काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा सलाइनको उपलब्धतासम्बन्धी समस्या देखिएको भन्दै औषधि व्यवस्था विभागले सम्बन्धित पक्षलाई दैनिक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
विभागले एक सूचना जारी गर्दै प्लाटिनम समूहका औषधि, सलाइन लगायत अत्यावश्यक औषधिको उपलब्धता, मौज्दात अवस्था तथा आपूर्ति व्यवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको हो ।
सूचनामा सम्बन्धित निकाय, उत्पादक, आयातकर्ता तथा सरोकारवालासँग समन्वय गरेर आवश्यक औषधिको पर्याप्त उपलब्धता सुनिश्चित गर्न पहल भइरहेको उल्लेख गरिएको छ ।
विभागले औषधिको मौज्दात, वितरण अवस्था, आयात तथा निकट भविष्यमा हुने आपूर्तिसम्बन्धी यथार्थ विवरण संकलन गर्न सम्बन्धित उत्पादक, आयातकर्ता तथा अस्पताललाई हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । यसका लागि विभागले सम्पर्क व्यक्तिको समेत व्यवस्था गरेको जनाएको छ ।
सूचनाअनुसार औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्य र नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ ।















प्रतिक्रिया