हरिबोधिनी एकादशी : बुढानिलकण्ठमा पाँच लाख बढी भक्तजनले गरे पूजा « Khabarhub

हरिबोधिनी एकादशी : बुढानिलकण्ठमा पाँच लाख बढी भक्तजनले गरे पूजा


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन शुक्रबार तुलसीको विशेष पूजाआजा एवं दामोदर (विष्णु) सँग विवाह गरी मनाइएको छ ।

आषाढ शुक्ल एकादशी अर्थात हरि शयनी एकादशीका दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा तुलसीको मठ बनाएर पूजाआजा गर्छन् । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान र आकाशदीप दान पनि शुरु हुने गर्छ ।

औषधीय गुणले युक्त तुलसी मानव जीवनका लागि उपयोगी रहेको तथ्य आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । ऋषिमुनिले वन जङ्गलमा वनस्पतिका रुपमा तुलसीको अनुसन्धान गरी उपयोगी भएपछि पूजाआजाको रीत बसालेको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

धेरै रोगमा औषधिको काम गर्ने तुलसी रोपिएको वरपर मलेरियाका जीवाणुसमेत नआउने वैज्ञानिक मत छ । आषाढ शुक्ल एकादशीका दिन घरको मठमा रोपी पूजा शुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बसेका थिए । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि पूजाआजा शुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको उहाँले जानकारी दिनुभयो । चार महीना अघिदेखि क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको थियो । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ ।

चार नारायणको आज एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शन गर्न आएका थिए । चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ ।

बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले जानकारी दिए ।

नाराययणस्थानमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गरेको उनले बताए । बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा कात्तिक २६ गतेसम्म विशेष मेला लाग्छ । यहाँ जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ । नेपाल भ्रमण वर्षमा बूढानीलकण्ठको प्रचारप्रसार गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने मेलामा आउनुभएकी रामकुमारी थापाले बताए ।

यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको थियो । हरिबोधिनी एकादशीका अवसरमा काठमाडौँको नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा दिएका थिए ।

बूढानीलकण्ठ र इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भएकाले दुवै नगरपालिकाले नगरभर सार्वजनिक बिदा दिएका हुन् । देशभरका नारायण मन्दिरमा पनि दिनभर भक्तजनको भीड लागेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : १० बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका