काठमाडौँ- तीन दशकअघि ८–९ कक्षामा पढ्ने किशोरले स्कुल–घर–बजार आउजाउका क्रममा सुन्थ्यो, ‘ऊ त्यो त फलानी केटी जमिनदार र राजासा’वको नथिया हो ।’ नथिया अर्थात् कुमारित्वका लागि बुक भएकी केटी ।
नथिया कुमारित्व किनबेचसँग जोडिन्थ्यो । अर्थात्, एक बालिकाको कुमारित्व कसले लिने पहिल्यै तय हुन्थ्यो । कुमारित्व गुमाउने र अनुभव गर्ने दुवैको गोप्यता रहँदैन थियो ।
ती किशोरले अर्को कुरा पनि सुन्थे, ‘अब यसको नथी खोल्ने अरे !’ अर्थात्, एक बालिकाको कुमारित्व कुन समय गुम्दैछ भन्ने कुरासमेत गोप्य हुने थिएन ।

ती किशोरले उनको घरबाट नजिकैको गाउँ राजापुरका बादी समुदायका महिलामात्रै नथिया भएको सुन्थे । अन्यबारे उनलाई थाहा थिएन ।
उनलाई यो नथिया प्रथा समान्य नै लाग्थ्यो । कारण– उनी जन्मेको समाजले त्यसलाई सामान्य नै मान्थ्यो ।
ती किशोर अहिले फिल्म मेकर यम थापा बनेका छन् । समाजमा सामान्य मानिने तर असामान्य कथा उनलाई पर्दामा भन्न मन छ । मेकरको उक्त चेतले उनले फिल्म ‘लालीबजार’ लेखे र निर्देशन पनि गरे ।
अहिलेको आधुनिक समाज पनि यौनबारे खुल्न सकेको छैन । तीन दशकअघि समान्य रुपमा खुलेआम कुमारित्व किनबेच हुने घटना पक्कै असमान्य हो ।
यमको कथा सुन्दा रोचक लाग्न सक्छ । तर उनले कस्तो फिल्म बनाएका छन् ? त्यो वैशाख १८ मा फिल्म प्रदर्शन भएपछि थाहा हुन्छ ।
नथियाको कथा
यम भन्छन्– ‘लालीबजार’ तीन दशकअघिको बर्दियाको एक बादी समुदायको कथा हो । ६० सालअघिको पेरिफेरिमा रहेर मैले कथा पर्दामा उतारेको छु ।
बादी समुदायका महिला त्यो समयमा पनि चम्किलो लाली, छुट्टै श्रृङ्गार र सफा पहिरनमा उनले देख्थे ।
उनले महसुस गरेको अर्को कुरा सुनाउँछन्, ‘पृतिसत्तात्मक समाजमा पनि त्यो समुदायका महिला स्वतन्त्र थिए । फिल्म हेर्नका लागि भारत आउने–जाने गर्थे । बरू अन्य समुदायका पुरुषले परिवारबाट त्यो छुट पाउँदैनथे ।’
यमले उनीहरूको स्वतन्त्रता फिल्मसँग जोड्नुको पनि कारण छ । उनीहरूले छोरीको नाम अनुहार मिल्ने नायिकाकै राख्थे ।
यम स्पष्ट पार्छन्, ‘छोरीको अनुहार नायिकासँग मिल्यो भने उही नाम राख्थे । आमाले मनपर्ने नायिकाको नाम छोरीलाई दिने पनि गर्थे । कसैले तेरी छोरी फलानी नायिका जस्तो भन्यो भने त्यसैको नाम राख्थे ।’
सुन्दरताअनुसारको नाम राख्न पनि यो समुदायको फिल्मसँग सम्बन्ध रहेको यमको बुझाइ छ ।
देह व्यापारसँग जोडिएकाले उक्त समुदायमा सुन्दरताको विशेष महत्त्व हुने नै भयो । अझ जो राम्री उसैको नथीको मूल्य बढी । अर्थात्, कुमारित्वको मूल्य बढी ।

यम भन्छन्, ‘राजा र जमिनदारलाई फलानी राम्री छे भनेर सुनाउन जान्थे । अनेक तबरबाट उनीहरूलाई राम्री बालिका भएको खबर जान्थ्यो । राम्री बालिकालाई नथिया बनाउन उनीहरूको विशेष चासो भएको पाइन्छ ।’ जति धेरै सुन्दरता त्यति धेरै उनीहरूको नथियाको मूल्य रहने यम बताउँछन् ।
उनी भन्छन्, ‘नथी लगाइदिने (कुमारित्व बुक गर्ने) र नथी खोल्ने (कुमारित्व गुमाउने/अनुभव गर्ने) प्रक्रिया गोप्य हुने होइन । समारोहबीच हुने हो । सम्बन्ध मात्रै गोप्य राख्ने हो ।’
ती नथिया समाजमा तिरस्कारको पात्र बन्दैनथिइन् । यो सारा प्रक्रिया त्यो समाजका लागि सामान्य थियो ।
यम भन्छन्, ‘बढी प्रभुत्व भएका साहुहरूको नथिया बन्नेहरूलाई त भाग्यमानी पो मान्थे । भाग्यमा रहेछ फलानो जस्तो प्रभुत्व भएको पाई भन्थे ।’ नथी लगाउने र खोल्ने प्रक्रिया नथियाकै घरमा हुने यम बताउँछन् ।
उनी थप्छन्, ‘साहुहरूले नथियालाई एकल सामानकै रुपमा प्रयोग गर्न पनि पाउँथे । अन्य ग्राहकाका लागि स्वतन्त्र छोड्न पनि सक्थे । तर, यसको पनि प्रक्रिया हुन्थ्यो ।’
यही कु–प्रथाको पृष्ठभूमिमा ‘लालीबजार’ बनेको यम बताउँछन् ।
‘लालीबजार’को ट्रेलरमा एक दृश्य छ– जहाँ बादी समुदायकी महिला बनेकी स्वस्तिमा खड्कासँग नायक रवीन्द्रसिंह बानियाँ निकट देखिन्छन् ।
पछि स्वस्तिमाकै छोरीको भूमिकामा रहेकी बालिकालाई नथिया बनाउन उनी लागिपरेको देखिन्छ ।
‘आमा–छोरीसँगै सम्बन्ध राख्ने पनि हुन्छन् ?’ भन्ने प्रश्नमा यमको जवाफ छ, ‘हुन्छन् । त्यस्तो घटना पनि सुनिएको छ । यसको आमाको नथी पनि मैले खोलेको छोरीको पनि खोल्छु भनेर इगोले उत्तेजित पनि भएको पाइन्छ ।’
‘फिल्ममा यो घटना छ ?’ यो प्रश्नमा चाहिँ यम पक्का फिल्ममेकर देखिए । जवाफ दिए, ‘यो त फिल्म हेर्न हलमा जानुपर्छ । फिल्म प्रदर्शनमा आउन केही दिन त बाँकी छ ।’
प्रदीप र यमको सहकार्य

