काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र क्षेत्रफलमा मधेस प्रदेश सबैभन्दा अगाडि देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘नेपालमा रियल इस्टेट बजारको अवस्था’ नामक प्रतिवेदनले घरजग्गा कारोबारमा सो प्रकारको तथ्यांक देखिएको हो ।
तथ्यांकअनुसार राजीनामा (खरिद–बिक्री) मार्फत भएको कारोबारको कुल संख्याका आधारमा मधेश प्रदेश निरन्तर रूपमा सबैभन्दा अगाडि छ भने त्यसपछि लुम्बिनी र कोशी प्रदेश रहेका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार संख्या सबैभन्दा कम छ । कुल कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा पनि मधेश प्रदेशकै हिस्सा सबैभन्दा ठूलो छ ।
तर, कारोबारको घोषित मूल्य(थैली रकम) का आधारमा भने बागमती प्रदेश शीर्ष स्थानमा छ । आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासमा बागमती प्रदेशमा मात्रै ५१ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोही अवधिमा राष्ट्रिय स्तरमा कुल १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँको कारोबार हुँदै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आर्थिक वर्ष २०७९-८० देखि २०८१-८२ सम्मको तथ्यांक विश्लेषण गरिएको उक्त प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासमा घरजग्गा कारोबार संख्याले उच्च बिन्दु छोएको छ । प्रतिवेदनअनुसार हरेक आर्थिक वर्षको पहिलो त्रैमासमा कारोबार कम हुने र तेस्रो तथा चौथो त्रैमासमा उच्च हुने गरेको छ ।
आर्थिक वर्ष २०८१-८२ को चौथो त्रैमासमा सबैभन्दा बढी अर्थात् ४ लाख ५६ हजार ९०.४५६ मिलियन० राजीनामा कारोबार भएको छ ।
कुन आकारको जग्गाको माग बढी ?
जग्गाको आकारअनुसार विश्लेषण गर्दा मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा २.५ देखि १० आनासम्मका जग्गाको कारोबार सबैभन्दा बढी हुने गरेको छ । मधेश प्रदेशमा भने २० आनाभन्दा ठूला जग्गाको कारोबार बढी हुने गरेको छ । जसले मुख्यतया कृषि वा औद्योगिक प्रयोजनका लागि ठूला जग्गाको माग रहेको संकेत गरेको छ ।
प्रतिवेदनअनुसार सहरी क्षेत्र विशेषगरी महानगर र उपमहानगरपालिकाहरूमा ५ देखि १० आनासम्मका मध्यम आकारका जग्गाको कारोबार सबैभन्दा धेरै हुने गरेको पाइएको छ । २.५ आनाभन्दा साना र २० आनाभन्दा ठूला जग्गाको कारोबार भने महानगर तथा उपमहानगर क्षेत्रमा तुलनात्मक रूपमा कम छ ।
महानगरपालिकाहरू मध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै संख्यामा कारोबार भएको छ भने काठमाडौं महानगरपालिका मा जग्गाको मूल्य उच्च भएका कारण कारोबारको कुल मूल्य सबैभन्दा धेरै देखिएको छ ।
कर्जा र राजस्वमा सकारात्मक प्रभाव
बैंक कर्जा र राजस्वमा सुधार घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी पनि बढ्दो क्रममा छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने कर्जाको विश्लेषण गर्दा आर्थिक वर्ष २०७७-७८ देखि २०८१-८२ को बीचमा रियल इस्टेट कर्जा ७२.४१ प्रतिशतले र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ । यसले घरजग्गा क्षेत्रमा बलियो र निरन्तर माग रहेको संकेत गरेको छ ।
सरकारले घरजग्गा क्षेत्रबाट संकलन गर्ने राजस्व आर्थिक वर्ष २०७८-७९ को पहिलो त्रैमासमा २३ अर्ब ७० करोड रुपैयाँ पुगेर उच्च बिन्दुमा पुगेको थियो । पछि घटेर आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासमा ८ अर्ब २० करोड रुपैयाँमा झरेको राजस्व आर्थिक वर्ष २०८१-८२ सम्म आइपुग्दा सामान्य सुधार हुँदै १५.८ अर्ब रुपैयाँ पुगेको थियो ।













प्रतिक्रिया