आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ? « Khabarhub

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?



काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाइ अर्थात् १८२ सिट ल्याउँदा अरु ५ दल जम्मा ९३ सिटमा सीमित छन् । यसमध्ये नेपाली कांग्रेस ३८ सिटसहित प्रमुख प्रतिपक्षी दल हो । यस्तै, अघिल्लो चुनावमा नेकपा एमालेले २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १७, श्रम संस्कृति पार्टी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन् ।

फागुन २१ मा सम्पन्न निर्वाचनपछि रास्वपाले १३ चैतमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनायो । नयाँ सरकार गठन भएपछि ९ दिनमा ६ पटक संसदको बैठक बस्यो । १९ चैतमा सुरु भएको संसद महाधिवेशन २७ चैतमा अन्त्य भएको थियो ।

संसदले सभामुख, उपसभामुख चयन गर्‍यो । यसबाहेक अरु सदस्यीय समितिहरु पनि गठन भए । विगतमा निर्वाचनपछिको अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले रोस्टमबाट संक्षिप्त सम्बोधन गर्ने अभ्यास थियो । जसमार्फत नयाँ सरकारका प्राथमिकता, नीति र सन्देश प्रस्तुत गरिन्थ्यो । तर यसपटक प्रधानमन्त्री शाहले त्यसलाई निरन्तरता दिएनन् ।

यसबीचमा संसदमा न्यून संख्यामा रहेका प्रतिपक्षीको आवाज खासै सुनिएन । तर, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध र उनीहरुको रिहाइका लागि भने एमालेका सांसदहरु सदनमा चर्को सुनिए ।

निर्वाचनमा अनपेक्षित नतिजा ल्याएर प्रतिपक्षीमा पुगेका पुराना दलहरुले सदनमा के बोल्ने, कसरी प्रस्तुत हुने भन्ने विषयमा खासै तयारी नगरेजस्तो बुझ्न सकिन्छ । अझै पनि विपक्षी बेन्चमा बसेका पुराना दलहरु आन्तरिक किचलोमै रुमल्लिएका छन् ।

नेपाली कांग्रेस

०७९ को निर्वाचनमा ८९ सिटसहित पहिलो पार्टी बनेको नेपाली कांग्रेसलाई २१ गत निर्वाचनमा मतदाताले ३८ सिटमा खुम्च्यिाइदिए । प्रत्यक्षतर्फ १८ क्षेत्रमा निर्वाचन जितेको कांग्रेसले समानुपातिकतर्फ २० सिट मात्रै पायो । जेन–जी आन्दोलनको रापताप र निर्वाचनअघि आयोजित विशेष महाधिवेशनसँगै आन्तरिक झगडामा फसेको विवादका कारण पनि चुनावमा कांग्रेसको कद होचो बनेको विश्लेषण गरिन्छ । कांग्रेसले अझै पनि निकासको बाटो पत्ता लगाउन सकेको छैन ।

विशेष महाधिवेशन र नयाँ नेतृत्वबारेको विवाद सर्वोच्च अदालतले शुक्रबार टुङ्ग्याएको छ । यसलगत्तै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहले पार्टीलाई एकताबद्ध बनाउने जिम्मा सभापति गगन थापा नेतृत्वको कार्यसमितिको रहेको जनाएको छ । विवादका कारण पार्टीले संसदीय दलको नेता चयन समेत गर्न भ्याएका छैन ।

प्रतिनिधि सभामा प्रतिनिधित्व रहेका ६ दलमध्ये कांग्रेसले मात्रै हालसम्म दलको नेता चयन गर्न सकेको छैन । ‘सदनमा हाम्रो उपस्थितिलाई प्रभावकारी बनाउन सांसद र पार्टीलाई जोड्नेगरी केही दिनमै एउटा संरचना निर्माण गर्ने तयारीमा छौँ,’ कांग्रेस प्रवक्ता देवराज चालिसेले भने । सदनमा संख्या भन्दा एजेण्डाले अर्थ राख्ने हुँदा कांग्रेसले सदनको गरिमा कायम रहनेगरी प्रभावकारी भूमिका खेल्ने उनको भनाइ छ । ‘सदनमा प्रस्तुत हुने विषय र त्यसको प्रभावकारीता बढाउन विषय विज्ञसहितको संरचना बनाइनेछ,’ उनले भने ।

नेकपा एमाले

७९ सिटबाट २५ सिटमा खुम्चिएको नेकपा एमालेभित्र पनि यति बेला उकुसमुकस छ । जेन-जी आन्दोलनअघि नै पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यताका विषयमा एमालेमा आन्तरिक मतभेद थियो । गत मंसिर अन्त्यमा भएको ११औँ महाधिवेशनमा दुई स्पष्ट प्यानल देखिएसँगै एमालेभित्रको खटपट सतहमा आएको थियो ।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको अध्ययन गर्न गठित कार्की आयोगको प्रतिवेदन अनुसार नयाँ सरकारले अध्यक्ष केपी ओलीलाई प्रकाउ गरेपछि एमाले थप संकटमा फसेको छ । त्यसमाथि लामो समयदेखि अध्यक्ष ओलीमाथि एकपक्षीय निर्णय लाद्ने गरेको आरोप लाग्दै आएको छ । अहिले कतिपय एमाले नेताहरु नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चलाउने प्रयासमा छन् ।

