अटो चलाएर आत्मनिर्भर बन्दै महिला « Khabarhub

अटो चलाएर आत्मनिर्भर बन्दै महिला


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकिरहेकी थिइनन् । एकमात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उनले राहदानीसमेत बनाइसकेकी थिइन् । त्यसैबीचमा गाउँपालिकाले आयोजना गरेको अटो चालक तालिममा सहभागी हुने अवसर प्राप्त गरिन् ।

“तालिम लिएपछि गाउँमै केही गर्न सकिन्छ कि भन्ने आशा जाग्यो,” उनले भनिन् । हाल वाइबाले अटो चलाउने ‘लाइसेन्स’ लिएर गाउँमै अटो चलाउन थालेकी छिन् । अटो चलाएर गाउँमै दैनिक तीन हजार रुपैयाँ देखि पाँच हजारसम्म आम्दानी गर्न थालेकी छिन् । यसले उनको जीविका चलाउन मात्र सहज नभएर आत्मविश्वाससमेत बढाएको छ ।

सोही गाउँपालिका–३ की अनिता वलले पनि घरको चुल्होचौकोबाट बाहिर निस्केर कसरी अर्थोपार्जन गर्न सकिएला भन्ने सोचिरहेकी थिइनन् । मखमलीकै जस्तो उनलाई पनि अटोचालक तालिमले नयाँ अवसर प्रदान गर्‍यो । अहिले अटो चलाएर उनले स्वरोजगार महसुस गरेकी छिन् ।

उनले भनिन्, “आफैँ कमाउन थालेपछि आत्मसम्मान पनि बढ्दो रहेछ ।” सुरूआतमा महिलाले सवारी चलाउँदा आश्चर्य र आलोचना दुवै सामना गर्नुपरेको थियो । तर अहिले अवस्था बदलिँदै गएको र यात्रुहरूले सहज रूपमा सेवा लिन थालेको उनको अनुभव छ । महाङ्काल गाउँपालिकाले कृषि, पर्यटनलगायत अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाबाट बाहिरिने जनसङ्ख्या घटाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । पालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेका अनुसार अटो ड्राइभिङ तालिमले मखमली र अनिता जस्ता बेरोजगार महिलाको जीवनमा परिवर्तन ल्याएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरिएको तालिममा २२ गृहिणी सहभागी थिए, जसमध्ये १५ जनाले चालक अनुमतिपत्र प्राप्त गरेका छन् ।

तीमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन् । उपाध्यक्ष गोलेका अनुसार तालिममा सहभागीमध्ये केहीले बीचमै तालिम छाडेका थिए । तालिम लिएकामध्ये बाँकी १३ जना व्यवसायमा जोडिन प्रयासरत छन् । पालिकाले अटो व्यवसाय सुरू गर्न चालक अनुमति पत्र प्राप्त गरेका दुई जनालाई दुई लाख २५ हजार रुपैयाँको दरले आर्थिक अनुदान उपलब्ध गराएको छ ।

यसले उनीहरूलाई व्यवसाय सञ्चालन गर्न सहज भएको हो । गाउँपालिकाले अन्य १३ जनालाई पनि अनुदान उपलब्ध गराउन प्रयत्न गरिरहेको छ । “यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीयस्तरमा यातायात सेवा पनि सहज बनाएको छ,” उपाध्यक्ष गोलेले भनिन् । गाउँपालिकाले वडा नं. १ देखि ६ सम्म सञ्चालन हुने अटो सेवाका लागि भाडा दरसमेत निर्धारण गरेको छ ।

केही सडक कच्ची भएकाले यात्रा चुनौतीपूर्ण भए पनि सेवा विस्तार हुँदै गएको छ । महाङ्काल गाउँपालिकाले अटो ड्राइभिङसँगै अचार बनाउने, सिलाइकटाइ, च्याउखेती लगायतका तालिम सञ्चालन गर्दै महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ३ : ११ बजे

सेवाग्राहीका घरमा राहदानी पुर्‍याउँदै चितवन प्रशासन

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब

मुस्ताङको जोमसोममा निर्माणाधीन कभर्ड हल दुई वर्षदेखि अलपत्र

मुस्ताङ- मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल दुई

सर्लाही पुगेर गगनले भने : म हार्दा धेरै साथी र शुभेच्छुकहरू रूनुभयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत

याङ्गुन- म्यान्माको सैन्य नेतृत्वले सबै कैदीहरूको सजाय छ भागको-एक भाग

अतिक्रमित जग्गामा बनेका संरचना हटाउन गृहको सर्कुलर

काठमाडौँ- सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला