दोलखामा खडेरीको प्रभाव : असार लाग्यो, खेत अझै बाँझै « Khabarhub

दोलखामा खडेरीको प्रभाव : असार लाग्यो, खेत अझै बाँझै


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको तल्लो क्षेत्रमा असारको पहिलो साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा अधिकांश टाँडी खेतमा धान रोपाइँ सुरु हुन सकेको छैन । 

धान खेती र उत्पादनका हिसाबले जिल्लाकै उर्वर क्षेत्र मानिने तामाकोशी, वैतेश्वर र मेलुङका फाँट तथा बेँसी क्षेत्र यतिबेला सुनसान देखिन थालेका छन् । लामो समयदेखि पानी नपर्दा किसानहरू चिन्तित बनेका छन् भने खेतीपातीमा खडेरीको प्रत्यक्ष असर देखिन थालेको छ ।

किसानहरूका अनुसार वैशाखको अन्तिम सातापछि उल्लेख्य वर्षा भएको छैन । जेठ महिनामा सामान्य वर्षा भए पनि खेतीका लागि पर्याप्त नभएको र असार लागिसक्दा समेत पानी नपर्दा धानको बिउ नै सुक्न थालेको जिल्लाका किसानहरू बताउँछन् । रोपाइँको मुख्य समयमा खेतमा पानी नहुँदा अधिकांश किसानले रोपाइँ सुरु गर्न सकेका छैनन् ।

धानको बिउ सुक्न थाल्यो

वैतेश्वर–२ की स्थानीय कल्याणी थापाले लामो समयदेखि खडेरी परेकाले खेतमा राखिएको धानको बिउ सुक्न थालेको बताइन्। उनका अनुसार बारीमा छरिएको कोदोको बिउ समेत उम्रिन सकेको छैन भने चौरबारी र सुत्ला च्याप्ने बेलाका मकैबाली ओइलाउन थालेका छन् ।

‘एक महिनाभन्दा बढी समयदेखि राम्रो पानी परेको छैन, धानको बिउ जोगाउनै मुस्किल भइरहेको छ,’ उनले भनिन्।

-तरकारी र फलफूल खेतीमा समेत असर

खडेरीको असर धान र मकैमा मात्र सीमित छैन । वैतेश्वरका थापागाउँ, टार, खडिस्वारा, पाइले, नाम्दु र काब्रे लगायतका क्षेत्रमा लगाइएका मौसमी तरकारी तथा फलफूल खेतीमा समेत पानीको अभाव देखिएको छ । किसानहरूले लगाएका काँक्रा, घिरौँला, फर्सी, बोडी, सिमी, गोलभेडा लगायतका तरकारी ओइलाउन थालेका छन् भने फलफूलका बिरुवामा समेत असर देखिन थालेको स्थानीयहरू बताउँछन् ।

-तामाकोशीदेखि मेलुङसम्म खडेरीको मार

त्यसैगरी जिल्लाको तामाकोशी गाउँपालिकाका डडुवा, भिरकोट, कालिदह लगायतका बस्तीमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको स्थानीय लक्ष्मण केसीले बताए ।

जिल्लाका गोपी, लप्से, काब्रेबेँसी, डडुवा, भिरकोट, छाप, मार्बु, मेलुङ, बसेरी र वैती लगायतका प्रमुख बेँसी तथा टाँडी खेतमा सिमसार क्षेत्र बाहेक अन्यत्र रोपाइँ सुरु हुन सकेको छैन ।

यहाँका किसानहरू आकाशे पानी र भेलबाढीको भरमा खेती गर्ने भएकाले वर्षा नहुँदा खेतहरू अझै बाँझै रहेका छन् ।

वैतेश्वर–५ का किसान राम्जी दाहालले लामो समयसम्म पानी नपर्दा धानको बिउ जोगाउन नै समस्या भएको बताए । ‘समयमै पानी नपरे धान उत्पादनमा ठूलो गिरावट आउन सक्छ, अहिले किसानहरू निकै चिन्तित छन्,’ उनले भने ।

मनसुन सक्रिय हुन ढिलाइ हुँदा दोलखाका तल्लो क्षेत्रका पालिका—मेलुङ, तामाकोशी र वैतेश्वरमा कृषि उत्पादनमा नकारात्मक असर पर्ने संकेत देखिएको छ । 

समयमै पर्याप्त वर्षा नभए धान, मकै, कोदो, तरकारी तथा फलफूल उत्पादनमा ठूलो क्षति पुग्ने भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन्। अहिले दोलखाका किसानहरू आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ०२ बजे

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