यमले १० भन्दा बढी फिल्मको स्क्रिप्ट लेखेका छन् । तीन फिल्म निर्देशन गरिसकेका छन् । ‘लालीबजार’ उनको चौथो निर्देशन हो । गीत हिट बन्दा र ‘मास अपिलिङ’ ट्रेलरले उनको चर्चा बढेको छ ।
फिल्म प्रदर्शनमा नआउँदै उनको चर्चा बढ्नुको एक कारण ‘षट्कोण आर्टस्’ ब्यानर हो । यो ब्यानरबाट प्रदीप भट्टराईको निर्देशन रहेका फिल्म ‘जात्रा’ सिरिज र ‘महापुरुष’लगायत बजारमा आएका छन् ।
शतप्रतिशत हिट फिल्म दिएको ब्यानरले नयाँ निर्देशक भित्र्याएको छ । प्रचार सामाग्रीले चर्चा कमाउँदा फिल्मीवृत्तमा यो फिल्मको चर्चा सकारात्मक देखिन्छ । यसको सकारात्मक प्रभाव यमको व्यवसायिक पाटोमा देखिन्छ ।
यम भन्छन्, ‘यो फिल्म प्रदर्शनमा नआउँदै धेरैले सहकार्यको ढोका खोल्नुभएको छ । यो राम्रो हो ।’
तर, वास्तवमा यम षट्कोण आर्टस्सँग काम गर्ने सोचमै थिएनन् । उनले अर्कै निर्देशकलाई स्क्रिप्ट बुझाइसकेका थिए । किनभने उनको यो ब्यानरका न प्रदीपसँग राम्रो चिनजान थियो । टिमसँग त यही फिल्मको स्क्रिप्टका दौरान प्रत्यक्ष भेट भएको हो ।
यम भन्छन्, ‘म त अर्को निर्देशकसँग कुरामा थिए । उहाँले अर्को फिल्मको कामले यो स्क्रिप्टलाई समय दिनु पाउनुभएको थिएन । मलाई कामको हतार थियो ।’
त्यहीबीच यमलाई प्रदीपको फोन आयो । भेट्न जाँदा यमलाई प्रदीपले भने, ‘एउटा तराईको कथामा फिल्म बनाउन खाजेको राम्रो स्क्रिप्ट पाइएन ।’
तराईको कथाको एक फिल्म निर्देशन गरेको हुनाले प्रदीपले आफूलाई खोजेको उनी बताउँछन् ।
यमले आफ्नो स्क्रिप्ट सेयर गरे । अनि सहकार्यको माहोल भयो । यम भन्छन्, ‘लोकेशन हेरेपछि प्रदीप सरले नै फिल्मको नाम लालीबजार राख्नुभएको हो ।’
त्यसैले यमले ‘प्रदीपको सहयोगमा फिल्म बनायो’ भन्ने आलोचना खेप्नु परेको छ ।

यसबारे यम भन्छन्, ‘स्क्रिप्टमा र फिल्डमा सल्लाह गर्ने अर्को फरक पाटो हो । यो फिल्म मेरो भिजनमा बनेको हो । कोही आएर यस्तो गरौँ उस्तो गरौँ भनेर हस्तक्षेप भएको छैन । यो मेरो एकल निर्देशनमा बनेको हो ।’
यससँगै फिल्म ‘नथिया कुप्रथा’मा बनेकाले अश्लील दृश्य र संवाद होला भन्ने आशंका दर्शकमा रहेको पाएका छन् । यसबारे यम भन्छन्, ‘संवाद र दृश्य दुवै प्रतीकात्मक छन् । जसरी ट्रेलर परिवारसँग बसेर हेर्न सकिन्छ । फिल्म पनि त्यसरी नै हेर्न मिल्छ ।’
अन्तिममा प्रश्नका रुपमा उनलाई सोधियो, ‘अहिले पनि देशमा नथिया प्रथा छ त ?’
यो प्रश्नमा यमको जवाफ छ, ‘मैले पहिला देखेको कुरामा फिल्म बनाएको हो । अहिले के छ कस्तो छ ? त्यो सरकारलाई थाहा होला ।’













प्रतिक्रिया