जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित दोस्रो चरणको वार्ताअघि चार दिने भ्रमणको शुरुवातमा बुधबार साउदी अरब आइपुगेका छन् ।
गत साता इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ। उहाँ साउदी अरबपछि कतार र टर्कीको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।
पाकिस्तानी नेताले ‘क्षेत्रीय अवस्था’ बारे साउदी राजकुमार मोहम्मद बिन सलमानसँग छलफल गर्ने उहाँको कार्यालयले जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले यसअघि साउदी अरब र कतारको भ्रमण ‘द्विपक्षीय परिवेश’लाई ध्यानमा राख्दै हुन लागेको बताएको थियो । साउदी अरब र कतारपछि सरिफले अन्टाल्या कूटनीति मञ्चमा भाग लिनुहुने पनि बताइएको छ।
शरीफले अन्टाल्या फोरमको छेउछाउमा राष्ट्रपति रेसेप तैयप एर्दोगान र अन्य नेताहरूसँग द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम रहेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासमा इस्लामाबाद वार्ता एक कदम अगाडिको प्रगति हो । वार्ताबाट कुनै उपलब्धी नभएपनि दुई पक्षलाई संवादमा ल्याउन वार्ता पहल सफल भएको छ ।
इरानले अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणको बदलामा साउदी अरब र कतारलगायत खाडीमा रहेका अमेरिकी सहयोगीलाई निशाना बनायो र उक्त क्षेत्रबाट ऊर्जा निर्यातमा अवरोध गर्यो, जसका कारण तेलको मूल्य अत्यधिक बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि कुनै सहमति नभए पनि वार्ता यसै हप्ता पाकिस्तानी राजधानीमा पुनः सुरु हुन सक्ने बताएका छन । संयुक्त राज्य अमेरिकाले इरानको नौसैनिक नाकाबन्दीको आदेश दिए पनि अर्को हप्ता समाप्त हुने युद्धविराम जारी छ ।
सरिफसँगै अमेरिका–इरान वार्ताका क्रममा मध्यस्थकर्ता रहेका विदेशमन्त्री इशाक दार र अन्य वरिष्ठ अधिकारीहरु पनि छलफलमा सहभागी हुने उनको कार्यालयले जनाएको छ । पाकिस्तान र साउदी अरबबीच घनिष्ठ सम्बन्ध छ र इस्लामाबादको अर्थ मन्त्रालयले बुधबार रियादले पाकिस्तानलाई आफ्नो विदेशी मुद्रा भण्डार बढाउन तीन अर्ब डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
पाकिस्तानले रियादको सहयोगी बनेको संयुक्त अरब इमिरेट्सलाई अर्बौं ऋण फिर्ता गर्ने बताएको केही दिनपछि यो सहयोग आएको हो। साउदी अरबको विद्यमान पाँच अर्ब अमेरिकी डलर बराबरको निक्षेप पनि अनिर्दिष्ट अवधिका लागि विस्तार गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
यसैबीच, सेना प्रमुख असिम मुनिरको नेतृत्वमा पाकिस्तानी प्रतिनिधिमण्डल इरान पुगेको छ भने उहाँलाई इरानी विदेशमन्त्री अब्बास अराघचीले स्वागत गरेका छन् । इरानको सरकारी टेलिभिजनले यसअघि नै प्रतिनिधिमण्डलले वासिङ्टनको नयाँ सन्देश ल्याउने र दोस्रो चरणको वार्ताबारे छलफल गर्ने बताएको थियो।













प्रतिक्रिया