त्यस्तै, पार्टीले युवा नेता सुहाङ नेम्वाङलाई बाइपास गरेर तत्कालीन माओवादी पार्टीबाट आएका रामबहादुर थापा बादललाई संसदीय दलको नेता र ओली हिरासतमा रहँदा कार्यवाहक सभापति समेत चुनेको विषयलाई लिएर पार्टीको उच्च तहमै असन्तुष्टि बढेको विश्लेषण गरिएको छ । अर्कोतर्फ वाम एकताको विषयले पनि चर्चा पाइरहँदा नेताहरु बिलखबन्दमा छन् । अदालतको आदेशसँगै हिरासतबाट रिहा भई पत्थरीको शल्यक्रिया गरेर गुण्डु फर्किएका अध्यक्ष ओलीले हालसम्म यसबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुनः वाम एकताको बहस छेडेका छन । २१ फागुनको निर्वाचनमा उनीसहित उनको पार्टी प्रत्यक्षतर्फ ८ सिटमा खुम्चिएको थियो । समानुपातिकतर्फ ९ सिट पाएको नेकपासँग अहिले सदनमा १७ सांसद छन् ।

पार्टीको केन्द्रीय संयोजन समितिको बैठक एक महिना बस्दा समेत निर्वाचन समीक्षाको ठोस निर्णयमा पुग्न सकेको छैन । निर्वाचनमा कमजोर परिणामपछि संयोजक दाहालले सुरु गरेको समीक्षा बैठकमा सहसंयोजक माधवकुमार नेपाल सहित नेताहरूबीच संगठन, नेतृत्व बाँडफाँट, सचिवालय गठन र महाधिवेशनको मितिमा सहमति जुट्न सकेको छैन । पार्टीभित्र युवालाई तत्काल नेतृत्व दिने वा विधि–पद्धतिबाट क्रमिक रूपमा अघि बढ्ने भन्ने दुई धार देखिँदा निष्कर्ष थप अन्योलमा परेको छ ।

चुनावअघि विभिन्न दर्जनभन्दा धेरै दल र नेतालाई एक ठाउँ समेटेर नेकपा गठन गरी आफूले आफैँलाई संयोजक तोकेका प्रचण्डले अघिल्लो सदनमा तेस्रो पार्टी भएपनि सरकार बनाएका थिए । अहिले उनले आसन्न स्थानीय र प्रदेश तहको निर्वाचनमा बलियो पकड बनाउन वाम एकताको कार्ड फ्याँक्न थालेको बताइन्छ । यसअघि ०७४ को निर्वाचनताका पनि एमाले र माओवादी पार्टीले एकता गरेका थिए ।

तर चुनावमा सफलता हात पारेपनि सत्ता बाँडफाँट, पार्टीभित्र शक्ति सन्तुलन र निर्णय प्रक्रियालाई लिएर विवाद चुलिँदा दीगो हुन सकेन । अन्ततः सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपा नाम नै खारेज गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काइदियो । राजनीतिका अस्थीर खेलाडी प्रचण्ड एमालेसँगको एकता भंग गर्दै कांग्रेस निकट पुगे । पछिल्लो पटक भएको एमाले कांग्रेस गठबन्धनले उनलाई थन्काइदिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

२१ फाल्गुनको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले मात्रै प्रत्यक्षतर्फ चुनाव जितेका थिए । निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देन समेत पराजित भएपछि राप्रपामा पनि पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहस चर्किएको छ । पूर्वपञ्चहरूको बाहुल्यता रहेको यस पार्टीको इतिहास नै विभाजनबाट सुरु भई पटक–पटक फुट र एकताको चक्रमा घुम्दै आएको छ ।

यस पटक कमल थापाजस्ता नेतालाई एकै ठाउँ ल्याएर राप्रपा निर्वाचनमा होमिएको थियो । तर अपेक्षाकृत नतिजा हात लागेन । हाल लिङ्देनको नेतृत्वमा लज्जास्पद नतिजा आएकाले उनको विकल्पमा बहस भइरहेको छ । यहाँ धवल शमशेर राणा समूहले चुनावी पराजयको जिम्मेवारी, महाधिवेशन घोषणा र संगठन सुधारका माग राख्दै दबाब बढाएको छ । नेतृत्व हस्तान्तरण, महाधिवेशनको मिति, र निर्णय प्रक्रियामा असन्तुष्टि चुलिँदा पार्टीभित्र गुटबन्दी तीव्र बनेको छ ।

त्यस्तै, युवा सहभागिता र नीतिगत स्पष्टताको अभाव पनि विवादको मुख्य कारण बनेको देखिन्छ । संस्थापन पक्षले भने वर्तमान नेतृत्वकै निरन्तरतामा जोड दिँदै विवादलाई आन्तरिक लोकतान्त्रिक प्रक्रिया मात्र ठानिरहेको छ, तर बढ्दो आरोप–प्रत्यारोप र असन्तुष्टिले राप्रपा पुनः विभाजनतर्फ नजाला भन्न सकिदैँन ।

सरकारको कमजोरीमाथि खबरदारी गर्ने प्रतिपक्षी आफैँ आन्तरिक अन्योलमा हुँदा सदनमा प्रतिपक्षीको भूमिका कत्तिको प्रभावशाली होला भन्नेमा सबैको चासो बढेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ७ : ५७ बजे

लाङटाङ राष्ट्रिय निकुञ्जको ३१औँ वन्यजन्तु सप्ताह सम्पन्न

रसुवा– ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ जन

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रे– काभ्रेको पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ

नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै

काठमाडौँ- नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदैछ

उदयपुरको बेलटारमा आगलागीबाट दुई जनाको मृत्यु

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने