काठमाडौं– सरकारको सोह्रौँ योजनाले तय गरेका स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार मातृ मृत्यु दरदेखि कुपोषण, स्वास्थ्यकर्मी उत्पादन र स्वास्थ्य बीमासम्मका धेरै सूचक आधार वर्षकै अवस्थामा सीमित रहेका छन् ।
प्रतिवेदनअनुसार आधार वर्ष २०७९-८० मा प्रतिलाख जीवित जन्ममा १५१ रहेको मातृ मृत्यु दरलाई सोह्रौँ योजनाले २०८१-८२ सम्म ८५ मा झार्ने लक्ष्य लिएको थियो ।
तर अनुमानित उपलब्धि पुनः १५१ नै रहेको उल्लेख छ । यस्तै, प्रतिहजार जीवित जन्ममा २१ रहेको नवजात शिशु मृत्यु दरलाई १३ मा झार्ने लक्ष्य राखिए पनि उपलब्धि २१ नै कायम छ ।
पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रतिहजार ३३ बाट २२ मा झार्ने लक्ष्य लिइएकोमा अनुमानित उपलब्धि २५ पुगेको छ ।
पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था २५ प्रतिशतबाट १७ प्रतिशतमा झार्ने लक्ष्य भए पनि उपलब्धि २५ प्रतिशत नै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या पनि लक्ष्यअनुसार घट्न सकेको छैन । प्रतिलाख जनसंख्यामा ९.५ जनाको मृत्यु हुने अवस्थालाई ५ मा झार्ने लक्ष्य रहेकामा अनुमानित उपलब्धि ७.४१ रहेको छ ।
यद्यपि केही सूचकमा सुधार देखिएको छ । पूर्ण खोप पाउने बालबालिकाको दर ८० प्रतिशतबाट ९५ प्रतिशत पुर्याउने लक्ष्य राखिएकोमा उपलब्धि ९६ प्रतिशत पुगेको छ ।
स्वास्थ्य बीमामा आबद्ध जनसंख्या २१ प्रतिशतबाट ३२ प्रतिशत पुगेको छ भने नवीकरण दर ६९ प्रतिशतबाट ७० प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । तर यी दुवै सूचक योजनाको लक्ष्यभन्दा अझै टाढा छन् ।
प्रतिहजार जनसंख्यामा स्वास्थ्यकर्मी उत्पादनको दर १.९४ बाट ४.६४ पुर्याउने लक्ष्य रहे पनि उपलब्धि १.९४ मै सीमित छ । कुल स्वास्थ्य खर्चमा व्यक्तिगत खर्चको हिस्सा ५४.२ प्रतिशतबाट ३८ प्रतिशतमा झार्ने लक्ष्य लिइए पनि कुनै सुधार हुन सकेको छैन ।
त्यसैगरी, ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था भएका घरधुरीको संख्या ७७ प्रतिशतबाट ८६ प्रतिशत पुर्याउने लक्ष्य राखिए पनि उपलब्धि ७७ प्रतिशतमै सीमित रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनमा स्वास्थ्य क्षेत्रका लक्ष्य हासिल गर्न स्वीकृत कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।














प्रतिक्रिया