गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित « Khabarhub

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ । 

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र मोदी गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको वडा नं ६ तिलाहारस्थित पहरेमा चिस्यान केन्द्र निर्माण गरिएको हो । 

निर्माण भएको करिब एक वर्षको यान्त्रिक परीक्षणपछि आइतबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकले कृषिउपज भण्डारण गर्न थालेको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए । 

उपभोक्ता समितिमार्फत ३३ लाख रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । तीस मेट्रिकटन क्षमता रहेको चिस्यान चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म निःशुल्क रुपमा भण्डारण गर्ने सुविधा दिइएको मोदी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाभित्रका कृषकलाई कृषिउपज सङ्कलन तथा भण्डारणका लागि पहिलो प्राथमिकता दिइने भएको छ भने क्षमता र आवश्यकताका आधारमा अन्य क्षेत्रका कृषकलेसमेत उपभोग गर्न पाउने भएका छन् । 

कृषिउपज भण्डारणका लागि आवश्यक कागजातअन्तर्गत व्यक्तिगत किसानले निवेदन र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ भने संस्था वा समूहले दर्ता प्रमाणपत्र, निर्णय र निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको लामिछानेले जानकारी दिए । 

कुनै पनि कृषिउपज भण्डारण गर्नुअघि राम्रोसँग सुकाइएको, रोगकिरा नलागेको, काटिएको वा नसडेको मात्र भण्डारण गर्न आग्रह गरिएको छ । यतिबेला आलुको सिजन भएकाले आलुलाई साइजअनुसार छुट्याएर जालीदार बोरा वा जुटको बोरा प्रयोग गरी प्याकिङ गरेर भण्डारण गर्न कृषकलाई आग्रह गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार जुनसुकै कृषिउपजका लागि प्लास्टिकका बोरा प्रयोग गर्न भने पूर्ण रूपमा निषेध गरिएको छ ।

कृषकले बजार पुर्‍याउनुअघि वा बेमौसममा बिक्रीका लागि तथा बीउका लागि प्रयोग गर्ने कृषिजन्य वस्तु चिस्यान केन्द्रमा भण्डारण गरेर लाभ लिनसक्ने गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए । 

यसअघि यस क्षेत्रका कृषकले आलु, विभिन्न प्रजातिका फलफूललगायत अन्य कृषिजन्यउपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता हटेर गएको उपाध्यक्ष लामिछानेले बताए । 

साथै जलजला गाउँपालिकाले झन्डै एक करोडको लागतमा वडा नं ८ खनियाँघाटमा चिस्यान केन्द्र निर्माण गरेको छ । परीक्षणका क्रममा रहेको र केही महिनाभित्र सञ्चालनको तयारी भइरहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । 

यसैगरी, दक्षिण पर्वतको पैँयु गाउँपालिकाले उपभोक्ता समिति वा कृषि समूहमार्फत चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारीस्वरुप सूचना प्रकाशित गरेको छ । रासस

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  १२ : ३३ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू