मध्यसहरमा टुकुचा खोला नै गायब ! | Khabarhub Khabarhub

मध्यसहरमा टुकुचा खोला नै गायब !


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ। काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको नयाँ पत्रिकामा खबर छ। खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ। जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन्। सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको पाँच सय मिटर लम्बाइको टुकुचा खोला नक्साबाटै गायब भएको बताए। उनले भने, ‘काठमाडौं महानगरपालिकाको अनुरोधमा हामीले टुकुचा खोलामा मिचिएको जग्गा खोजी गर्‍यौँ। स्थलगत अध्ययनमा पनि टोली गए। खोला बग्ने ठाउँमा पक्की घर बनेको पाइयो। हामीले नक्सा अध्ययन गर्‍यौँ। नापी कार्यालयलाई पत्र लेख्यौँ। नापीले त्यस क्षेत्रमा खोला नै गायब भएको जवाफ पठायो। हामी चकित परेका छौँ।’

प्राधिकरणका अनुसार टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम छ। तिवारीका अनुसार काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्म सरदर कम्तीमा चार मिटर चौडाइ छ। यसलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ। जय नेपाल हल क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोड पर्छ। यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँबराबरको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ।

‘साबिकको टुकुचा खोला बग्ने भाग बढीमा १० र कम्तीमा दुई मिटरसम्म चौडा रहेको देखिन्छ। दुई मिटर चौडाको दरले हिसाब गर्दा पनि पाँच सय मिटर लम्बाइको खोलामा झन्डै पाँच रोपनी जग्गा मिचिएको देखिन्छ। सरदरमा चार मिटर मान्ने हो भने मिचिएको जग्गा डबल हुन पुग्छ। प्रतिआना एक करोड रुपैयाँको दरले मात्रै हिसाब गर्दा पनि मिचिएको जग्गाको मूल्य निकै महँगो पर्न जान्छ,’ प्राधिकरणका प्रमुख आयुक्त डा. तिवारीले बताए।

राष्ट्रपति स्वदेश आउँदा पनि दुई अन्तर्राष्ट्रिय उडान फिर्ता शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा चीनको आठदिने भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छिन्। नौदिने कार्यतालिका लिएर ११ वैशाखमा चीनको बेइजिङ उडेकी राष्ट्रपति एक दिन भ्रमण छोट्याएर फर्किएकी हुन्। ल्हासा भ्रमणका क्रममा हाई अल्टिच्युडले उनको श्वासप्रश्वासमा समस्या देखिएको थियो। राष्ट्रपति भण्डारीलाई त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू, उच्च सरकारी अधिकारीलगायतले स्वागत गरेका थिए।

भण्डारी बेइजिङमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्मेलनमा सहभागी भइन्। बेइजिङमा रहँदा उनले चिनियाँ समकक्षी सी जिनपिङसहित उच्च अधिकारीसँग भेटवार्तासमेत गरिन्। राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सकेर स्वदेश फर्किने क्रममा पनि दुईवटा जहाज काठमाडौंको आकाशबाट डाइभर्ट भएका छन्। चीनको कुन्मिङबाट आएको एयर चाइनाको जहाज ल्हासा र दोहाबाट आएको हिमालयन एयरलाइन्सको जहाज भारतको कोलकाता डाइभर्ट भएका हुन्। राष्ट्रपति भण्डारी भने ११ वैशाखमा चीन भ्रमणमा निस्किने क्रममा ल्हासा डाइभर्ट भएको सिछुआन एयरको जहाजबाट काठमाडौंमा अवतरण भइन्।

राष्ट्रपतिको आगमनका कारण बुधबार दुई जहाज डाइभर्ट मात्रै भएनन्, बिहान साढे १० बजेपछिका दुई सयभन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका पछाडि धकेलिए। यस्तै, संयुक्त राष्ट्रसंघको चार्टर्ड विमान पनि आकाशमै होल्ड भयो। बिहान १० बजे राष्ट्रपति भण्डारी सवार सिछुआन एयरको जहाज अवतरण हुने तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहान ९ः५० देखि १०ः३० सम्मको समयका लागि नोटाम जारी गरेको थियो। नोटाम कुनै पनि भिआइपी उडान हुने समयमा अन्य सामान्य उडान गर्न नमिल्ने सूचना हो।

व्यवस्थापन समिति अध्यक्षकै घरमा कुटिए दलित प्रधानाध्यापक शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा (मगर)को घरमा विद्यालय सञ्चालनकै विषयमा स्थानीय अगुवासँग छलफल गरिरहेका वेला उनीमाथि कुटपिट भएको छ।

‘दलित भएर मगरको घरभित्र पस्ने’ भन्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले उनलाई कुटेका हुन् । ‘लतारेर आँगनमा ल्याए, आँगनको डिलबाट पाँच मिटर तल कान्लामा खसाले,’ रेशमले भने। उनको देब्रे खुट्टाको दुईवटा औँला र पैताला जोड्ने हड्डी भाँचिएको छ। उनले मणिपाल अस्पतालमा उपचार गराएका छन् ।

वडा सदस्यसमेत रहेकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुर्जाले पनि आफ्नो घरमा विद्यालयको छलफलका क्रममा प्रअ विश्वकर्मा कुटिएको बताइन्। ‘विद्यालय सञ्चालनका सम्बन्धमा छलफल चलिरहेका वेला उहाँ (प्रअ)माथि आक्रमण भएको हो,’ पुर्जाले भनिन्।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ७ : ३७ बजे

डेढ करोड बढीमा बनेको पशु अस्पताल अलपत्र

नवलपरासी– नवलपरासीको सुनवल‐२ रजहवामा एक करोड ५१ लाखको लागतमा निर्माण

राज्यविरुद्धको कसुरमा टिकाराम भुसालमाथि अनुसन्धान सुरु

काठमाडौं–  नेपालको संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट यही असोज ३

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क– प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त

‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौं– तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका