रास्वपाको सत्तारोहण : सरकारमा जानुलाई नै दलको उपलब्धी मान्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई ०८० साल फाप्यो । ०७९ पुस ११ मा प्रचण्ड सरकारमा सामेल भएको रास्वपा २ महिना नपुग्दै सभापति रविको नागरिकता विवादपछि सरकारबाट बाहिरिएको थियो । तर ०८० फागुन २१ गते एमाले र माओवादीसहित मिलेर बनेको गठबन्धन सरकारमा भने रास्वपा सामेल भएको छ ।

 

रास्वपा सरकारमा उपप्रधानसहित गृह मन्त्रालय, शिक्षा मन्त्रालय, श्रम मन्त्रालय र खेलकुद मन्त्रालय लिएर सामेल भएको छ । रास्वपाले जलेश्वरमा केन्द्रीय समितिको बैठक बसेर नीतिगत बहस गरेको थियो ।

रास्वपा सभापति रवि लामिछाने ०७९ सालमा नागरिकता विवादमा मुछिएका थिए । ०८० सालमा सूर्यदर्शन सहकारीको विवादमा मुछिए । नेपाली कांग्रेसले उनीमाथि छानबिन हुनुपर्ने आवाज प्रतिनिधि सभाबाट उठाइरहेको छ ।

राजा फर्काउने आन्दोलन : राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपा राजा फर्काउने अभियानमा लागेको छ । प्रतिनिधि सभामा पाँचौं दलका रूपमा रहेको राप्रपाले संविधान र व्यवस्थालाई नै नमान्ने बताउँदै आएको छ ।

राप्रपा ०७९ पुसमा बनेको सरकारमा सामेल थियो । अध्यक्ष लिङ्देनले स्वयम उपप्रधान र ऊर्जा मन्त्रालय सम्हालेका थिए ।
राप्रपाको राजा फर्काउनेमा मागलाई मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र पूर्वराजा ज्ञानेन्द्रले पनि साथ दिएका छन् ।

राप्रपाले चैत २७ गते काठमाडौँमा वृहत् प्रदर्शन गरेको थियो । प्रदर्शनमा गृहमन्त्री लामिछानेको आदेशले प्रहरीले दमन समेत गरेको राप्रपा नेताहरुको आरोप छ ।

यससँगै राप्रपा र रावि लामिछानेको सम्बन्ध केही सिचसिएको महसुस गर्न सकिन्छ । ०८० सालको सरुमा भने लिङदेन र लामिछानको सम्बन्ध राम्रो थियो ।

उपेन्द्र भर्सेस सिके राउत : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि ०८० साल फापेको छ । सप्तरी २ बाट सिके राउतसँग चुनाव हारेका यादवले ०८० वैशाखमा भएको उपनिर्वाचनमा बाराबाट जिते । जसपाको भागमा रामसहायप्रसाद यादवले उपराष्ट्रपति चलाइरहेका छन् ।

यतिमात्र होइन, फागुन २१ तते प्रचण्ड सरकारमा सामेल भएर उपेन्द्र यादव स्वास्थ्यमन्त्री बनेका छन् । मधेस प्रदेशमा पनि सजपाबाटै सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

मधेसमा नयाँ शक्तिका रुपमा उदाएको सिके राउतको जनमत पार्टीले भने जसपासँगको अन्तरविरोधका कारण संघीय सरकारमा जाने र छोड्ने गर्दै आएको छ ।

प्रचण्डले  कहिले उपेन्द्रलाई त कहिले सिकेलाई सरकारमा लिने गरेका छन् । अहिले उपेन्द्रको पार्टी सरकामार हुँदा सिके राउत विपक्षमा छन् ।

संकटमा एकीकृत समाजवादी : नेकपा एमालेबाट टुक्रिएर बनेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ०८० साल खासै उपलब्धिको वर्ष रहेन । आफ्ना तर्फका सरकारमा गएका मन्त्री विवादमा मुछिए । प्रचण्डपछि देउवा र त्यसपछि आफू प्रधानमान्त्री हुने लाइनमा रहेका माधव नेपाल गठबन्धन फेरिएपछि त्यो अवसर गुम्ने स्थितिमा पुगेका छन् ।

एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई पनि पार्टीले उचित जिम्मेवारी दिन सकेको छैन । उनी ०८१ वैशाखमा हुन लागेको प्रतिनिधि सभा निर्वाचन इलाम २ मा उम्मेदवार बन्न चाहन्थे तर त्यसलाई एमालेले साथ नदिँदा रोकिएको छ ।

यता एमालेसँग सम्त्रन्ध सुधार भएको आकलन गरिए पनि त्यसको कुनै ठोस परिणाम देखिएको छैन । पार्टी असोज १४ देखि मेची महाकाली जागरण यात्रा अभियान चलाएर सदस्यता बढाएको दाबी भने गरेको छ । यस्तै इलाम २ का हुने ०८१ वैशाखको उपनिर्वाचनमा भने समाजवादीले बेग्लै उम्मेदवारी उठाएको छ ।

साना दलमा लोग्नेस्वास्नीको झगडादेखि टुटफुटसम्म : यो वर्ष नागरिक उन्मुक्ति पार्टीभित्र श्रीमान-श्रीमतीको झगडा विशेष चर्चामा रह्यो ।

टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीलाई सरकारले माफी दिएर जेलमुक्त भए । उनी पार्टीका संस्थापक नेता तथा संरक्षक हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि रेशमलाई आममाफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

रेशम जेलमुक्त भएपछि पार्टीमा रञ्जिता र रेशमबीच खटपट पर्दै आएको छ । कांग्रेस–माओवादी गठबन्धनका बेला भूमि व्यवस्था तथा सहकारी मन्त्रि बनेकी रञ्जिताले फागुन २१ ग्ते बनेको एमाले–माओवादी गठबन्धन सरकारमा भने सामेल हुने मैका पाइनन् । कारण, रेशमले गठबन्धन सरकारमा आफ्नो पार्टी सामेल नहुने अडान लिए । तर, मन्त्रीको स्वाद चाखिसकेकी रञ्जिताले रेशमको कुरै नसुनी फागुन ३० गते प्रचण्डलाई विश्वासको मत दिइन् । त्यसपछि पार्टीमा श्रीमान–श्रीमतीको विवाद छताछुल्ल भयो ।

चैत २४ गते बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएपछि अहिले रञ्जिताले रेशम पक्षका नेताहरुलाई भटाभट कारवाही गरिरहेकी छन् ।

उता, सुदूरपश्चिम प्रदेश सरकारमा भने रञ्जिताको पार्टी नाउपाले मुख्यमन्त्रीमा कैलाश चौधरीलाई पठाउने गठबन्धनमा सहमति भएको छ । सुदुरपश्चिममा नाउपाका ७ जना संसद् छन् । ७ मध्ये विवाद भएपछि श्रेष्ठले चौधरी पक्षकी सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएकी छन् । प्रतिनिधि सभामा नाउपाको ४ सिट छ ।

प्रतिनिधि सभामा ६ सिटसहित राष्ट्रिय दलको मान्यता पाएको डा.सिके राउत नेतृत्वको जनमत पार्टी वर्षभरि नै चर्चामा आयो ।
कुनै बेला मधेसमा राम्रो शक्तिको रूपमा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा भने ०८० सालमा पहिरो गएको छ ।

लोसपाका अध्यक्ष महन्त ठाकुरले मङ्सिर २४ गते बोलाएको केन्द्रीय समिति बैठक वरिष्ठ नेता राजेन्द्र महतोले बहिष्कार गरेपछि दुई नेताबीचको द्वन्द्व उत्कर्षमा पुग्यो ।

राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरे । उनले फागुन २४ गते ‘नयाँ राष्ट्रिय क्रान्ति’ अभियान सुरु गरे ।

स्वतन्त्र संसद् र एक सिट पाएका प्रतिनिधि सभाका संसदहरु पनि यो वर्ष चर्चामा रहे । प्रतिनिधि सभामा सर्ट खोलेर सांसद् अमरेश कुमार सिंह चर्चामा आए भने जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल बोलेर चर्चामा आए । अर्का स्वतन्त्र सांसद प्रभु साह पनि नयाँ पार्टी खेलेर सक्रिय देखिए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ६ : १७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड