हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा « Khabarhub

हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको मुटु मानिने हर्मुज जलघाँटीमा जारी तनाव कम गर्ने प्रयासस्वरूप इरानले आफ्नो नियन्त्रण हटाउने प्रस्ताव अघि सारेको छ, तर त्यसको सट्टामा अमेरिकाले लगाएको नाकाबन्दी अन्त्य गर्नुपर्ने शर्त राखेपछि कूटनीतिक समीकरण झनै जटिल बनेको छ । 

आणविक कार्यक्रमलाई अलग राख्दै अघि सारिएको यो प्रस्तावले युद्धविरामलाई दीर्घकालीन समाधानमा रूपान्तरण गर्ने प्रयास भए पनि सहमति अझै टाढा देखिएको छ ।

यस विषयमा जानकारी राख्ने दुई क्षेत्रीय अधिकारीका अनुसार इरानले जलघाँटीमा लगाएको प्रतिबन्ध हटाउन तयार रहेको संकेत दिएको छ, तर त्यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी फुकुवा गर्नुपर्ने माग गरेको छ । 

तर यो प्रस्तावलाई अमेरिकी प्रशासनले सहज रूपमा स्वीकार गर्ने संकेत देखिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम अन्त्य नगरी कुनै दीर्घकालीन समाधान सम्भव नहुने अडान दोहोर्‍याए । उनले आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा इरानसँग वार्ता गर्न आफू तयार रहेको जनाउँदै उनीहरूले प्रत्यक्ष सम्पर्क गर्नुपर्ने बताए।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघची सोमबार रुसको सेन्ट पिटर्सबर्ग पुगेका छन् । त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कार्यक्रम रहेको छ । इरानी सरकारी समाचार एजेन्सीका अनुसार अराघचीले पछिल्ला घटनाक्रमबारे रुससँग परामर्श गर्ने अवसरका रूपमा यो भ्रमणलाई लिएका छन् । उनले ओमान, पाकिस्तान र अन्य क्षेत्रीय देशहरूसँग पनि वार्ता गर्दै कूटनीतिक पहललाई निरन्तरता दिए।

इस्लामाबादमा इरान–अमेरिका वार्ता पुनः सुरु हुने अपेक्षा गरिएको थियो । पाकिस्तानले मध्यस्थताको प्रयास गर्दै वार्ता आयोजना गर्न खोजे पनि अमेरिकी पक्षले प्रत्यक्ष भेटघाटभन्दा टेलिफोन संवादलाई प्राथमिकता दिएपछि प्रक्रिया प्रभावित भएको हो । अराघचीले वार्ता ढिलाइ हुनुमा अमेरिकी ‘अत्यधिक माग’ जिम्मेवार रहेको आरोप लगाएका छन् ।

अर्कोतर्फ, ट्रम्पले इरानको नेतृत्वभित्र स्पष्टता नभएको टिप्पणी गर्दै यस्तो अवस्थाले सम्झौता गर्न कठिन भएको सकेंत गरे । अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरलाई इस्लामाबाद पठाउने योजना अन्ततः रद्द भएपछि कूटनीतिक प्रयास थप अनिश्चित बनेको छ ।

पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलघाँटी अहिले पनि तनावको केन्द्रमा छ । विश्वको करिब पाँचौँ भाग तेल र ग्यास यही मार्ग हुँदै आपूर्ति हुने गर्दछ । इरानले आवागमनमा प्रतिबन्ध लगाएको र अमेरिकाले नाकाबन्दी जारी राखेका कारण विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब १०७ डलर पुगेको छ  । योयुद्धअघि करिब ७२ डलर थियो ।

जलघाँटीमा अवरोधका कारण तेल मात्र नभई, तरलीकृत ग्यास, मल र अन्य सामग्रीको आपूर्ति पनि प्रभावित भएको छ । धेरै ट्याङ्करहरू पर्सियन खाडीमै रोकिएका छन्, जसले विश्वव्यापी आपूर्ति शृङ्खलामा दबाब सिर्जना गरेको छ ।

यसबीच इरानले ओमानसँग जहाज आवागमनका लागि टोल प्रणाली लागू गर्ने सम्भावनामा पनि छलफल गरेको बताइएको छ । साथै, नयाँ वार्ता अघि अमेरिकाले नाकाबन्दी हटाउनुपर्ने माग दोहोर्‍याएको छ, जसले वार्ता अझ जटिल बनाएको छ ।

गत फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि भड्किएको युद्ध औपचारिक रूपमा रोकिए पनि स्थायी समाधान निस्किएको छैन । हजारौँ मानिसको ज्यान गएको र विश्व अर्थतन्त्रमा असर पारेको यो द्वन्द्व अझै संवेदनशील अवस्थामा छ ।

दुवै पक्षले सैन्य चेतावनी पनि जारी राखेका छन् । इरानले अमेरिकी कदमलाई ‘समुद्री डकैती’ भन्दै कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ भने ट्रम्पले जलमार्गमा खतरनाक गतिविधि गर्ने डुङ्गाहरूलाई तत्काल कारबाही गर्न आदेश दिएका छन् ।

ट्रम्पका अनुसार इरानले हालै ‘अझ राम्रो’ प्रस्ताव पठाएको भए पनि त्यसको विवरण सार्वजनिक गरिएको छैन । तर उनले इरानसँग आणविक हतियार नहुने सुनिश्चितता आफ्नो प्रमुख सर्त रहेको स्पष्ट पारेका छन् । संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायका अनुसार इरानसँग ६० प्रतिशतसम्म समृद्ध युरेनियमको उल्लेख्य भण्डार रहेको छ, जुन हतियार–स्तरसम्म पुग्न केही प्राविधिक चरण मात्र बाँकी रहेको मानिन्छ ।

युद्धको मानवीय क्षति पनि गम्भीर बनेको छ । इरानमा कम्तीमा तीन हजार ३७५ र लेबनानमा दुई हजार ५०९ जनाको मृत्यु भएको छ भने इजरायल र खाडी क्षेत्रमा पनि मृत्यु सङ्ख्या बढेको छ । विभिन्न देशका सैनिक र संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकहरू समेत मारिएका छन् ।

यसैबीच इजरायल र हिजबुल्लाहबीचको युद्धविराम तीन हप्ता थप गरिएको छ, तर स्थायी शान्ति अझै टाढा देखिन्छ । यस समग्र अवस्थाले कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहे पनि परिणाम अनिश्चित रहेको संकेत गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ३ : ५९ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित