म्याग्दी– म्याग्दीमा पर्ने अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आजदेखि ७६औँ आरोहण दिवस मनाउन सुरु गरिएको छ ।
म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा विविध कार्यक्रमका साथ आरोहण दिवस मनाउन थालिएको हो ।
अन्नपूर्ण-४ का वडा सदस्य श्याम पुर्जाले दिवसको अवसरमा आयोजित दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिता सहभागी हुने धावकहरू आज नारच्याङबाट आधार शिविरतर्फ प्रस्थान गरेका जानकारी दिए ।
‘चार महिला र नौ जना पुरुष धावकसहित हुमखोलाबाट आधार शिविर पदयात्रामा सहभागीलाई बिदाई गरेर दिवसको सुरुवात गरेका छौँ’, उनले भने, ‘यही जेठ २० गते आधार शिविरबाट नारच्याङसम्म ३६ किलोमिटर दूरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिनेछ ।’
दौड प्रतियोगितामा सहभागी हुनेको सङ्ख्या थपिँदै गएका वडा सदस्य पुर्जाले बताए। खुला दौड प्रतियोगितामा विजेतालाई रु एक लाख, उपविजेतालाई रु ६० हजार, तेस्रोलाई रु ३५ हजार र चौथो स्थान हासिल गर्ने तीन जनालाई जनही रु १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको अन्नपूर्ण गाउँपालिका-४ का वडअध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए।
नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।
नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।
‘दिवस मनाउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट बिनियोजन गरेको छ’, उनले भने, ‘यसअघि काठमाडौँ, पोखरा र कास्कीको भूगोलमा पर्ने आधार शिविरमा मनाइने अन्नपूर्ण आरोहण दिवस गत वर्षदेखि सम्बन्धित भूगोलमा मनाउन थालिएको थियो ।’
समुन्द्री सतहबाट चार हजार १९० मिटर उचाइमा पर्ने अन्नपूर्ण आधार शिविर पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि छोटो दुरीमा सहजै पदयात्रा गर्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताए।
नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलाबाट आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि आकर्षक र नयाँ गन्तव्य हो ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।
नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा नक्सांकान र ‘मौरिस हेर्जोग’ नामाकरण गरेको थियो ।













प्रतिक्रिया