व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान « Khabarhub

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक पशुपालन र तरकारीखेती गरेका किसानलाई २५ लाख रुपैयाँभन्दा बढी उत्पादनमा आधारित अनुदान वितरण गरेको छ ।

नगरपालिकाको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रममार्फत एक सय १६ जना किसानलाई २५ लाख ६९ हजार नौ सय ८३ अनुदान वितरण गरेको हो । ५९ जना तरकारी खेती गरेका किसानलाई १३ लाख ४९ हजार नौ सय ८३, बाख्रा ३८ पालक किसान तथा २८ जना गाईभैँसीपालक किसानलाई १२ लाख २० हजार रुपैयाँ अनुदान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

उत्पादनमा आधारित अनुदानका लागि दुधमा १५ लाख, तरकारीमा १० लाख र मासुमा सात लाख ५० हजार बजेट विनियोजन भएको थियो । पशु सेवा शाखामा परेको ६६ आवेदनमध्ये स्थलगत अनुगमनपछि ५७ वटा व्यावसायिक फार्म छनोट भएका थिए । न्यूनतम १३ हजारदेखि अधिकतम ४५ हजारसम्म अनुदान उपलब्ध गराइएको पशु चिकित्सक डा. सुदीप पौडेलले बताए ।

तरकारीतर्फ कृषि शाखामा ६३ वटा आवेदन परेकामा ५९ किसान तथा कृषक समूह छनोट भएका थिए । काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा, खुर्सानी, अकबरे खुर्सानी, मूला, गाजर, प्याज र लसुन उत्पादन गर्ने किसानलाई खेती गरिएको क्षेत्रफल र बिक्री भएको उत्पादनका आधारमा अनुदान प्रदान गरिएको कृषि अधिकृत आकृति ढुङ्गानाले बताए ।

थोरै नगद प्राप्त भए पनि यो कार्यक्रमले मिहिनेत गर्ने किसानलाई प्रत्यक्ष लाभ पुगेको बेनी नगरपालिका–१ रत्नेचौरका निरबहादुर थापाले बताए । ‘उत्पादनका आधारमा अनुदान दिँदा वास्तविक किसान छुट्दैनन्’, उनले भने, ‘साना किसानलाई व्यवसाय विस्तार गर्ने आत्मविश्वास बढेको छ ।’

आव २०८०–०८१ देखि गाईभैँसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि तरकारीखेती गर्ने किसानलाई पनि उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम प्रभावकारी भएको नगर प्रमुख सुरत केसीले बताए ।

‘किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ’, उनले भने, ‘मझौला र साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ ।’

कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले किसानलाई लघु, साना, मझौला र व्यावसायिक उद्यमी गरी चार वर्गमा विभाजन गरेको छ । वर्गअनुसार १५ हजारदेखि ४५ हजारसम्म अनुदान उपलब्ध गराइन्छ । यसका लागि दूध उत्पादन, बाख्रापालन वा तरकारी उत्पादन तथा बिक्रीका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताए । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिकाले वडा नम्बर ४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर–८ कालीपुलमा कृषि बजार सञ्चालनको तयारी गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  १० : १९ बजे

पर्यटकको चापसँगै बुकीपाटनमा फोहाेर बढ्दो, स्थानीय भन्छन्- वस्तुभाउले घाँस खाँदा बिरामी परेर मर्न थाले

ढोरपाटन– नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण

कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

कास्की– राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक

के मेसीले जित्लान् गोल्डेन बुट ?

काठमाडौँ – जारी विश्वकपमा लियोनेल मेसी कुल २१ गोल गर्दै

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा