दुर्गम क्षेत्रमा वितरण गरिनुपर्ने अनुदानको चामल बाटोमै बिक्री « Khabarhub

दुर्गम क्षेत्रमा वितरण गरिनुपर्ने अनुदानको चामल बाटोमै बिक्री


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जाजरकोट–  नेपाल खाद्य संस्थानको सर्मीस्थित डिपोका लागि पठाइएको चामल बाटोमै बिक्री भएको छ ।

संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबीसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् ।

सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत डिपोमा बर्षेनी ल्याउने गरिन्छ । बिसी ट्रेडर्स सल्यानका जनक बुढाले ठेक्कामार्फत ढुवानी गरेको एक हजार क्विन्टल चामल सर्मी खाद्यान्न डिपोमा नलगिएर रुकुमको त्रिवेणीमा बिक्री गरेको बताए ।

सर्मी डिपोका कर्मचारी मुकुन्द पनेरुको उपस्थितिमा उक्त परिणामको चामल त्रिवेणीमा बिक्री भएको खाद्य संस्थान डोल्पाका प्रमख कमलराज पाण्डेले स्वीकार गर्नुभयो । यो वर्ष सर्मी डिपोका लागि दुई हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको छ । बाटोमै वितरण भएको चामल रुकुम आठबिसकोट नगरपालिका त्रिवेणीका स्थानीयवासीले खरीद गरेर लिएका छन् ।

सहुलियको चामल बाटामै बिक्री गर्दा मुड्केचुलाका स्थानीयवासीले अहिलेसम्म चामल नपाएको बताएका छन् । सर्मी डिपोमा एक गेडा चामल नभएको प्रमुख पाण्डेले बताउनुभयो । कर्मचारी, वडा १, २ र ३ का वडाध्यक्ष र ठेकेदारको मिलेमतोमा चामल बिक्री भएको बताइएको छ ।

तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको खाद्यान्न त्रिवेणीमा बिक्री भएको छ भने जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल अहिलेसम्म सर्मी डिपोमा आइपुगेको छैन । यता मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बाटोमै चामल बिक्री गर्ने कर्मचारी र ढुवानी गर्ने ठेकेदारलाई कारवाहीको माग गरेका छन् ।

‘मुड्केचुलाका जनताले चामल नपाएर हैरान छन्,’ अध्यक्ष शाहीले भने, ‘उता भने बाटोमा बिक्री गरेर के गर्न खोजेको हो ?’

खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट आयातीत अन्नबाट दैनिक जीविका चल्दै आएको छ । सरकारले अन्नुदानमा यहाँका जनतालाई उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री गरेर कागज मिलाउने काम गर्दा मुड्केचुलावासी चामलको अभावमा समस्यामा परेका छन् ।

सर्मीबाट रुकुमको त्रिवणीमा पुग्न एक दिन लाग्ने गर्दछ । त्रिवेणीबाट मर्सीसम्म आउने ढुवानी भाडामा नाफा हुने भएकाले बाटोमै बिक्री हुँदै आएको छ । खाद्यन्न अभावका कारण दैनिक समस्यमा पर्ने मुड्केचुलावासी उपलब्ध गराउने चामल बाटोमै बिक्री गरेर यहाँका जनताको भावनामा चोट पुगेको सर्मीका रामबहादुर सिंहले बताए । यो आर्थिक वर्षको चामल सर्मी डिपोमा अहिलेसम्म पुग्न नसक्दा सेवाग्राही मारमा परेका छन् ।

सडक सञ्जालसँग नजोडिएको यस क्षेत्रमा स्थानीयवासी दैनिक पीठ्यूँमा बोकेर खाद्यान्न ढुवानी गर्दै आएका छन् । चिसो मौसममा जाजरकोट र रुकुमतिर झरेका उपल्लो डोल्पाका स्थानीयवासी अहिले यार्सागुम्बा सङ्कलन गर्ने समय आएको भन्दै डोल्पामा भित्रिएका छन् । तल्लो डोल्पाका स्थानीयवासी वर्षदिनभरि डोल्पामै बिताउने गरेका छन् । रासस

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १ : ५७ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको